• १४ जेठ २०८१, सोमबार

स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट

पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

blog

हेटौँडा उपमहानगरपालिकाको ११औँ अधिवेशन स्थगित भएको जानकारी गराउँदै नगरप्रमुख मीनाकुमारी लामा ।तस्बिर : राममणि दाहाल

बागमती प्रदेश ब्युरो 

हेटौँडा, असार ११ गते । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनपछि बागमती प्रदेशका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष (आव)को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । स्थानीय तहले असार १० गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने व्यवस्था भएअनुसार आगामी आव २०७९/८० का लागि शुक्रबार भएको नगर तथा गाउँ सभामा नीति तथा कार्यक्रम र बजेट पेस गरेका हुन् ।

देश सङ्घीयतामा गएपछि भएको दोस्रो स्थानीय तह निर्वाचनपछिको यो पहिलो नीति तथा कार्यक्रम र बजेट स्थानीय तहले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक क्षेत्रलाई प्राथमिकता दिएर ल्याएका छन् । प्रदेशका केही स्थानीय तहले सभा सञ्चालन कार्यविधिअनुसार गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित गरेका छन् । निर्वाचित जनप्रतिनिधिबीचको विवादका कारण पालिका सभा स्थगित भएका हुन् ।

हेटौँडाको नगर अधिवेशन स्थगित

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार हेटौँडा उपमहानगरपालिकाको शुक्रबारका लागि बोलाइएको नगर अधिवेशन नगर सभाका लागि गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित गरिएको छ । अधिवेशनमा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरू अनुपस्थित भएपछि गणपूरक सङ्ख्या नपुगेको हो । 

एमालेले स्थानीय तह सञ्चालन ऐनको मर्म, भावना र बाझिएका उपमहानगरपालिका र वडा समितिको बैठक सञ्चालन कार्यविधि संशोधनको माग सुनुवाइ नभएको भन्दै अधिवेशनमा अनुपस्थित भएको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा विषयगत समिति नबनाइएको, छलफलमा कार्यपालिका सदस्यहरूलाई सहभागी नगराइएको, विधिसम्मत ढङ्गले छलफल नभएकोलगायतका विषय उठाउँदै अधिवेशनको उपस्थितिमा हस्ताक्षर नगरेपछि अधिवेशनमा गणपूरक सङ्ख्या पुगेको थिएन । बिहान १० बजेका लागि बोलाइएको अधिवेशन सहमतिका लागि भएको लामो प्रयासमा पनि असफल भएपछि दिउँसो १ः३० बजेपछि नगरप्रमुखलगायत स्थगित गर्ने अवस्थामा पुग्नुभएको थियो ।

नगरप्रमुख मीनाकुमारी लामाले गाउँ–नगर जिल्ला सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ५ (१) अनुसार गणपूरक सङ्ख्या नपुगेकाले अधिवेशन स्थगित गरेको जानकारी दिनुभएको थियो । उहाँले सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको ५० प्रतिशतभन्दा बढी सदस्य उपस्थित हुनुपर्नेमा ९५ जनामा ४० जना मात्र उपस्थित रहेकाले गणपूरक सङ्ख्या नपुगेको बताउनुभयो । नगर सभाको अर्को बैठक आगामी आइतबार दिउँसो १ ब्जे बस्ने गरी नगरप्रमुख लामाले अधिवेशन स्थगित गर्नुभयो । ऐनमा गणपूरक सङ्ख्या नपुगेमा तीन दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । 

यसैबीच एमालेबाट निर्वाचित जनप्रतिनिधिले पत्रकार सम्मेलन आयोजना गरी नगरप्रमुखका कारण सहमति जुट्न नसकेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा एमालेबाट निर्वाचित वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले नगरप्रमुख लामा र उपप्रमुख राजेश बानियाँले बहुमतलाई अस्वीकार गर्दा समस्या आएको र एकलौटी ढङ्गले बजेट निर्माण गर्ने काम भएको बताउनुभयो । नेपाली कांग्रेस र एमालेका नेताबीच उपमहानगरपालिका र वडा समितिको बैठक सञ्चालन कार्यविधि संशोधन प्रस्ताव दर्ता गर्ने सहमति भए पनि नगरप्रमुख र उपप्रमुखले अटेर गरेका कारण सहमतिमा समस्या आएको बताउनुभयो । यसैबीच थाहा नगरपालिकाले आगामी आवका लागि एक अर्बभन्दा बढीको बजेट ल्याएको छ । कैलाश गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेको छ ।

सात स्थानीय तहको मात्र आयो बजेट 

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुली जिल्लाका नौवटा स्थानीय तहमध्ये सातवटाले आगामी आव २०७९÷८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।हरिहरपुरगढी गाउँपालिकाले तयारी नपुगेकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष चेखबहादुर थिङले असार १५ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने जानकारी दिनुभयो ।

गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीका अनुसार शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकमा असार १३ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने सहमति भएको छ ।गाउँ कार्यपालिकामा बहुमतमा रहेका नेपाली कांग्रेसका सदस्यले जेठ १६ गतेको गाउँ कार्यपालिकाको निर्णय खारेज गरेर मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने अडान राखेपछि शुक्रबार नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको उहाँले बताउनुभयो । नेकपा एमालेबाट अध्यक्षमा शङ्कर बराल निर्वाचित भएपछिको पहिलो बैठकले यसअघि कांग्रेसबाट निर्वाचित अध्यक्ष पुष्पबहादुर कार्कीको कार्यकालमा भएका गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्नेलगायतका निर्णय रद्द गरेको थियो । 

