• ९ भदौ २०८२, सोमबार

मि. लक्की सेलाक

blog

फ्रानो सेलाक सम्भवतः अहिलेसम्मका सबैभन्दा भाग्यमानी व्यक्ति हुन् । यसैले सेलाकका साथीले उनलाई ‘मि. लक्की’ भन्ने गर्छन् । 

जीवनका विभिन्न समयमा सेलाकको सात पटक कालसँग जम्काभेट भयो तर हरेक पटक उनी सकुशल उम्किए । त्यसपछि आफू वास्तवमै असाधारण भाग्यमानी भएको सिद्ध गर्न सेलाकले सन् २००३ मा चिट्ठा नै जिते । सेलाकको जीवन दुर्भाग्यका कैयौँ घटनाले भरिपूर्ण छ । 

एक सङ्गीत शिक्षक सेलाक आफूलाई सर्वकालीन भाग्यमानी मानिस स्वीकार गर्दै जीवनमा सकारात्मक रहने गर्थे । 

कथाको सुरुवात क्रोएसियाको जाग्रेबमा सुरु हुन्छ जहाँ सन् १९२९ जुन १४ मा सेलाकको जन्म भयो । उनले पाँच पटक विवाह गरे । उनी धनी परिवारका थिएनन् तर उनमा सङ्गीतप्रति अगाध प्रेम थियो । सेलाकको परिवारले पियानो र भायोलिन अध्ययन गर्न उनलाई संरक्षकत्वमा हाइस्कुलमा पठाए । त्यतिबेला क्रोएसिया युगोस्लाभियाको एक भाग थियो र सेलाकले सामाजिक तहमा कैयौँ दमनकारी शासन देख्नु प¥यो । साथै दोस्रो विश्वयुद्धपछि सेलाक रक्तपातपूर्ण बाल्कन युद्धमा जोगिए । यो युद्ध दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा घातक मानिन्छ । धेरैजसो यतिमै सेलाकलाई धेरै नै भाग्यमानी भन्न सक्छन् तर यो सुरुवात मात्र हो । 

सेलाक ३३ वर्षको भएका बेला मृत्युसँग उनको पहिलो ठूलो जम्काभेट भयो । सराजेभोबाट ड्युब्रोभ्निक गइरहँदा उनी सवार रेल बरफ जमेको नदीमा खस्यो । रेलको धेरैजसो भाग नदीमा डुब्यो र घटनामा १७ जना यात्रुको मृत्यु भयो तर सेलाक बाँचे । पौडेर सेलाक नदी किनारामा आए । उनको हात भाँचिएको थियो र चिसोले शरीर कठ्याङ्ग्रिएको । यस्तो दुर्घटनामा सामान्य चोटपटक मात्र लागेर बाँचेका सेलाक केही महिनामै निको भए तर उनको दुर्भाग्यले छाडेन । 

दुर्घटनापछि सेलाकले रेल चढ्न छाडे । उनले कहिल्यै विमान चढेका थिएनन् । सन् १९६३ मा सेलाकले आफ्नी आमा बिरामी परेको खबर पाए । उनी तुरुन्तै जाग्रेबबाट विमान चढेर रेगिना जाने भए । यसका लागि उनले टिकट एजेन्टसँग सम्पर्क गरेर जतिसक्दो छिटो उडानमा आफ्नो टिकट बुक गर्न भने तर विमानमा सबै टिकट बुक भइसकेको जानकारी गराइयो । सेलाकले विमान कम्पनीलाई अनुरोध गरेर चालकदलका सदस्यसँग विमानको पछाडिको भागमा बस्न अनुमति मागे र उनलाई अनुमति दिइयो ।  

सेलाकको प्रथम हवाई यात्रा पनि सुखद भएन । अवतरण गर्ने तयारीमा रहेको विमानको ढोका अचानक जोडदार आवाज गर्दै खुल्योे । चालकदलका सदस्य हावामा उछिट्टिए र सँगसँगै सेलाक पनि हावामा पुगे । विमान दुर्घटनाग्रस्त भयो र चालकदलका अन्य सदस्यसहित सबै १७ यात्रुको मृत्यु भयो । चामत्कारिक रूपमा सेलाक यस पटक पनि बाँचे । उनी घाँसको थुप्रोमा खसेका थिए  । 

