• २८ वैशाख २०८३, सोमबार

दुई दशकपछि सडक कालोपत्रे

blog

बागलुङ समाचारदाता

बागलुङ, वैशाख २८ गते । बागलुङ नगरपालिका अन्तर्गतको रायडाँडालाई जोड्ने डोठेआहाल–रामतोला–कुस्मी सडकको भकुन्डे खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । 

सडकको ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ नगरपालिका वडा नं. १० भकुन्डेको डोठेआहाल खण्डमा कालोपत्रे हुन लागेको हो । २०५८ सालमा ट्र्याक खुलेर तित्याङ, भकुन्डे हुँदै रायडाँडामा सडक पुगेको थियो । सङ्घीय सरकारको बजेटबाट सडक कालोपत्रे हुन लागेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । २०८३ जेठ २५ गतेभित्र काम सम्पन्न गर्ने गरी २०८२ वैशाख २१ गते दुई करोड ९५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद लामिछानेका अनुसार निरन्तरको वर्षा, कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभाव र मूल्यवृद्विले असरले केही समय लाग्ने भए पनि निर्धारित समयमा सकिने तरिकाले काम भइरहेको छ ।”  सडक चौडा पार्ने, पर्खाला लगाउने र ग्याबिन जाली भर्नेलगायतका काम सकिएकाले धमाधम कालोपत्रेको काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले यो सडक कालोपत्रे भएपछि यात्रा निकै सहज हुने बताउनुभयो । लामो समय रोकिएको काम स्थानीय तहमा जनप्रतिनिधि आएपछि मात्र अगाडि बढेको उहाँले दाबी गर्नुभयो । सडक कालोपत्रे भएपछि स्थानीयलाई यात्रा र कृषि उपज बजारीकरणमा सहज हुने गौतमको भनाइ छ । डोठेआहाल–रामतोला–कुस्मी सडकको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । बहुबर्से योजना रहेकाले हरेक वर्ष बजेट विनियोजन हुँदा रायडाँडाको रामतोला हुँदै कुस्मीसम्म कालोपत्रे हुने अपेक्षा गरिएको गौतमले बताउनुभयो । नगरपालिकाले रायडाँडाको भौगोलिक कठिनाइको विश्लेषण गरेर विशेष क्षेत्रको रूपमा सूचीकृत गरेको छ । विशेष क्षेत्र भएकाले यहाँ पूर्वाधार निर्माण र स्रोतसाधन बाँडफाँटमा पनि प्राथमिकता दिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।