बेइजिङ, भदौ १२ गते । उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पूरा भएको अवसरमा अर्को हप्ता चीनमा आयोजना हुने विशाल सैन्य परेडमा भाग लिने हुनुभएको छ ।
परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना नेताहरू पनि सहभागी हुनुहुनेछ । परेडमा चीनले आफ्नो नवीनतम उपकरण र उच्च–टेक फाइटिङ गियर प्रदर्शन गर्नेछ र चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङको तियानमेन स्क्वायरमा सेनाको निरीक्षण गर्नुहुनेछ ।
सन् १९३०–४० को दशकमा जापानको शाही सरकारसँगको लामो युद्धमा लाखौँ चिनियाँ नागरिक मारिएका थिए । सन् १९४१ मा पर्ल हार्बर आक्रमणपछि यो द्वन्द्व विश्वव्यापी भएको थियो ।
बेइजिङको कम्युनिस्ट पार्टीले विगतका वर्षहरूमा युद्धकालीन प्रतिरोधको सम्झनामा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले चीनलाई फेरि कहिल्यै घुँडा टेक्न नदिने वाचा गरेको छ ।
सेप्टेम्बर ३ मा हुने परेडमा स्थल सैनिक, बख्तरबन्द स्तम्भ, हवाई क्षेत्र र अन्य आधुनिक उपकरण प्रदर्शन गरिनेछ । चीनले यस परेडलाई अन्य देशहरूसँगको एकताको प्रदर्शनका रूपमा हेरेको छ ।
बेइजिङका विदेश मामिला सहायकमन्त्री होङ लेइले किमको उपस्थितिको घोषणा गर्दै भन्नुभयो, “चिनियाँ जनताले दोस्रो विश्वयुद्धको विजयको रक्षा गर्न सबै देशका जनतासँग हात मिलाउनेछन् । वर्तमान अन्तर्राष्ट्रिय स्थिति उथलपुथलपूर्ण छ र विश्व शान्तिमा क्षति बढ्दै गएको छ ।”
प्योङयाङको कोरियन सेन्ट्रल न्युज एजेन्सीले पनि किमलाई ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ अतिथि हुने घोषणा गरेको छ ।
धम्की दिन सकिँदैन
चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण सहयोगी हो । उनीहरूको सम्बन्ध सन् १९५० को दशकको कोरियाली युद्धबाट गाँसिएको थियो । चीनले उत्तर कोरियालाई कूटनीतिक, आर्थिक र राजनीतिक समर्थन प्रदान गर्दै आएको छ ।
किमको आगामी बेइजिङ भ्रमणको उद्देश्य दुई मुलुकबीचको सम्बन्धको ‘शक्ति’ देखाउनु रहेको सिङ्गापुरको नेसनल युनिभर्सिटीका राजनीति विज्ञानका एसोसिएट प्रोफेसर चोङ जा इयानले बताउनुभयो ।
“यो भ्रमणले संयुक्त राज्य अमेरिकाले उनीहरूलाई अधीनमा राख्न धम्की दिन सक्दैन भन्ने सङ्केत दिनेछ”, उहाँले भन्नुभयो ।
“बेइजिङको खर्चमा उत्तर कोरिया मस्कोको कक्षाको नजिक पुगेको कुरा पहिले नै भएको थियो । त्यो अझ खुल्न सक्छ तर मलाई के लाग्छ भने किमको भ्रमणले यो सम्बन्ध अझै बलियो हुँदै गएको छ भन्ने तथ्यलाई रेखाङ्कित गर्दछ”, सिङ्गापुरको नान्याङ टक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भन्नुभयो, “यसले चीनको प्रभाव र तान्ने शक्तिलाई पनि प्रदर्शन गर्नेछ ।”
परम्परागत मित्रता
सहायक विदेशमन्त्री होङका अनुसार, चीन उत्तर कोरियासँग आदानप्रदान र सहयोगलाई बलियो बनाउन इच्छुक छ । “क्षेत्रीय शान्ति र स्थिरता प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न चीन नजिकबाट काम गर्न इच्छुक छ”, उहाँले भन्नुभयो ।
किमले अन्तिम पटक सन् २०१९ जनवरीमा चीनको भ्रमण गर्नुभएको थियो । बेइजिङको सन् २०१५ को परेडमा उहाँ सहभागी हुनुभएको थिएन ।
चीनका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजीले गत वर्ष अप्रिलमा उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । त्यसबेला दुई देशले कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा गरेका थिए ।
कोभिड–१९ महामारीअघि चीनको सीमा खुला हुँदा चिनियाँ नागरिकहरू उत्तर कोरियामा ठूलो सङ्ख्यामा यात्रा र व्यापारका लागि आउने गर्थे ।
यसैबीच, उत्तर कोरियाले चीनसँगको सीमा नजिक गोप्य सैन्य आधार निर्माण गरेको छ । त्यहाँ प्योङयाङको नयाँ लामो दूरीको ब्यालेस्टिक मिसाइलहरू राखिएको हुनसक्ने अनुसन्धानले देखाएको छ । रासस/एएफपी