• ९ भदौ २०८२, सोमबार

उत्कृष्ट प्रधानाध्यापक र शिक्षक पुरस्कृत हुने

blog

साँघुस्थित मैवाखोला गाउँपालिकाको कार्यालय । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले उत्कृष्ट प्रधानाध्यापक र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधारको अभियान चलाइरहेको गाउँपालिकाले अबदेखि प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने प्रधानाध्यापक र शिक्षकलाई सम्मान तथा पुरस्कृत गर्ने भएको हो ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट छनोट हुने एक प्रधानाध्यापक र तहगत आधारमा उत्कृष्ट तीनजना शिक्षकलाई गाउँपालिकाले पुरस्कृत गर्ने भएको हो । सामुदायिक विद्यालयको शैक्षिक सुधारको अभियानलाई सार्थकता दिई तहगत उत्कृष्ट शिक्षक छनोट तथा शिक्षण पेशालाई व्यवस्थित, प्रतिस्पर्धी र नतिजामुखी बनाउने उद्देश्यसहित शिक्षकलाई पेशाप्रति प्रोत्साहित गर्न पुरस्कृत गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । 

अध्यक्ष वनेमका अनुसार पालिकाले उत्कृष्ट प्रधानाध्यापक तथा शिक्षक छनोटसम्बन्धी मापदण्ड बनाई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक मध्येबाट उत्कृष्ट एकजना प्रधानाध्यापकलाई २० हजार रुपियाँ नगदसहित सम्मान तथा पुरस्कृत गरिनेछ । 

त्यस्तै तहगतअन्तर्गत कक्षा १–५, कक्षा ६–८ सम्म आधारभूत तह र कक्षा ९–१२ माध्यमिक तहका शिक्षकमध्येबाट उत्कृष्ट हुने एक–एक गरी तीन जना शिक्षकलाई जनही १५ हजार रुपियाँका दरले नगदसहित पुरस्कृत गर्नेगरी पालिकाले मापदण्ड बनाएको छ ।

गाउँ शिक्षा समितिले उत्कृष्ट प्रधानाध्यापक तथा शिक्षक छनोट गर्नेछ । सामाजिक विकास समिति संयोजकको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृत वा शिक्षा शाखा प्रमुख सदस्य रहेको छनोट समितिले पुरस्कृत हुने प्रधानाध्यापक तथा शिक्षकको नाम गाउँपालिकासमक्ष सिफारिस गर्नेछ । छनोट समितिले सिफारिस गरेको आधारमा उत्कृष्ट प्रधानाध्यापक तथा शिक्षकलाई पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ ।