• ९ भदौ २०८२, सोमबार

सप्तरीमा आठ जनाको शव फेला

blog

सुधा देव

भारदह (सप्तरी), भदौ ९ गते । सप्तरीमा एक हप्ता यता सात जनाको शव फेला परेको छ । पाँच महिला र तीन पुरूष गरी सात जनाको शव फेला परेको हो । पछिल्लो पटक कञ्चनरूप नगरपालिका –७ धरमपुरस्थित पेट्रोलपम्प नजिक आइतबार राति अन्दाजी ४० देखि ४५ वर्षीया महिलाको शव फेला परेको  छ । सोही दिन सोही नगरपालिका –६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेको अवस्थामा एक पुरुष मृत फेला परेका थिए । 

स्थानीय ४६ वर्षीय सत्रुधन सदा आइतबार दिउँसो नुहाउने क्रममा नहरमा डुबेर मृत अवस्थामा फेला परेका थिए । त्यसअघि तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर एक वृद्ध महिलाको मृत्यु भएको थियो । गाउँपालिका ६ बभनगामा घर भएकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको अवस्थामा शव भेटिएको थियो । 

भदौ ४ गते शम्भुनाथ नगरपालिका –६ लतियाहीकी भिलु चौधरीको छोरी अन्दाजी ३२ वर्षीया रामकुमारी चौधरी मृत अवस्थामा फेला परेकी थिइन् । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका –२ चाँदनी चौकमा भदौ २ गते खेतमा खनेको खाल्डोको पानीमा डुबेर एक वृद्वाको शव फेला परेको थियोे । 

सितापुरका  लालु सदाकी पत्नी ७२ वर्षिया सजनी सदाको खेतमा खनेको खाल्डोमा डुवेको अवस्था शव फेला परेको थियो । सप्तरीको कञ्चनरुप नगरपालिका –५ पिपरामा शनिबार राति करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्युु भएको अवस्थामा शव फेला परेको थियो ।

कञ्चनरुप –५ पिपराका ५० वर्षीय बद्री सरदार र उहाँकी ४५ वर्षीया श्रीमती विमलादेवी सरदार करेन्ट लागेर मृत्युु भएको अवस्थामा फेला पर्नुभएको थियो । सप्तरीको तिरहुत गाउँपालिका –४ डिमनमा भदौ १ गते सुनसरी दुहवी नगरपालिका ११ तन्मुनाका अन्दाजी ५० वर्षीय जगदीश मेहता झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मेहता बस्दैआएको घरदेखि नजिकै रहेको सजिवनको रुखको हाँगामा गम्छाको पासो लगाई मृत अवस्थामा फेला परेका थिए । जिल्लामा १ गते देखि ८ गतेसम्म ८ जनाको शव फेला परेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।