विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ९ गते । सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको मलेसियामा मृत्यु भएको छ । गाउँपालिकाको वडा २ स्थित हरिरावाका ३२ वर्षीय दीपककुमार रामको मलेसियामा मृत्यु भएको हो ।
परिवारमा एक मात्र कमाउने उहाँ विगत एक दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत रहनुभएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो। उहाँले मृत्युको कारणबारे विस्तृत जानकारी अहिले प्राप्त नभएको बताउनुभयो ।
त्यहाँस्थित प्लास्टिक फ्याक्ट्रीमा कार्यरत रहँदैआएका उहाँको शुक्रबार मृत्यु भएको रुपनी २ का वडाअध्यक्ष सरोजकुमार यादवले जानकारी दिनुभयो । वैदेशिक रोजगारीको क्रममा दीपकको अल्पायुमै मृत्यु भएको खबरले उहाँको परिवारसहित हरिरावा गाउँ शोकमा डुबेको छ ।
मृतकका आफन्तले शव छिटोभन्दा छिटो सम्बन्धित निकायमार्फत नेपाल ल्याइदिन र घटनाबारे स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरेका छन् । मृतक रामकी श्रीमती, एक छोरी र एक छोरा छन् ।