सिराज खान
नेपालगन्ज, भदौ ९ गते । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा आइतवारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ । दुबै जिल्लाका थारू बाहुल्य क्षेत्रमा विशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो ।
यो पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्नेगरेको जनाउँदै भीमको पूजा गर्दै आइतवार पुरुषहरु ब्रत बसेको र दिदीबहिनीका लागि छुट्याइने खानाको परिकार ‘अग्रासन’ लाई विवाहित दिदीबहिनीहरुको घरमा सोमवार उपहार दिएपछि सम्पन्न भएको बाँके राप्तीसोनारीका थारु अगुवा हेमन्त चौधरीले बताउनुभयो ।
उहाँले यो चाड श्रीकृष्ण अष्टमीपछिको पहिलो आइतवार मनाइने भएकाले अटवारी भनिएको जनाउँदै सो दिन अधिकांश थारु समुदायका पुरुषहरु दिदीबहिनीका लागि व्रत बसेको बताउनुभयो । अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै कोहलपुर मैटहवाका थारु अगुवा दीपेन्द्र्र चौधरीले पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाएको तथा दोस्रो दिन खानेकुरा पकाएर दिदीबहिनीहरुको घरमा उपहार दिएको बताउनुभयो ।
उहाँका अनुसार व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर सोमवार गएका हुन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताउनुभयो ।
यस्तै, बर्दिया राजापुरका थारु अगुवा सोम डेमनडौरा दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटवारी पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’ लाई लिइने गरिएको छ ।’
बर्दिया राजापुरकै अर्का थारू अगुवा भिमसेन चौधरीका अनुसार थारु समुदायमा रहँदै आएको प्रचलित किंवदन्तीअनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारू बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारू समुदायमा रहिआएको छ ।
थारू समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको नेपालगन्जका थारू अगुवा भगतराम चौधरीले बताउनुभयो ।