• ९ भदौ २०८२, सोमबार

बसाइँसराइसँगै तराई झरेको छाउपडी प्रथा, छाउगोठमा सर्पको बिगबिगी

blog

धनगढी समाचारदाता

धनगढी, भदौ ९ गते  । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीय कमला आउजी दमाईंलाई असार २७ गते राति छाउपडी गोठमा विषालु सर्पले डस्यो । महिनावारी भएको बेला छाउगोठमा बस्नुभएका उहाँका लागि त्यही सर्प नै काल बन्यो । 

निगालीकै दिया बुढाले भदौ पहिलो साता छाउगोठ बसाइ अवधि पूरा गरेकै दिन छाउपडी गोठ भत्काउने टोली उहाँको घर पुग्यो । प्रहरीले दिया बसेको गोठ भत्काउन थाल्यो । त्यसै क्रममा गोठमै भेटिए दुई विषालु करेत सर्प । कालसँगै छाउपडी गोठमा रजस्वला अवधि पूरा गर्नुभएका दिया सर्प देखेर अवाक् हुनुभयो तर उहाँको बुवा अमरबहादुरले पुर्खाको रीतिरिवाज मानेको तर्क गर्दै छाउगोठ भत्काउँदा प्रतिवाद गर्नुभयो ।  

कमला घटनाले नतर्साएको निगाली गाउँ तराईको रैथाने बस्ती होइन । सुविधाको खोजीमा पहाडबाट बसाइँसराइ गरेर आएका यो गाउँमा बसेका छन् । पहाडमा मलजल गरेको छाउपडी परम्परालाई उनीहरूले आफैँसँगै लिएर आएका छन् । त्यसैलाई निरन्तरता दिइरहेका छन् । 

खास गरेर अछामबाट बसाइँ सरेर आएकाले छाउपडी प्रथालाई निरन्तरता दिइरहेको छाउपडी भत्काउने अभियानका संयोजक रत्ना बोहोराले बताउनुभयो । “अरूतिर खासै समस्या छैन,” कार्यपालिका सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो, “अछामबाट बसाइँसराइ गरेर आएका बढी छाउपडी प्रथा मानिरहेका छन् । अछामी बस्तीमा सबैभन्दा बढी छाउगोठ थियो ।”

कमला घटना भएको निगालीमा पनि अछामबाट बसाइँ सरेर आएकाको बाहुल्य छ । सबैभन्दा बढी छाउगोठ यही वडामा भत्काइएको छ । गोठ भत्काउँदा त्यसमा २० वटा विषालु सर्प भेटिएका छन् । छानादेखि लिएर गोठको भित्तामा करेत सर्प भेटिएको बोहोराको भनाइ छ । “सबैभन्दा बढी निगालीका छाउगोठमा सर्प भेटिए,” उहाँले भन्नुभयो, “दोमिल्ला र गजरौलाका केही छाउगोठमा पनि सर्प भेटिए ।” एक दिनमा २० छाउगोठ भत्काउँदा १० वटा गोठमा सर्प भेटिएका उहाँको भनाइ छ । 

निगालीमा दलित, क्षेत्री, ब्राह्मण सबै समुदायको बसोबास छ । उनीहरू सबैले छाउपडी प्रथालाई उत्तिकै मान्ने गरेका जनाइएको छ । कञ्चनपुरको निगाली त एउटा उदाहरण मात्रै हो तर पहाडबाट बसाइँ सरेर आएका यस्ता धेरै बस्तीमा छाउपडी प्रथाले जरो गाडेको छ । यहाँका रैथाने थारू र रानाथारू समुदायले छाउपडी प्रथा मान्दैनन् तर पहाडबाट तराई झरेका धेरै जसोले कैलाली, कञ्चनपुरमा यो प्रथालाई निरन्तरता दिइरहेका छन् । 

तराईमा बसाइँसराइसँगै छाउपडी प्रथा आएको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेत बताउनुहुन्छ । “यहीँ बसेकाले यो प्रथालाई मान्दैनन्,” उहाँले भन्नुभयो, “बसाइँसराइ गरेर आएका नै यहाँ छाउपडी गोठमा बसिरहेका छन् ।” 

अछामबाट बसाइँ सरेर आएकाले अझ धेरै छाउपडी प्रथा मान्ने गरेको अध्यक्ष बस्नेतको पनि ठम्याइ छ । उहाँले धेरै पहिले र पछि अछामबाट बसाइँ सरेर आएका सबै जसो घरमा छाउपडी गोठ पाइएको उल्लेख गर्नुभयो । छाउगोठमा सर्पले टोकेर कमलाको ज्यान गएपछि सो वडामा १४० वटा छाउपडी गोठ भत्काइएको छ । कमला घटनापछि जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरका सबै पालिकामा छाउपडी गोठ भत्काउने निर्णय गरेको थियो । छाउपडी प्रथाका कारण सुदूरपश्चिममा एक दशकयता आठ जना महिलाले ज्यान गुमाएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।