प्रेम अधिकारी
पशुपतिनगर, भदौ १० गते । इलामको सूर्योदय नगरपालिका–३ का गोपाल आचार्यले व्यावसायिक गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । आचार्यले गाईपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो ।
आफ्नो र अन्य जमिन भाडामा लिएर उहाँले सञ्चालन गरिरहनुभएको ‘पञ्चामृत गाई फार्म’ बाट दैनिक १६० देखि दुई सय लिटरसम्म दुध उत्पादन हुन्छ । दुध डेरीमा पु¥याउँदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने उहाँले जानकारी दिनुभयो ।
अन्य खेतीबालीबाट सधैँ दुःख मात्र भएपछि आचार्यले २०७० सालमा राष्ट्रिय वाणिज्य बैङ्कबाट १० लाख रुपियाँ ऋण लिएर दर्ता गरी गाई फार्म सुरु गर्नुभएको थियो । अहिलेसम्म आचार्यले गोठ निर्माणदेखि सबै कुरामा गरेर ४० लाख रुपियाँभन्दा बढी लगानी फार्ममा गरिसक्नुभएको छ । उहाँको गाई फार्मको लगानी एक करोड रुपियाँ नाघिसकेको छ । आचार्यका फार्ममा अहिले ३४ वटा माउ गाई छन् । त्यसमा १२ वटा दुहुना र अन्य
ब्याउने छन् ।
गोपालकी श्रीमती शारदासँगै फार्ममा तीन जनाले रोजगारी पाएको आचार्यले जानकारी दिनुभयो । दुई जनाले फार्मका लागि र एक जना सवारीचालके फार्ममा कर्मचारीका रूपमा राखिएको छ । गाई फार्ममा दुई जना कामदार र पिकअपमा एक जना सवारीचालकको गरी मासिक ४२ हजार खर्च तलबमै जान्छ । दुध र घाँस, पराल, दाना ढुवानीका लागि आचार्यले फार्मको आम्दानीबाट पिकअप गाडी खरिद गर्नुभएको छ ।
आफ्नोसँगै अन्य लिजमा लिएको गरी दुई सय रोपनी क्षेत्रफलमा सुपर नेपियरलगायतका डाले घाँस खेती आचार्यले गर्नुभएको छ । आफ्नै ७० रोपनी र १३० रोपनी जमिन लिजमा लिएर घाँस खेती गरेको उहाँले जानकारी दिनुभयो । २० रोपनी क्षेत्रमा सुपर नेपियर, ४० रोपनी क्षेत्रमा अम्रिसो र बाँकीमा डाले तथा स्थानीय प्रजातिका भुइँघाँस लगाउनुभएको छ । “यति घाँसले मात्र पुग्दैन, वर्षमा १२ हजारका दरले ४०/५० गाडी पराल झापाबाट ल्याउँछु,” आचार्यले भन्नुभयो ।
आचार्यले कोशी प्रदेश सरकारबाट दुई वर्षअघि दुध दुहुने उपकरण खरिदका लागि दुई लाख ५० हजार अनुदान पाउनुभएको छ । भकारो सुधारका लागि सूर्योदय नगरपालिकाबाट २० हजार पाउनुभएको छ । गाईपालन व्यवसायबाट व्यावसायिक बन्नुभएका आचार्यका गोठका १४ माउ गाई ‘लम्पी स्किन’ रोगले मरे । बिमामार्फत उहाँले ४० हजार मात्र क्षतिपूर्ति पाउनुभयो ।