• ९ भदौ २०८२, सोमबार

देवचुलीडाँडामा पर्यटकीय पदमार्ग

blog

नवलपरासी समाचारदाता

देवचुली, भदौ ९ गते । पूर्वी नवलपरासीको देवचुलीडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले चासो लिन थालेपछि अहिले त्यहाँ पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

समुद्री सतहबाट एक हजार ९३६ मिटर उचाइमा रहेको देवचुलीडाँडाको विकासमा अहिले गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेर पदमार्ग निर्माण सुरु गरेपछि देवचुलीको कुमसोतबाट र बुलिङटारको बोझापोखरीबाट चार घण्टाको पैदलयात्रा गरेर देवचुली पुग्न सकिने स्थानीय चुलीबोझा मगर होमस्टेका अध्यक्ष हेमलाल बरालमगरले बताउनुभयो । पैदलयात्रामार्फत यात्रा गरेर पुगिने देवचुलीडाँडा ऐतिहासिक र धार्मिक रूपमा समेत प्रख्यात रहेको छ । अहिले पदमार्ग निर्माण सुरु भएपछि तीन घण्टामा देवचुली पुग्न सकिने गरी पदमार्गको निर्माण थालिएको बरालले बताउनुभयो । 

देवचुलीडाँडा प्राचीन बाइसे चौबिसे राजाको बासस्थानका रूपमा समेत परिचित रहँदै आएको ऐतिहासिक ठाउँ भएकाले यसको अवलोकन गर्न र यहाँका रमणीय दृश्यावलोकनका लागि धेरै पर्यटक त्यहाँ पुग्ने गरेको बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरले बताउनुभयो । देवचुलीडाँडामा हरेक वर्ष एक लाखभन्दा बढी आन्तरिक पर्यटक पैदलयात्रामार्फत त्यहाँ पुग्ने गरेको दाबी वडाध्यक्ष मगरले गर्नुभयो । 

अहिले भएको बाटो ज्यादै जोखिमपूर्ण भएकाले दुर्घटना निम्तिन सक्ने हुँदा पर्यटकीय गतिविधि फस्टाउन नसकेको अवस्थामा पदमार्गको निर्माण सुरु भएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमालाल बरालमगरले बताउनुभयो । यो विकट ठाउँ भएकाले खच्चडमार्फत ढुङ्गा, सिमेन्टलगायतका सामग्री ढुवानी गरेर पदमार्गको निर्माण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

चितवन, तनहुँ र नवलपरासीपूर्वका अधिकांश भागको अवलोकन गर्न पाइने भएकाले पनि यहाँ आउने आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहने गरेको देवचुली जेसिसका पूर्वअध्यक्ष वसन्त पोखरेलले बताउनुभयो । पदमार्गको निर्माण भएपछि प्रदेश सरकारसँग क्रमागत रूपमै भए पनि आगामी वर्ष सक्ने गरी बजेट विनियोजनका लागि आग्रह गरिएको गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले बताउनुभयो । 

पदमार्गको निर्माण यो वर्ष सकिने अवस्था नभएकाले प्रदेश सरकारसँग आगामी वर्ष सक्ने गरी बजेट विनियोजन गर्न आग्रह गरिएको स्थानीय बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो । 

देवचुलीडाँडा धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले यहाँ हरेक वर्ष थारू जातिले मनाउने कन्तुरीपूजा हुने स्थानीय भूपेन्द्र पन्जियार थारूले बताउनुभयो । 

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण देवचुलीडाँडा जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको स्थान भएकाले यहाँ अन्य संरचनासमेत निर्माण हुने क्रममा रहेको प्रगतिनगर खानेपानी तथा सरसरफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिलाराम कडरियाले बताउनुभयो । २०८१ सालमा देवचुलीडाँडा घुम्ने आन्तरिक पर्यटक दुई लाख ३७ हजार पुगेका देवचुली पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।