• १३ भदौ २०८२, शुक्रबार

बैङ्किङ क्षेत्रमा एआई

blog

प्रविधिको तीव्र विकाससँगै अर्थतन्त्रका विविध क्षेत्रमा परिवर्तन देखा पर्दै गर्दा बैङ्किङ क्षेत्र पनि अछुतो रहन सक्दैन । यसै क्रममा पछिल्लो समयमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) अर्थात् कृत्रिम बौद्धिकता प्रविधिको विकास र प्रयोग तीव्र गतिमा भइरहेको छ । बैङ्किङ क्षेत्रमा अबको केही वर्षमा हुने प्रतिस्पर्धा भनेकै एआईको विकास र प्रयोगमार्फत हुने निश्चित छ । एआई प्रविधिले सिर्जना गर्न सक्ने अवसरको सदुपयोग गर्न र यस प्रविधिबाट हुन सक्ने चुनौती सामना गर्न बैङ्किङ क्षेत्रमा स्पष्ट नीतिगत व्यवस्था गर्नु वाञ्छनीय छ । 

नेपाल सरकारले हालै मात्र राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ नीति सार्वजनिक गरिसकेको छ । मुलुकको अर्थतन्त्रलाई डोहो¥याउने बैङ्किङ क्षेत्र अन्य क्षेत्रभन्दा संवेदेनशील हुने हुँदा यस क्षेत्रका लागि छिटै र छुट्टै एआई नीति आवश्यक पर्छ । अतः बैङ्क तथा वित्तीय संस्थाले अग्रिम सक्रिय (प्रोएक्टिभ) भई यस किसिमको नीति निर्माणका लागि आन्तरिक एवं बाह्य छलफल अगाडि बढाउनु सान्दर्भिक हुन्छ । नीति निर्माणका क्रममा निम्न विषयमा ध्यान दिनु उपयुक्त हुने देखिन्छ ।

एआई सचेतना अभिवृद्धि : नीतिमा बैङ्कको सञ्चालक समिति, उच्च व्यवस्थापन, कर्मचारी र सरोकारवालालाई एआई प्रविधि सम्बद्ध प्लेटफर्मका बारेमा जानकारी गराई बैङ्कका कार्यमा तिनीहरूको प्रयोग गरी के कसरी लाभ लिन सकिन्छ, प्रयोगका क्रममा के कस्ता सावधानी तथा सजगता अपनाउनु पर्छ, कस्तो अवस्थामा एआईको सदुपयोग हुन्छ, कस्तो अवस्थामा दुरुपयोग भएको मानिन्छ जस्ता विषयमा अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्न सकिन्छ ।

एआईको प्रयोगमार्फत बैङ्कका कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्न बैङ्कका तालिम तथा विकास विभागमार्फत एआईसम्बन्धी उपयुक्त तालिमको पाठ्यक्रम विकास गरी कर्मचारीलाई क्रमशः तालिम प्रदान गर्दै लग्ने र व्यक्त प्रयोजनका लागि बैङ्कले अन्य निकायसँग सम्पर्क, समन्वय र सहकार्य गर्न सक्ने व्यवस्था गर्नु पर्छ ।

तथ्याङ्क सुरक्षा : एआईको प्रयोग र नियमनका सम्बन्धमा महìवपूर्ण र पेचिलो मानिएको विषय नै तथ्याङ्क सुरक्षा हो । तथ्याङ्क सुरक्षाका लागि तथ्याङ्कलाई सामान्य, संवेदेनशील र अति संवेदेनशीलको श्रेणीमा वर्गीकरण गर्ने र सार्वजनिक रूपमा उपलब्ध हुने एआई प्लेटफर्ममा संवेदनशील र अति संवेदनशील तथ्याङ्क प्रयोग गर्न नपाइने व्यवस्था गरिनु पर्छ । 

बैङ्कका कर्मचारी तथा ग्राहकका महत्वपूर्ण सूचना, कागजपत्र तथा सम्पत्तिको दुरुपयोग हुन नदिने, गोपनियता तथा सुरक्षाको प्रत्याभूति गर्ने र कहीँ कतै कसैबाट चुहावट वा चोरी भएको पाइएमा जिम्मेवार पक्षबाट क्षतिपूर्ति भराउनेसम्मको व्यवस्था गर्नु पर्छ ।

संस्थागत सुशासन : बैङ्किङ क्षेत्रमा संस्थागत सुशासन कायम गर्न एआईको प्रयोग गर्न सकिन्छ । बैङ्क तथा वित्तीय संस्थामा निष्पक्षता, जवाफदेहिता र पारदर्शिता प्रवर्धन गर्दै कर्मचारीमा जिम्मेवारीबोध गराई नैतिक आचरणयुक्त व्यवहार प्रदर्शन गर्न झक्झकाउने साधनको रूपमा एआईलाई प्रयोग गर्न सकिन्छ । संस्थामा विधि र प्रक्रियाको उल्लङ्घन हुन नदिई नियमकीय निर्देशनहरूको अक्षरसः पालना हुने अवस्था सिर्जना गरी जोखिम न्यूनीकरणमा एआईको सहयोग लिन सकिन्छ ।

