• ९ भदौ २०८२, सोमबार

डेङ्गु सङ्क्रमण बढ्दै

blog

डेङ्गु सङ्क्रमितको उपचार गरिँदै । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता 

तानसेन, भदौ ९ गते  । पाल्पाका अस्पतालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । जिल्लामा रहेका तीन अस्पतालमा डेङ्गु सङ्क्रमित भई उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनहुँ बढेको अस्पतालले जनाएका छन् । तानसेनस्थित मिसन अस्पतालले दैनिक तीन/चार जना बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनाएको छ । 

स्वास्थ्य कार्यालय पाल्पाले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमण भएका बिरामी रहेको जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले पाल्पामा पछिल्लो छ महिनाको अवधिमा १८३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताउनुभयो । 

लुम्बिनी प्रदेशका अन्य ११ वटा जिल्लामध्ये हालसम्म कुनै पनि जिल्लामा एक सय बिरामी पुग्न सकेका छैनन् तर पाल्पामा डेङ्गु सङ्क्रमणबाट बिरामी हुने बढ्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र देखिने डेङ्गु सङ्क्रमण पछिल्लो समय पाल्पा जस्ता पहाडी जिल्लामा बढी देखिएको बताउनुभयो । उहाँले डेङ्गु नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भए पनि प्रभावकारी हुन नसकेको बताउनुभयो । 

उहाँका अनुसार लुम्बिनी प्रदेशको रुपन्देहीमा ८६ जना, दाङमा ६८, गुल्मीमा ५३, बाँकेमा ३४ जना डेङ्गु सङ्क्रमित छन् । यस्तै अर्घाखाँचीमा ३० जना, बर्दिया र प्युठानमा १२/१२ जना, रोल्पामा नौ र रुकुममा तीन जना डेङ्गु सङ्क्रमित रहेका छन् ।  

विगत तीन वर्षको अवधिमा पाल्पामा मात्र वार्षिक पाँच सयभन्दा बढी मानिस डेङ्गुबाट सङ्क्रमित हुने गरेका छन् । डेङ्गुबाट सङ्क्रमित भई दुई वर्षअघि पाल्पामा दुई जनाको मृत्युसमेत भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाले अघिल्ला दुई वर्षमा साउन र भदौ महिनामा सबैभन्दा बढी सङ्क्रमित हुने गरेकामा यस वर्ष भदौ र असोजमा डेङ्गु थप फैलिन सक्ने अनुमान गरेको छ । 

प्रभावकारी भएन अभियान

स्थानीय तहले हरेक वर्ष डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि विभिन्न कार्यक्रम गरे पनि प्रभावकारी हुन सकेको छैन । स्थानीय तहले सचेतना कार्यक्रम, विभिन्न सार्वजनिक स्थल तथा व्यक्तिका घरमा सरसफाइ अभियान सञ्चालन गरे पनि प्रभावित व्यक्तिसम्म पुग्न नसक्दा नियन्त्रण अभियान सफल हुन नसकेको सर्वसाधारणको गुनासो छ ।