• ९ भदौ २०८२, सोमबार

प्रहरी र राष्ट्रिय अनुसन्धानलाई पिकअप भ्यान र मोटरसाइकल हस्तान्तरण

blog

नेपाल प्रहरीका मधेश प्रदेश कार्यालय प्रमुखलाई गाडीको कागजात र साँचो हस्तान्तरण गर्दै मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, भदौ ९ गते । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सुरक्षा व्यवस्था कायम गर्नमा सहयोग पुग्ने दृष्टिकोणले मधेश प्रदेशका सुरक्षा निकायलाई सवारीसाधन हस्तान्तरण गरिएको छ । 

मन्त्रालयले नेपाल प्रहरी मधेश प्रदेश कार्यालयलाई २१ थान मोटरसाइकल, एक थान पिकअप भ्यान र राष्ट्रिय अनुसन्धानलाई दुईथान कार र दुई थान पिकअप भ्यान हस्तान्तरण गरेको हो । 

सोमबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपाल प्रहरीका मधेश प्रदेश कार्यालय प्रमुख एवम् डिआइजी उमाप्रसाद चुतुर्वेदीलाई आर्थिक वर्ष २०८१–८२ मा खरिद गरिएको सो मोटरसाइकाल र पिकअप भ्यानका कागजात र साँचो हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा मन्त्री लेखीले राष्ट्रिय अनुसन्धानका धनुषा, महोतरी, रौतहट र सप्तरीको कार्यालय प्रमुखहरुलाई समेत भ्यान र कारको साँचो हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले प्रदेशको आफनो प्रहरी प्रशासन नभए पनि प्रदेशका नागरिकको सुरक्षा प्रदान गराउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

स्रोत साधनका बावजुद पनि आफ्नो मन्त्रालयले नागरिकको हितमा काम गर्ने गरेको बताउनुभयो । उहाँले सुरक्षा निकायलाई सेवा प्रभाव गर्नमा सहजताका लागि प्रदेश सरकारले २१ थान मोटरसाइकल र पाँच थान गाडी हस्तान्तरण गरिएको भन्दै यसले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानलाई कामकाज गर्नमा सहजता हुने बताउनुभयो । 

उहाँले आफू कष्टमा रहेर पनि नागरिकको सुरक्षा गर्ने प्रहरीका लागि चालु आर्थिक वर्षमा गाडी खरिदका लागि बजेट बिनियोजन गरिएको बताउनुभयो । उहाँले समाजको सबै क्षेत्र र सबै अङ्ग जिम्मेवार बन्न सके मात्रै सभ्य समाजको निर्माण हुने भएकाले यस कार्यमा हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले मधेश प्रदेशमा नागरिकलाई सेवा प्रदान गर्ने कार्यमा सहजताका लागि प्रहरी प्रशासनलाई प्रदेश सरकारले यसप्रकारको सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख एवम डिआइजी उमाप्रसाद चतुर्वेदीले आम नागरिकको सुरक्षा प्रदान गर्ने कार्यमा नेपाल प्रहरीसँग अझै पनि साधन स्रोतको अभाव रहेको बेला प्रदेश सरकारबाट भएको यस प्रकारको सहयोगले अपराध नियन्त्रणमा ससहज हुने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, उच्चपदस्थ सुरक्षा अधिकारीको उपस्थिति थियो ।