लीलाधर वली
घोराही, भदौ ९ गते । लुम्बिनी प्रदेशका घरेलु तथा साना उद्योगमा सात अर्ब एक करोड ६४ लाख रुपियाँ लगानी भएको छ । आर्थिक वर्ष २०८१-०८२ मा प्रदेशका १२ जिल्लामा तीन हजार दुई सय ६७ वटा घरेलु तथा साना थप हुँदा सात अर्ब एक करोड ६४ लाख रुपियाँ लगानी भएको हो ।
गत आर्थिक वर्ष प्रदेशको रुपन्देही जिल्लामा सवैभन्दा धेरै तीन अर्ब १७ करोड २९ लाख रुपियाँ लगानी भएको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिनुभएको छ।
उहाँका अनुसार कपिलबस्तु जिल्लामा ९३ करोड ४७ लाख, नवलपरासी पश्चिम जिल्लामा ९२ करोड ५४ लाख, दाङ जिल्लामा ८० करोड ४७ लाख, बर्दिया जिल्लामा ५७ करोड, पाल्पा जिल्लामा १९ करोड, गुल्मी जिल्लामा १२ करोड ३६ लाख, रोल्पा जिल्लामा दश करोड २२ लाख र रुकुम पूर्वमा दश करोड २६ लाख, प्युठान जिल्लामा सात करोड १३ लाख,अर्घाखाँची जिल्लामा एक करोड ४५ लाख र बाँके जिल्लामा १६ लाख रुपियाँ लगानी भएको छ ।
लुम्बिनी प्रदेश सरकारले गतआर्थिक वर्षमा व्यवसायमा आकर्षण बढाउन विभिन्न योजना ल्याएको थियो । गत वर्ष नयाँ दर्ता हुन आउने उद्योगहरूलाई उद्योग दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत र अपाङ्ग, महिला, दलितको लागि थप ५० प्रतिशत छुटको व्यवस्था गरिएपनि लगानी बढ्न नसकेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा चार हजार ९४ जना नयाँ उद्यमी थपिएका छन् । थपिनेमा दुई हजार छ सय चार जना पुरुष र एक हजार चार सय ९० जना महिला रहेका छन् । जसअन्तर्गत रुपन्देहीमा छ सय ८२ पुरुष र तीन सय २० महिला गरेर एक हजार दुई जना, बाँकेमा चार सय ७० पुरुष र दुई सय २४ महिला गरेर छ सय ९४ जना, नवलपरासी पश्चिममा दुई सय २० पुरुष र एक सय १६ महिला गरी तीन सय ३६ जना, कपिलवस्तुमा दुई सय ३७ पुरुष र एक सय ३० जना महिला गरि तीन सय ६७ जना उद्यमी थपिएका छन् ।
दाङमा पाँच सय ५९ पुरुष र चार सय १० महिला गरी नौ सय ६९ जना, बर्दियामा एक सय ५६ पुरुष र ९५ महिला गरी दुई सय ५१ जना, पाल्पामा ६० पुरुष र ३५ महिला गरी ९५ जना, गुल्मीमा ४४ पुरुष र २० महिला गरी ६४ जना, अर्घाखाँचीमा ६३ पुरुष र ७२ महिला गरी एक सय १५ जना, प्युठानमा २५ पुरुष र १८ महिला गरी ४३ जना, रोल्पामा ५० पुरुष र २८ महिला गरी ७८ जना र रुकुम पश्चिममा ३८ पुरुष र २२ जना महिला गरि ६० जना नयाँ उद्यमी थपिएका हुन ।
त्यसैगरी एक बर्षको अवधिमा लुम्बिनी प्रदेशमा १४ हजार ४० जनाले रोजगार प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशमा घरेलु तथा वाणिज्य फर्मतर्फ नौ हजार एक सय ३७ जना पुरुष र चार हजार नौ सय तीन जना महिला गरी १४ हजार ४० जनाले रोजगारी प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।