भिन्ह (भियतनाम), भदौ ९ गते । टाइफुन काजिकीले देशको मध्य भागमा करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय भियतनामका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
यस वर्ष भियतनाममा असर गर्ने पाँचौँ टाइफुन समुद्रमा सक्रिय छ र टोन्किनको खाडीमा ९.५ मिटर (३१ फिट) उचाइका छाल उठेका छन् । पाँच तटीय प्रान्तका तीन लाख २५ हजार पाँच सयभन्दा बढी बासिन्दालाई विद्यालय र सार्वजनिक भवन अस्थायी आश्रय स्थल बनाई सुरक्षित राखिएको अधिकारीले जनाएका छन् ।
भिन्हको वाटरफ्रन्ट सहर रातभर जलमग्न रह्यो । बिहानसम्म सडक सुनसान बनेका थिए, पसल तथा रेस्टुरेन्टहरू बन्द थिए र बासिन्दा तथा व्यवसायीहरूले आफ्नो सम्पत्तिको प्रवेशद्वारमा बालुवा भरिएका बोराहरू राखेका थिए । सोर्ह हजारभन्दा बढी सैनिक परिचालन गरिएपछि बिहानैसम्म करिब ३० हजार मानिसलाई क्षेत्रबाट सुरक्षित निकालिएको थियो । टाइफुनको बाटोमा परेका दुई वटा घरेलु विमानस्थल बन्द गरिएका छन् र सबै माछा मार्ने जहाजलाई बन्दरगाहमा फर्काइएको छ ।
“मैले हाम्रो सहरमा यति ठूलो टाइफुन आएको कहिल्यै सुनेको थिइनँ”, ६६ वर्षीय ले मान तुङले भिन्ह इनडोर स्पोट्र्स स्टेडियममा भन्नुभयो । त्यहाँ विस्थापित परिवार चामलको साधारण नास्ता खाइरहेका थिए । “म अलिकति डराएको छु, तर अन्ततः हामीले यसलाई स्वीकार्नुपर्छ किनकि यो प्रकृतिको शक्ति हो-हामी केही गर्न सक्दैनौँ”, उहाँले सोमबार बिहान निकासी स्थलमा भन्नुभयो । भियतनामको राष्ट्रिय हाइड्रो-मौसम पूर्वानुमान केन्द्रका अनुसार टाइफुनले दिउँसो १ः०० बजे (०६०० जिएमटी) करिब १५७ किलोमिटर प्रतिघण्टाको हावासहित अवतरण गर्ने अपेक्षा गरिएको छ ।
-कहिल्यै यति ठूलो हुँदैन-
मानव-कारण जलवायु परिवर्तनले अझ तीव्र र अप्रत्याशित मौसम ढाँचा उत्पन्न गरिरहेको वैज्ञानिकहरूको भनाइ छ । यस्ता अप्रत्याशित मौसमी ढाँचाले विशेष गरी उष्णकटिबन्धीय क्षेत्रमा विनाशकारी बाढी र आँधीबेहरीको सम्भावना बढाएको छ । “सामान्यतया आँधीबेहरी र बाढी आउँछन्, तर यति ठूलो कहिल्यै हुँदैन”, ५२ वर्षीया विस्थापित गुयेन थी नहानले भन्नुभयो । आँधीको शक्ति अवतरण भएपछि क्रमशः कमजोर हुने अपेक्षा गरिएको छ ।
संयुक्त टाइफुन चेतावनी केन्द्रले टोन्किनको खाडी नजिकको महाद्वीपीय किनारमा पुग्दा समुद्रको गर्मी कम हुने भएकाले आँधी कमजोर हुने सम्भावना रहेको बताएको छ । आइतबार भियतनाममा दर्जनभन्दा बढी घरेलु उडान रद्द गरिएका थिए भने टाइफुनले त्यहाँको दक्षिणी क्षेत्र पार गर्दै गएकाले चीनको उष्णकटिबन्धीय रिसोर्ट हाइनानमा करिब २० हजार बासिन्दालाई खाली गरिएको थियो । हाइनानको मुख्य सहर सान्याले रमणीय क्षेत्र बन्द गरेको छ भने र व्यावसायिक गतिविधि रोकिएको छ ।
भियतनामको कृषि मन्त्रालयका अनुसार सन् २०२५ को पहिलो सात महिनामा प्राकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मानिस मारिएका वा बेपत्ता भएका छन् । आर्थिक क्षति दुई करोड १० लाख डलरभन्दा बढी भएको अनुमान गरिएको छ । गत सेप्टेम्बरमा आएको टाइफुन यागीका कारण मात्र भियतनामले करिब तीन अर्ब ३० करोड डलरको आर्थिक क्षति व्यहोरेको थियो । रासस/एएफपी