• ९ भदौ २०८२, सोमबार

चक्रपथ निर्माण सुस्त : तीन वर्षमा छ सय मिटर कालोपत्रे

blog

बेलौरी समाचारदाता 

कञ्चनपुर, भदौ ९ गते । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बहुबर्से सडक निर्माणका क्रममा चरम ढिलासुस्ती गरिएको आरोप लागेको छ । पालिकाले तीन वर्षको अवधिमा झन्डै छ सय मिटर मात्रै चक्रपथ निर्माण गरेको हो । सडक कालोपत्रे नहुँदा बर्सातको समयमा हिलाम्मे सडकमा यात्रा गर्न मुस्किल हुने गरेको स्थानीय वसन्त जोशीले बताउनुभयो । हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे बन्ने गाउँपालिका जोड्ने मुख्य सडक निर्माणमा पालिकाले चासो नै नदिएको स्थानीय मनमती उपाध्यायले बताउनुभयो । 

पाँच वटा वडा रहेको गाउँपालिकामा झन्डै २६ किलोमिटर चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो तर तीन वर्षको अवधिमा पालिकाले ६३० मिटर मात्रै चक्रपथ निर्माणको गरेको छ । अझै त्यहाँ चक्रपथ निर्माणको काम पनि बाँकी छ । पालिकामा चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा २५.१५ किलोमिटर सडकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । चक्रपथ निर्माणका लागि एक अर्ब ३७ करोड आठ लाख ३४ हजार लागत अनुमान गरिएको छ । गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले आव २०८०/८१ मा ८८ लाखको लागतमा ४३० मिटर चक्रपथ निर्माण गरिएको बताउनुभयो । यस्तै गत आव २०८१/८२ मा दुई सय मिटर चक्रपथ निर्माण गरिएको उहाँले बताउनुभयो । 

बजेट अभावले चक्रपथ निर्माणमा ढिलाइ भएको अध्यक्ष राना बताउनुहुन्छ । हाल चक्रपथको एकतर्फी मात्रै नाली निर्माण गरिएको उहाँले बताउनुभयो । एकातिर बहुबर्से योजना अन्तर्गतको सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती गरेको आरोप लगाउँदै आएका स्थानीयले सडकमा नालीसमेत बनाइएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पालिकाका पूर्वाधार शाखा प्रमुख रेखा भट्टले प्रत्येक आवमा गाउँपालिका जोड्ने सडक निर्माण भइरहेको बताउनुभयो । बजेट अभावले दुई आवमा मात्र ६३० मिटर चक्रपथ निर्माण भएको उहाँले बताउनुभयो ।