गोविन्द शर्मा
बाँके, भदौ ९ गते । बाँकेमा भूमि समस्या समाधान आयोगले दैनिकजसो जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै आएको छ । हालसम्म एक हजार बढी भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको आयोगले पछिल्लो समय दैनिकजसो जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै आएको आयोगका अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो ।
अध्यक्ष खनालले भन्नुभयो, “दुई वर्षे कार्ययोजना बनाएर सम्पूर्णलाई लालपुर्जा वितरण गर्ने लक्ष्यसहित काम अघि बढाएका छौं, हिजोआज दैनिकजसो लालपुर्जा वितरण हुने गरेको छ ।” आयोगका अनुसार हालसम्म जग्गा धनी प्रमाणपुर्जा प्राप्तीका लागि ५३ हजार ७०५ निवेदन परेका छन् ।
जसमध्ये आठ हजार ३०० निकुञ्ज क्षेत्रभिका छन् । आयोगले छुटेका व्यक्तिका लागि पछि पुन जारी गरेको सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरेको छ । आयोगले सुरुमा निवेदन परेका ५३ हजार ७०५ निवेदनहरु दुई वर्षभित्रै टुङ्गो लगाउने लक्ष्य राखेको छ । पछि थप गरिएको सूचनाबाट थप हुने निवेदनको टुङ्गो लगाउन भने थप समय चाहिने आयोगका अध्यक्ष खनालले जानकारी दिनुभयो ।
खजुरा गाउँपालिका र बैजनाथ ५ मा राष्ट्रिय आवास कम्पनीले काममा अवरोध गरेको भन्दै आयोगले कम्पनीले केकति आधारमा जग्गामा दाबी गरेको हो, त्यसको आधार माग गरेको छ । कम्पनीले पुरानो राजपत्रको आधारमा मात्र सरकारी जग्गा आफ्नो दाबी गरेको भन्दै आयोगले मन्त्रालय तहबाट यो समस्याको समाधान खोज्न माग गरेको छ ।