• ९ भदौ २०८२, सोमबार

पुस्तासँगै हराउँदै किराँती धरोहर

blog

कविराज घिमिरे

हिले (धनकुटा), भदौ ९ गते  । जमिनभन्दा केहीमाथि उठाएर बनाइएको पुरानो शैलीको सानो सुन्दर चिटिक्क परेको घर । बाहिरी भागमा दलान (सिकुवा), दलानसम्म पुग्ने गरी मिलाएर बनाइएको ढुङ्गे सिँढी, दलान ढाक्ने ढुङ्गा र माटोबाट बनाइएको सानो पर्खाल । जमिनभन्दा थोरै माथिसम्म ढाक्ने गरी लगाइएको छानो । भित्र प्रवेश गर्ने मूल ढोकामा केही कलात्मक आकृति देखिन्छ । दलानबाट भित्र पस्दै गर्दा देखिने अँगेनो, अँगेनोमाथि बिस्कुन सुकाउन बनाइएको भार (सरङ), कोठा नबारी छाडिएको खुला स्थान, केही खाट, ढोल झ्याम्टा, चिन्डो, लत्ताकपडासहित राखनधरन । देख्दै अनौठो लाग्ने यो धनकुटाको सहिदभूमि गाउँपालिका–४, खोकुमा रहेको एक पुरानो किराँती शैलीको घरको दृश्य हो । 

यो घर गाउँपालिकाको सबैभन्दा पुरानो घरका रूपमा चिनिन्छ । घर कुन पुस्ताले कहिले बनायो भन्ने यकिन जानकारी छैन तर आफ्नो बाउबाजेले देख्दा पनि यस्तै रहेको र त्योभन्दा अघिल्ला पुस्ताले पनि घर यस्तै थियो भन्ने गरेको घरमुली बुद्धिमान राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले थाहा पाउँदा यो घर यस्तै थियो, बाबुबाजेले थाहा पाउँदा पनि यही स्थानमा यस्तै अवस्था रहेको सुनाउनुहुन्थ्यो ।” बाबुबाजेले भनेका आधारमा कम्तीमा पनि तीन सय वर्ष पुरानो हुन सक्ने राईको भनाइ छ । खाल्सा क्षेत्रमा पापानीपर्व सुरु हुँदा सबैभन्दा पुरानो भएका आधारमा सोही घरबाट नाच सुरु गर्ने गरिएको छ । सोही घरनजिकै अर्को एक आधुनिक घर निर्माण गरिएको छ । परिवारका केही सदस्य पुरानो घरमा बस्छन् भने केही सदस्य नयाँ घरमा बसोबास गर्दै आएका छन् । पुरानो भएपछि छानो, बारबेरा परिवर्तन गर्ने र घर लिपपोतबाहेक घरलाई अरू कुनै परिवर्तन नगरिएको बुद्धिमानकी श्रीमती चुनकुमारी राई बताउनुहुन्छ । 

सोही पालिकाको वडा नं. ६ मा पनि अर्को त्यस्तै शैलीको घर रहेको छ । २००७ सालमा निर्माण गरिएको यो घरमा ९२ वर्षीय रनबहादुर राई आफ्नो परिवारसँगै बस्दै आउनुभएको छ । आफू रहुन्जेल यही घरमै बस्ने उहाँ बताउनुहुन्छ । पहिले पहिले गाउँभरि यस्तै घर बनाउने गरिएको उहाँको भनाइ छ । राई भन्नुहुन्छ, “गाउँभरिका सबै भेला हुन्थ्याँै अनि घरका लागि आवश्यक पर्ने सामान भेला पारेर सबै मिलेर घर बनाउँथ्यौँ । सबै घर यस्तै हुन्थे, अहिले त सबै भत्काएर अरू नै बनाइसके ।” 

पहिले पहिले खाल्सा क्षेत्रभरि यस्तै घर निर्माण हुन्थे तर अहिले चार÷पाँच वटा बाहेक सबै घर मासिएका छन् । सहिदभूमिमा मात्र नभई किराँतीको बसोबास रहेका धनकुटाका अन्य क्षेत्रसहित पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, खोटाङलगायत पूर्वका किराँती बस्ती क्षेत्रमा पाइने यस्ता घर मासिँदै गएका छन् । किराँतीको घरको बाहिरी स्वरूप स्थान अनुसार फरक भए पनि भित्र स्वरूप र शैली एकैप्रकारको हुने गरेको पर्यटनकर्मी रमेश राई बताउनुहुन्छ तर पछिल्लो समय सबै क्षेत्रबाट यस्ता पुराना शैलीको घर मासिँदै गएको उहाँको भनाइ छ । 

धनकुटा गौँडा भएसँगै मासिन थालेका थिए यस्ता घर 

त्यसो त धनकुटा गौँडा हुनुपूर्व धनकुटा र आसपासका क्षेत्रमा यस्तै घर चलनचल्तीमा थिए । बिस्तारै गौँडा बनेसँगै धनकुटामा घरहरू परिवर्तन हुन थाले अनि यी पुराना शैलीका घर मासिन थालेको जानकारहरू बताउँछन् । हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख काजी प्याकुरेलका अनुसार तत्कालीन समयमा धनकुटा गौँडामा बनेका आधुनिक शैलीका घर देखेर गाउँका गन्नेमान्नेले पनि पुरानो शैलीका घर छाडेर झिँगटी घर निर्माण गर्न थालेका थिए । पछि काठ हुँदै टिन अनि अहिले त आधुनिक शैलीका घर निर्माण हुँदा पुराना स्थानीय शैलीका घर मासिएको उहाँको भनाइ छ । 

धनकुटामा रहेका यी घर पूर्वकै सबैभन्दा पुरानो शैलीको हुन सक्ने उहाँको दाबी छ । अहिलेसम्म रहेका यी घर जोगाउनसमेत मुस्किल हुन थालेको स्थानीय शान्तकुमार राई बताउनुहुन्छ । उहाँका अनुसार त्यो कलाका बारेमा जानकार नहुनु, खर नपाइनु तथा नयाँ पुस्ताले पुरानो घरप्रति चासो नदिँदा पुराना किराँती शैलीका घर लोप भएका हुन् ।

परम्परागत घर जोगाउने अभियान 

स्थानीय वस्तु र प्रविधिको प्रयोग गरी निर्माण गरिएका यस्ता घर आधुनिकतासँगै हराउँदै गएका छन् । यीसहित होचो, छानो जमिननजिकै रहनु, सानो सिकुवा, एउटै कोठो, अँगेनो, अँगेनोमाथि भारनजिकै कुल थान वरिपरि राखनधरन पूर्वका किराँती घरका विशेष हुन् । पूर्वमा पाइने किराँती शैलीका घर अहिले मासिँदै गएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बाँकी रहेका पालिकाभित्रका यस्ता घरलाई संरक्षण गर्न लागिपरेका छौँ । अब खासै धेरै त छैनन्, केही घर मात्र छन् । यी घर मात्र नभएर किराँती धरोहर हुन् । आउँदो पुस्तालाई यी घर कथा जस्तै हुने छन् । त्यस्तैले जोगाउन आवश्यक पनि छ ।”