मोरङ समाचारदाता
विराटनगर, भदौ १२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत स्मुलिक ऐरी बासबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबिचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यसलाई अझै प्रगाढ बनाएर लैजानुपर्ने बताउनुभयो ।
दुई देशबिच कृषि, श्रम, रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपाली मुख्यतया इजरायलमा कृषि र केयरगिभरमा बढी कार्यरत रहेको र यसलाई अझै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने चर्चा गर्दै उहाँले कोशी प्रदेश पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
इजरायलमा आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै उहाँले कोशी प्रदेश पनि कृषि उत्पादनका लागि प्रचुर सम्भावना रहेकाले सहकार्यका लागि तयार रहेको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्नका लागि ब्याज अनुदान दिएर युवालाई कृषि पेसा अँगाल्न प्रेरित गरेको जानकारी दिनुभयो ।
उहाँले कोशी प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्ययमबाट प्रदेशको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गर्नुभयो । मनमोहन प्राविधिक विश्वविद्यालय, गौरादह कृषि क्याम्पसलगायत प्रदेशका कृषि क्याम्पससँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो ।
सो अवसरमा इजरायली राजदूत स्मुलिक ऐरी बासले पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नै नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । नेपाली युवाका लागि केयरगिभर र कृषिको क्षेत्रमा काम गर्ने अवसर इजरायलमा रहेको चर्चा गर्दै त्यसमा नेपालले ध्यान दिँदा राम्रो हुनेमा जोड दिनुभयो । कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको बताउँदै उहाँले कोशी प्रदेशमा पनि सम्भावना भएको क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो । नेपालमा कृषि काम गर्ने ५० प्रतिशतभन्दा बढी भए पनि सो अनुसारको प्रगति नभएको र इजरायलमा थोरै जनसङ्ख्या कृषिमा काम गर्ने भए पनि उल्लेख्य प्रगति भएको उदाहरण दिँदै कृषि क्षेत्रमा दुई देशबिच अझ धेरै सहकार्य गर्न सकिने बताउनुभयो ।