• २८ वैशाख २०८३, सोमबार

सरकारी संरचना प्रयोगविहीन

blog

पाटन नगरपालिका–८, ज्याफुमा सात वर्षदेखि अलपत्र रहेको सरकारी लगानीमा निर्माण गरिएको भवन । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, वैशाख २८ गते । बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अवस्थामा रहेका छन् । सुकुमवासीका लागि भनेर सरकारले निर्माण गरेको जनता आवासका कतिपय घरसमेत प्रयोगविहीन अवस्था छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेका करिब ५० वटा सरकारी संरचना प्रयोगविहीन रहेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । उहाँले प्रदेश सरकार गठन हुनुअघि नै बनेको संरचना पनि प्रयोगविहीन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिगास गाउँपालिकाको गाँजरी इलाका सेवा कार्यालयको भवन १० वर्षदेखि प्रयोगविहीन अवस्था छ । त्यसै गरी सदरमुकामको वृद्धाश्रम, महिला सुरक्षित आवासगृह पनि प्रयोविहीन नै छन् ।”  

पाटन नगरपालिकामा मात्रै १४ वटाभन्दा बढी सरकारी संरचना प्रयोगविहीन रहेको जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले बताउनुभयो । उहाँले अनुगमनका क्रममा पाटन नमुना सहरको मनोरञ्जन पार्कका भवन र संचरना, सभा हल, ट्रमा सेन्टर, सहरी स्वास्थ्य क्लिनिक, तरकारी सङ्कलन केन्द्र, चिस्यान केन्द्रलगायतका संरचना प्रयोगविहीन रहेको बताउनुभयो ।  

पछिल्लो समय बैतडीका ११४ वटा सरकारी विद्यालय बन्द हुने अवस्था आएपछि ती भवनसमेत खाली भएका छन् । अधिकांश स्थानीय तहले विद्यालय एकीकरण गरेपछि सरकारी लगानीमा बनेका दर्जनौँ विद्यालयका भौतिक संरचना प्रयोगविहीन बनेका छन् । 

पुर्चौडी नगरपालिका–७, ऐराडीगाउँमा रहेको लटीनाथ आधारभूत विद्यालय बन्द भएपछि तीन वटा भवन प्रयोगविहीन बनेका छन् । सो गाउँको दलित बस्तीका अधिकांश अभिभावक रोजगारीको खोजीमा बालबच्चासहित भारतका बैङ्लुरु, पिथौरागढलगायतका सहर पसेपछि विद्यालय पूर्ण रूपमा बन्द भएको सोही गाउँका शिक्षक दिनेश नागारीले बताउनुभयो । 

अलपत्र परेका अधिकांश भवन बिनाउद्देश्य बजेट सक्नकै लागि बनेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक पहुँचका भरमा बजेट ल्याएर राज्यको सम्पत्ति सक्ने काम मात्रै भएको देखियो । जिल्ला समन्वय समितिले अनुगमन गरेर प्रदेशका मात्रै ५० वटा भवनबारे छानबिन गर्न अनुरोध गरे पनि कुनै सुनुवाइ भएन ।” 

उहाँले सरकारी लगानीमा जिल्लाभर निर्माण भएर अलपत्र परेका प्रसूतिगृहका भवन, क्याम्पस र स्वास्थ्य संस्थाका भवन प्रयोगमा नआएको बताउनुभयो । 

प्रशासनले अलपत्र भवन खोज्ने 

बैतडीमा प्रयोगमा नआएर अलपत्र परेका भवनको खोजी कार्य सुरु गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । 

उहाँले मनसुनका बेला सुकुमवासी र अव्यवस्थित बसोबासी बढी प्रभावित हुने भएकाले खाली भवनको उपयोगिताबारे छलफल गर्ने बताउनुभयो । गाउँपालिका तथा नगरपालिकाले सङ्कलन गरेको तथ्याङ्क अनुसार बैतडीमा तीन हजारको हाराहारीमा अव्यवस्थित बसोबासी तथा सुकुमवासी रहेका छन् । 

विघटित भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयका निवर्तमान अध्यक्ष रमेशप्रसाद पाण्डेयले कतिपय सुकुमवासी सडक किनारमा टहरा बनाएर बसेको बताउनुभयो । 

उहाँले जिल्ला विपत् व्यवस्थापन समितिले अलपत्र रहेका सरकारी भवन खोजी गरेर मनसुनअघि नै त्यस्ता बसोबासीलाई राख्न सकिने बताउनुभयो । स्थानीय तहको सरकारले पनि सरकारी लगानीमा बनेका प्रयोगविहीन भवनको लगत सङ्कलन गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।