• १३ पुस २०८२, आइतबार

सिराहा-उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

blog

सिराहा, भदौ  ११ गते । सिराहाको गोलबजारदेखि उदयपुरको कटारी–६, रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ । 

सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिने यो सडक पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्ने छ ।

आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक चरणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ । सघन सहरी आयोजनाका इन्जिनियर उदयनारायण चौधरीले भन्नुभयो, “सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन तयार गर्न पाँच सदस्यीय सहयोग समिति गठन भइसकेको छ । 

अब हामी चाँडै नै सडकको काम सुरु गर्छौँ । चालु आवमै करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छौँ ।” नयाँ सडकमार्ग गोलबजारको पुरानो चोहर्वा बजारबाट सुरु भई घुर्मी बजार हुँदै चुरेफेदीका बस्तीहरू पार गर्दै उदयपुरको रिस्कुसम्म पुग्ने छ । निर्माण पूरा भएपछि मदन भण्डारी राजमार्गसम्मको पहुँच सहज हुने छ । 

अहिले रिस्कुवासीलाई सिरहाको मर्चैया वा सप्तरीको कदमहा बजार हुँदै लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले उनीहरूको समय, खर्च र ऊर्जा दुवै खर्चिन्थ्यो । नयाँ सडकले दुरी छोटो हुने र बजारसम्म पुग्न सहज हुने भएकाले विशेष गरी चाडपर्वको समय घरायसी सामान तथा लत्ताकपडा किनमेल गर्न गोलबजार जान झन्झट नहुने उनीहरू बताउँछन् ।

गोलबजार–१० निवासी क्षेत्रकुमार आले भन्नुहुन्छ, “सडक कालोपत्रे भएपछि यातायात सहज हुनेछ, व्यापार–व्यवसाय फस्टाउने र सहरी पूर्वाधारमा गति आउने विश्वास छ ।”

गोलबजारका व्यापारी सञ्जय यादवले नयाँ सडकले पहाड र तराईबिच हुने ढुवानी सहज बनाउने बताउनुभयो । यस सडकले उदयपुरको उत्पादनलाई गोलबजारको व्यापारिक केन्द्रसम्म ल्याउन र त्यहाँबाट तराईको उपज पहाड पठाउन सहज हुने भएकाले कृषि क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहाडमा हुने उत्पादन तराईमा र तराईमा हुने उत्पादन पहाडमा पठाउन सजिलो हुनेछ । ढुवानी लागत कम हुँदा व्यापारमा प्रतिस्पर्धा बढ्ने छ ।” 

आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, मधेश प्रदेशसभा सदस्य मनोजकुमार सिंह, गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा आयोजना इन्जिनियर चौधरीको सहभागितामा अनुगमन र समन्वयको संरचना बनाइएको छ ।

पूर्वमन्त्री श्रेष्ठले समितिलाई एक महिनाभित्र सडकको ट्रेस (मार्ग) निर्धारण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनुभयो । उहाँ भन्नुभयो, “कामको जिम्मेवारी लिनेले निष्क्रिय बस्न मिल्दैन । समयमै काम सम्पन्न गर्नुपर्छ, नभए विगतझै बजेट फ्रिज भएर जान्छ । त्यसैले, सक्रियताका साथ लाग्न सबैलाई विशेष आग्रह गर्दछु ।” साथै उहाँले उदयपुरतर्फको कामका लागि जनप्रतिनिधिसँग समन्वय भइरहेको जानकारी दिनुभयो । 

सिरहा–उदयपुर जोड्ने यो अन्तरप्रदेशीय सडकमार्गले दुर्गम क्षेत्रलाई सहरी पूर्वाधारसँग जोड्ने छ । आवागमनमा सहजता ल्याउनुका साथै व्यापार, कृषि, पर्यटन र स्थानीय सेवा सुविधामा दीर्घकालीन प्रभाव पार्ने चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोको भनाइ छ । रासस