• १० भदौ २०८२, मङ्गलबार

तिजले एकतावद्ध भई अघि बढ्ने प्रेरणा देओस् : प्रमुख देवकोटा

blog

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा । फाइल तस्बिर

गारखापत्र अनलाइन

मकवानपुर, भदौ १० गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विशेषगरी हिन्दु महिलाहरुले मनाउने पर्व हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सनातन वैदिक संस्कृतिमा नारी शक्तिको सम्मान र प्रकृतिको संरक्षणका लागि विशेष महत्त्व राख्ने यो पर्वले एकताबद्ध भई अगाडि बढ्न प्रेरणा दिने उल्लेख गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश जारी गर्नुभएको हो । 

पौराणिक कथाअनुसार, माता पार्वतीले महादेवलाई पतिको रूपमा पाउनका लागि कठोर तपस्या तथा निराहार व्रत बसेर त्याग गरेको कथासँग तिज पर्वको इतिहास जोडिएको छ । हिमालय पर्वतमा घोर तपस्या गरेको र उहाँको यही त्याग र समर्पणबाट खुसी भएर महादेवले उहाँलाई पत्नीका रूपमा स्वीकार गर्नुभएको धार्मिक विश्वास छ ।

पौराणिक कथाअनुसार माता पार्वतीको यही कठोर तपस्याको सम्मानस्वरूप हरितालिका तिज मनाउने गरिन्छ । यो पर्वले भगवान शिव र पार्वतीको अटुट प्रेम र समर्पणको गाथालाई स्मरण गराउँदै नारी जीवनमा पतिको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्ने महत्त्वपूर्ण पर्वका रूपमा स्थापित छ।

‘तिजले पारिवारिक तथा सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउनुका साथै मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न मद्दत पुर्‍याउँछ’ उहाँले सन्देशमा भन्नुभएको छ । यस पर्वमा चेलीहरुले जन्म घर गएर आफ्ना दुःखसुख साट्ने, नाचगान गर्ने र मिठो परिकार खाने प्रचलन छ । जसले दिदीबहिनीहरूमा आपसी प्रेम र आत्मीयता बढाउनेमा प्रदेश प्रमुख देवकोटाले विश्वास व्यक्त गर्नुभएको छ । 

पछिल्लो समय देखापरेका भड्कीलो देखासिकीबाट पर रहेर पर्वको गौरव र मर्यादालाई कायम राख्दै तिज पर्व मनाउन उहाँले सबैमा अनुरोध समेत गर्नुभएको छ । मुलुकको समृद्धि, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नका लागि यस्ता चाडपर्वहरूको ठुलो भूमिका हुने बताउँदै पर्वले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाएर समानता र न्यायमा आधारित समाज निर्माण गर्न सबैलाई प्रोत्साहन गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।