सन् १९६६ मा फेरि मृत्युसँग सेलाकको जम्काभेट भयो । उनले विमान चढ्न छाडेका थिए । सेलाकले जुन बसमा यात्रा गरिरहेका थिए त्यो एउटा नदीमा खस्न पुग्यो । यो नदी जमेको चाहिँ थिएन तर खतरनाक थियो । दुर्घटनामा चार जनाले ज्यान गुमाए तर सेलाक सकुशल रहे । उनलाई चोटपटक पनि लागेन । 

बारम्बार दुर्घटनामा पर्न थालेपछि सेलाकसँग उनका साथी यात्रा गर्न डराउन थाले किनभने उनीसँगै दुर्भाग्य पनि साथसाथै रहने विश्वास गर्न थालिएको थियो । 

यी दुर्घटनाका चोट आफ्नो जीवनमा हावी हुन नदिएर सेलाकले थियटरमा काम गरिरहे । केही वर्ष सुख शान्तिसँग उनले के बिताए फेरि आपत् आइप¥यो । सन् १९७० मा सेलाकले आफ्नो कारमा यात्रा गरिरहेका बेला कारको इन्धन ट्याङ्की नै विस्फोट भयो । उनी जसोतसो बाँचे । फेरि सन् १९७३ मा गाडीको फ्युल पम्प चुहावट भएर उनको गाडीमा आगो लाग्यो । आगोले उनलाई छोयो र कपाल लगभग सबै डढ्यो तर खासै गम्भीर चोट उनलाई लागेन । सेलाकलाई एकपछि अर्को यस्ता घटनाले पछ्याएपछि साथीभाइ, छिमेकी र थाहा पाउनेहरू उनी श्रापित मानिस मान्न थाले । कुनै भूतप्रेतको छाया उनीमाथि परेको विश्वास गरिन थालियो । 

त्यसपछि केही वर्ष आरामसँग बिते । सेलाकले दुर्भाग्यबाट आफूलाई मुक्ति मिलेको ठाने तर नियतिलाई कसले टार्न सक्छ र ? सन् १९९५ मा सेलाक फेरि समाचारको विषय बने । एउटा बसले उनी सवार कारलाई ठोकेर साँघुरो खोचमा खसालिदियो । गाडीमा रहेको एयरब्यागको मद्दतबाट सेलाकको ज्यान जोगियो । सन् १९९६ मै एउटा यस्तो अर्को घटना भयो जसले सेलाक अमर नै हुन् जस्तो बनायो । पहाडी सडकमा सेलाकको स्कोडा गाडीतिर एउटा गाडी हुत्तिएर आयो । सेलाकले गाडीबाट हामफाले र एउटा रुखको हाँगामा झुन्डिए । भिरमा सय मिटर तल खसेको उनको गाडी विस्फोट भयो । 

संयुक्त राष्ट्रसङ्घको ठूलो ट्रक साँघुरो पहाडी सडकमा अनियन्त्रित भएर आएको देखेर सेलाकले अन्तिम क्षणमा आफ्नो कारको ढोका खोलेर हामफालेका थिए । 

यसरी बारम्बारका दुर्भाग्यपूर्ण घटनाले सेलाकलाई भाग्य नै खराब भएको व्यक्तिका रूपमा जोकोहीले बुझ्न सक्छन् । इस्वी संवत्को २१ औँ शताब्दीले चाहिँ सेलाकलाई भाग्यमानी बनायो । उनले क्रोएसियामा ११ लाख अमेरिकी डलरको चिट्ठा जिते । जितेको रकमबाट सेलाकले आलिसान दुई घर, एउटा डुङ्गा र महँगो कार किने । 

त्यसपछिका दिन सेलाकले आरामसँग बिताए । उनलाई दुर्भाग्यले कहीँकतै पछ्याएन । सेलाकलाई दिव्यज्ञान प्राप्त भयो र पैसाले खुसी किन्न नसकिने बुझेर उनले यश आरामका सबै वस्तु घर, कार आदि बेचिदिए । भएको सम्पत्ति साथीभाइ, इष्टमित्रलाई बाँडिदिए । त्यसपछि जाग्रेबको दक्षिणमा रहेको सामान्य घरमा जीवनयापन गर्न थाले । अन्ततः ८७ वर्षको उमेरमा सेलाकले मृत्युलाई छक्काउन सकेनन् र सन् २०१६ नोभेम्बरमा प्राकृतिक रूपमा उनको निधन भयो । 

–युवामञ्च