सुजन बज्राचार्य
संखुवासभा, भदौ ९ गते । खाँदबारी बजारका बासिन्दा अहिले बिहानसाँझ पानी खोज्न कुवा र धारातर्फ धाउन बाध्य भएका छन् । महभीरस्थित खानेपानी मुहानमा गएको ठूलो पहिरोका कारण गत एक सातादेखि खानेपानी आपूर्ति रोकिएपछि खाँदबारीबासीको दैनिकी अस्तव्यस्त बनेको हो ।
साउन २५ यता निरन्तर पहिरो खसेको छ । भदौ ५ गते आएको ठूलो पहिरोले ईन्टेक पुरिँदा समस्या झन् गम्भीर बनेको खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालले बताउनुभयो । उँहाका अनुसार पहिरो गएको दिन ईन्टेक सफा गर्ने प्रयास भए पनि ठूलो मात्रामा जम्मा भएको हिलो र फोहोर अझै हटाउन सकिएको छैन।
खाँदबारीमा करिब एक हजारभन्दा बढी खानेपानी प्रयोगकर्ता छन् । दैनिक करिब १० लाख लिटर पानी आवश्यक पर्नेमा आपूर्ति बन्द भएपछि स्थानीयहरू पुराना कुवा, धारा र साना मुहानतर्फ धाउन बाध्य छन् । बिहानसाँझ धाराकुवामा भीड लाग्ने गरेको छ । स्थानीय लक्ष्मी कार्की भन्नुहुन्छ, “धारा सुक्दा बिहानै गाग्री, बाल्टिन बोकेर पानी लिन धाउनुपर्छ। बच्चाहरू ढिलो गरी विद्यालय पुग्छन्, होटल व्यवसाय त झन् ठूलो समस्यामा परेको छ।”
निरन्तर वर्षा र पहिरो जाने सम्भावनाका कारण तत्काल समस्या समाधान हुने देखिँदैन । वैकल्पिक स्रोत व्यवस्थापन गरेर पानी सञ्चालन गर्ने प्रयास भइरहे पनि आपूर्ति सहज बनाउन चुनौती रहेको अध्यक्ष बरालले बताउनुभयो ।
वर्षेनी पहिरोका कारण खाँदबारीमा खानेपानी वितरण अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । तर यस वर्ष निरन्तर वर्षा र ठूलो पहिरोका कारण उपभोक्ताको दैनिकी अझ कष्टकर बनेको छ । विद्यालयदेखि घरायसी काम, होटल र पसल सबै प्रभावित भएका छन्। स्थानीय उपभोक्ताहरूले खानेपानी व्यवस्थापनमा दीर्घकालीन योजना बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।