अर्जुन काफ्ले
स्याङ्जा, भदौ १२ गते । गण्डकी प्रदेश हुँदै चीन र भारतसँग सिधा सम्पर्क जोड्ने दामाचौर कालीगण्डकी मोटरेबल ट्रस पुल अन्तिम चरणमा पुगेको छ । पुल १४ वर्षमा ९० प्रतिशत भौतिक र ८७ प्रतिशत आर्थिक प्रगति भएको हो । २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेभी कपन काठमाडौँले चापाकोट नगरपालिका–८, दामाचौर; स्याङ्जा र रामुर–६, पाल्पा जोड्ने पुल तीन वर्षमा काम सक्ने गरी सम्झौता गरको थियो । दामाचौर पुल १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा इलाइटले सम्झौता गरेको थियो भने पुलको भेरिएसन अर्डरपश्चात् १७ करोड ७१ लाख ४६ हजार ९९१ रुपियाँ १४ पैसा लागत पुगेको छ ।
तीन स्पाममा १८१.६९ मिटर लम्बाइ रहेको पुल वेल फाउन्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट इलाइटले दुई छेउमा पिल्लर राखेर नदीको मध्यभागमा पिल्लर बनाउने क्रममा डिजाइन अनुसार काम अगाडि नबढेपछि पुल बन्ने प्रक्रिया रोकिएको थियो । डिजाइन अनुसार वेल १५/१५ मिटर जमिनमुनि दब्नुपर्नेमा पाँच मिटर तल चट्टान भेटिएपछि निर्माण कम्पनीले काम राख्नु परेको थियो । सम्झौताको १० वर्षपछि पुल महाशाखाले डिजाइन परिवर्तन गरेसँगै इलाइटले पुल निर्माणमा सक्रियता बढाएको थियो ।
तीन वर्षमा सकिने काम बर्सौंपश्चात् ट्रस हाल्ने काम सकिएको र अब दुई स्पानमा सेलेप ढलान हुन बाँकी रहेको इन्जिनियर दीक्षा बस्यालले बताउनुभयो । पुल निर्माणमा ढिलाइ हुनुको कारण बजेटको अभाव र प्राविधिक समस्या भएको सडक डिभिजन कार्यालय पाल्पाले बताएको छ । पुल निर्माणका लागि सडक डिभिजनसँग निर्माण कम्पनीले आगामी वैशाख ११ सम्मका लागि सातौँ पटक म्याद थपेर काम गरेको हो ।
काम गर्न पाएमा अब दुई महिनामा सकिने बताउँदै निर्माण व्यवसायी श्याम केसीले लिनुपर्नेले जिम्मेवारी राम्रोसँग नलिँदा ढिलाइ भएको बताउनुभयो । डिजाइन गर्ने कम्पनीले गलत गर्दा पुलबाट आफू नराम्रोसँग घाटामा पुगेको बताउँदै केसीले समय नथपी अब तोकिएको समयमा काम सक्ने बताउनुभयो ।
पुलको निर्माणले भारतबाट ज्याग्दीखोला कोरिडोर हुँदै आँधीखोला कोरिडोर, पर्वत, मुक्तिनाथ हुँदै चीनसम्म पुग्न सहज हुने छ । पुलको प्रयोगबाट स्थानीयस्तरमा उत्पादित नगदेबाली बुटवल, नारायणगढ जस्ता ठाउँमा लैजान सकिने छ भने पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिक मर्कामा परेका छन् ।