बैङ्कको निर्णायक र नीति निर्माण तहमा उपयुक्त एआई टुल (साधन) को प्रयोग गरी शिघ्र निर्णय क्षमता र छिटोछरितो नीतिनिर्माण गर्न सक्ने क्षमताको विकास गर्न प्रोत्साहन गर्नु पर्छ । साथै बैङ्कबाट लिन सकिने सेवा सुविधासँग सम्बन्धित नीति, नियम र प्रक्रियाका बारेमा चासो राख्ने आमसर्वसाधारण एवं ग्राहकसँग स्वचालित रूपमा अन्तव्रिर्mया र अन्तरसंवाद गर्न सक्ने ‘च्याटबट’ को विकास गरी प्रयोगमा ल्याउन सकिन्छ ।

अनुसन्धान र नवीनतम उत्पादन : बैङ्कमा एआई प्रविधिको विकास र प्रयोगलाई प्रवर्धन गर्न बैङ्कको आइटी विभाग अन्तर्गत रहने गरी ‘एआई डेभलपमेन्ट एन्ड प्रमोसन युनिट’ स्थापना गर्न सकिन्छ । उक्त युनिटमा बैङ्कभित्रै कार्यरत एआई प्रविधिमा विशेष रुचि राख्ने र काम गर्न इच्छुक आइटी इन्जिनियरलाई खटाई एआईसम्बन्धी अध्ययन र अनुसन्धानमार्फत नवीनतम उत्पादन ल्याउन सक्ने वातावरण बनाउनु पर्छ । नेपाल राष्ट्र बैङ्कद्वारा हालै गठित ‘एनआरबी रेगुलेटरी स्यान्डबक्स’ भित्र रहेर एआई सम्बद्ध नवीनतम प्रविधि, प्रणाली र प्रडक्टको उत्पादन गर्न, परीक्षण गर्न र प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउनु पर्छ ।

एआई प्रविधिमा आधारित बैङ्किङ प्रडक्ट उत्पादन गर्न आउटसोर्सिङ वा तेस्रो पक्ष (थर्ड पार्टी) को संलग्नतालाई स्वीकार गर्ने, आउटसोर्सिङ व्यवस्थापन सम्बन्धमा छुट्टै कार्यविधि बनाई लागु गर्ने र बैङ्कको सम्पत्ति तथा सूचनाको सुरक्षाका लागि आवश्यक कडा कानुनी प्रबन्ध गर्नु पर्छ ।

कार्यकुशलता अभिवृद्धि : बैङ्कका विभिन्न विभाग र शाखा कार्यालयका लागि उपयुक्त ‘एआई टुल्स’ को पहिचान गरी तिनीहरूको प्रयोगमार्फत बैङ्कका कार्यलाई छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी बनाउनु पर्छ । सेवाग्राही तथा ग्राहकका सूचना तथा तथ्याङ्क सङ्कलन गर्न, गुनासा सङ्कलन र सम्बोधन गर्न, निवेदन सिर्जना गर्न र स्वीकार गर्न सहयोगसिद्ध हुने ‘एआई टुल्स’ को प्रयोगमा जोड दिई कार्य कुशलता अभिवृद्धि गर्न सकिन्छ । कर्जा लगानी गर्नु पूर्वकर्जा आवश्यकता विश्लेषण गर्ने, व्यवसायको प्रवृत्ति विश्लेषण गर्ने, वित्तीय विवरण जाँच गर्ने, वित्तीय योजनाको सम्भाव्यता अध्ययन गर्ने, वित्तीय तथ्याङ्क विश्लेषण गर्ने र समग्रमा कर्जा जोखिम मूल्याङ्कन गर्ने कार्यमा एआईको प्रयोग गरी लाभ लिन सकिन्छ । 

 समग्रमा, बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवामा लागत न्यूनीकरण गरी आमसर्वसाधारणलाई सहज एवं सर्वसुलभ रूपमा आधुनिक बैङ्किङ सेवा सुविधा उपलब्ध गराउन मात्रै नभई नियमनकारी निकायलाई प्रभावकारी अनुगमन, सुपरिवेक्षण र नियमनमा मद्दत गर्न पनि बैङ्किङ क्षेत्रमा एआईको प्रयोग गर्न सकिन्छ, जसका निमित्त तत्कालै स्पष्ट एआई नीतिको आवश्यकता छ । नीति निर्माणसँगै वित्तीय एवं डिजिटल साक्षरता र वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्दै बैङ्किङ क्षेत्रमा एआईको विकास र प्रयोगमार्फत बैङ्किङ प्रणालीलाई स्वचालित, मितव्ययी, थप सुरक्षित र सुव्यवस्थित बनाई बैङ्किङ क्षेत्रलाई अत्याधुनिकीकरणतर्फ लैजान नेपालले अब ढिला गर्नु हुँदैन ।