• ९ भदौ २०८२, सोमबार

चिनियाँ विद्युतीय चुरोट बरामद

blog

सशस्त्र प्रहरीले बरामद गरेको सामान ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), भदौ ९ गते । बर्दियामा नेपाल–भारत सीमा क्षेत्रबाट ठुलो परिणाममा चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ । विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले फेला पारेको हो । 

मधुवन नगरपालिका –५ गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साईकलमा राखेर भारततर्फ लैजाँदै गर्दा एक हजार ९ सय २० थान विद्युतीय चुरोट फेला पारेको हो । विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक कमलबहादुर नेपालीको कमाण्डमा गस्ती टोली सो स्थानमा खटाइएको थियो । 

गस्ती टोली देख्नासाथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साइकल छाडेर भारततर्फ भागेको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताउनुभयो । 

स्पेशम्यान एसपी चालिस हजार नामक विद्युतीय चुरोटको बजारमूल्य प्रतिथान दुई हजार पाँचसय छ । प्रहरी उपरीक्षक शाहीका अनुसार पक्राउ परेको चुरोटको मूल्य ४८ लाख पाँच हजार पर्छ । 

पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पूरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । नेपाल–भारत सीमा क्षेत्रमा अवैध रुपमा सामान आयात निर्यात नहोस् भनेर थप निगरानी बढाइएको उहाँले बताउनुभयो ।