• १० भदौ २०८२, मङ्गलबार

दोब्बरले बढ्यो दुधको खपत

blog

काठमाडौँ, भदौ १० गते । बजारमा सोमबार दुधको खपत दोब्बरले बढेको छ । तिजको दरखाने दिन परेकाले बजारमा दुधको माग बढ्दा खपत ह्वात्तै बढेको हो । 

किराना पसलदेखि डेरी उद्योगमा सोमबार बिहानैदेखि दुध खरिद गर्न ग्राहकको भिड लागेको थियो । दरको दिनमा चेलीबेटीलाई खिरसँगै अन्य परिकार बनाएर खुवाउने चलन छ, जसका कारण दुधको बिक्री बढेको डेरी उद्योगीको भनाइ छ । 

डेरी उद्योग र दुग्ध विकास संस्था (डिडिसी) अनुसार दरखाने दिनमा मुलुकभर १८ करोड ९३ लाख रुपियाँ बराबरको २६ लाख लिटर दुध खपत भएको छ । अन्य समयमा दैनिक ११ देखि १२ लाख लिटर दुध खपत हुने गरेको थियो । 

डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले सोमबार दरखाने दिन परेकाले पनि दुधको खपत दोब्बरले बढेको जानकारी दिनुभयो । नेपालीको चाडका रूपमा तिजपर्व परेको र दरखाने दिनमा घर घरमा खिर खाने चलन भएकाले खपत बढेको उहाँको भनाइ छ । अन्य समयमा दुधको खपत घटेर किसानको भुक्तानी गर्न नसकेको डेरी उद्योगलाई दरखाने दिनमा दोब्बरले खपत बढ्दा राम्रो आम्दानी भएको छ । सबैभन्दा धेरै दुधको खपत काठमाडौँ उपत्यकामा हुने गरेको छ । 

डिडिसीका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक ८० देखि ८५ हजार लिटर दुध खपत हुने गरेकोमा सोमबार एक लाख पाँच हजार लिटर दुध खपत भएको छ । संस्थानका सूचना अधिकारी नीलकण्ठ उप्रेतीले अन्य दिनको तुलनामा दरखाने दिनमा दुधको खपत बढी हुँदा बिक्री बढेको जानकारी दिनुभयो । 

उहाँका अनुसार उपत्यकामा ८६ हजार लिटर र उपत्यकाबाहिर २० हजार लिटर दुध खपत भएको छ । अन्य दिनमा उपत्यकामा दैनिक ५० हजार लिटर दुध खपत हुने गरेको छ । तिजको समयमा घिउ पनि बिक्री हुने गरेको छ । बजारमा प्याकेट दुध प्रतिलिटर एक सय रुपियाँ, दही प्रतिलिटर १४० देखि ५० रुपियाँ र घिउ लिटरमा एक हजार दुई सय रुपियाँ रहेको छ । सोमबार प्याकेटको दुधसँगै खुला दुधको समेत बढी बिक्री भएको छ । यसैबिच दहीको खपतसमेत बढेको छ । अन्य दिनमा दैनिक पाँच हजार लिटर खपत हुने गरेकोमा सोमबार खपत बढेर १० हजार लिटर पुगेको डिडिसीले जनाएको छ । सोमबार छ करोड रुपियाँ बराबरको ५० हजार केजी घिउ खपत हुने अनुमान गरिएको छ । दुधसँगै दही, पनिर, मिठाई पनि बिक्री भएको भएको डिडिसीले जनाएको छ । 

अन्य समयमा भने दुधको खपत कम हुने गरेको छ । बजारमा माग कम हुँदा दुधको बिक्री घट्दै गएको डेरी उद्योगीको भनाइ छ । दुधको बिक्री घट्दा डिडिसी र निजी डेरीले दुध खरिद गरेको लामो समयसम्मको रकम भुक्तानी गर्न सकेका छैनन् । 

डिडिसीले गत चैतदेखिको ८५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । निजी डेरी उद्योगले दुई महिनाको दुध खरिद गरेको रकम भुक्तानी गर्न बाँकी रहेको जनाएका छन् । डिडिसी र निजी डेरीको गरेर झन्डै तीन अर्ब रुपियाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।