बाँकी सातवटा स्थानीय तहले नीति तथा कार्यक्रमसँगै पा“च अर्ब ४७ करोड ९७ लाख रुपिया“को हाराहारीमा बजेट पेस गरेका छन् । ‘नगर उपप्रमुखसँग कृषक भेटघाट’ कार्यक्रम सञ्चालन, ‘बाली एम्बुलेन्स’ सञ्चालन कार्यक्रम सुरु गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोख्रेलले बताउनुभयो ।

कमलामाई नगरपालिकाले एक अर्ब ३४ करोड ७६ लाख रुपियाँ बजेट ल्याएको छ । दुधौली नगरपालिकाले एक अर्ब १२ करोड ३२ लाख ९० हजार ४२३ रुपियाँ बजेट नगर सभामा प्रस्तुत गरेको छ । मरिण गाउँपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रमस“गै ६३ करोड २३ लाख ३३ हजार आठ सय रुपियाँको बजेट सावर्जनिक गरेको थियो ।

सुनकोसी गाउँपालकाले करिब ६० करोड रुपियाँ, फिक्कल गाउँपालिकाले ५२ करोड ७४ लाख ७५ हजार रुपियाँ, तीनपाटन गाउँपालिकाले करिब ७७ करोड रुपियाँ, घ्याङलेख गाउँँपालिकाले ४८ करोड रुपियाँको हाराहारीमा बजेट सार्वजनिक गरेको जनाएको छ ।

रामेछापमा छ पालिकाको बजेट

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछाप जिल्लाको मन्थली नगरपालिकासहित छवटा पालिकाले शुक्रबार आगामी आवका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । शुक्रबार मन्थली नगरपालिका, खाँडादेवी, सुनापती, दोरम्बा सैलुङ, उमाकुण्ड र लिखुतामाकोसी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । रामेछाप नगरपालिका र गोकुलगङ्गा गाउँपालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । 

मन्थली नगरपालिकाको ११औँ नगर अधिवेशनमा नगरप्रमुख लब श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, विद्यालयमा सिक्दै कमाउँदै र वडास्तरबाट नै अनलाइन प्रविधिबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था गरिनेलगायतका कार्यक्रम समावेश गरिएको छ । नगर सभामा उपप्रमुख ईश्वरी बस्नेतले एक अर्ब ४० करोड ७८ लाख ५३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । 

यस्तै लिखुतामाकोसी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार र खानेपानीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नवौँ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिनले ८३ करोड ३४ लाख ४० हजार रुपियाँ बजेट सार्वजनिक गर्नुभएको छ ।

दोरम्बा सैलुङ गाउँपालिकाको गाउँ सभामा गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले आगामी वर्षको नीति तथा कार्यक्रम र करिब ५८ करोड बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । यस्तै सुनापती गाउँपालिकाले आगामी आवका लागि करिब ६० करोड रुपियाँ बराबरको बजेट ल्याएको छ । 

धुलिखेलकोे एक अर्ब ३५ करोड  

बनेपा समाचारदाता केदार तिमिल्सिनाका अनुसार काभ्रेका १३ वटै स्थानीय तहले शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम ल्याएका छन् । केही पालिकाले बजेट पछि सार्वजनिक गर्ने भएका छन् । धुलिखेल नगरपालिकाले एक अर्ब ३५ करोड रुपियाँको नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गरेको छ ।   

नगरपालिकाले चालूतर्फ ६४ करोड तीन लाख आठ हजार र पुँजीगततर्फ ७० करोड ५६ लाख ७२ हजार रुपियाँको अनुमानित आय–व्यय प्रस्तुत गरिएको हो । पनौती नगरपालिकाले चालूतर्फ ७४ करोड २८ लाख ८० हजार र पुँजीगततर्फ ८५ करोड ४९ लाख २० हजार रुपियाँ गरी एक अर्ब ६० करोड १३ लाख रुपियाँ बराबरको बजेट ल्याएको छ । यसैगरी नमोबुद्ध नगरपालिकाले आगामी आवका लागि चालूतर्फ १७ करोड ४८ लाख सात हजार ९९७ रुपियाँ र पुँजीगततर्फ ५७ करोड ३८ हजार रुपियाँ गरी ७४ करोड ४८ लाख ४५ हजार ९९७ रुपियाँ बजेट नगर सभामा प्रस्तुत गरेको छ ।

बेथानचोक गाउँपालिकाले चालूतर्फ ३१ करोड पाँच लाख र पुँजीगततर्फ २८ करोड छ लाख ३९ हजार रुपियाँ गरी आगामी आवका लागि ५९ करोड ११ लाख ३९ हजार रुपियाँको नीति तथा कार्यक्रम बजेट प्रस्ताव गरेको छ । यस्तै पाँचखाल नगरपालिकाले एक अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपियाँ, बनेपा नगरपालिकाले एक अर्ब ५५ करोड २४ लाख रुपियाँ, रोशी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजार, खानीखोला गाउँपालिकाले ४७ करोड चार लाख ७० हजार रुपियाँको नीति, कार्यक्रम तथा बजेट सभामा पेस गरेको छ । 

यसैबीच शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको भुम्लु गाउँपालिकाले बजेट असार २८ गते ल्याउने गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिनुभयो । यसैगरी चौँरीदेउराली गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट भने असार २७ गते प्रस्तुत गर्ने जनाएको छ । मण्डनदेउपुर नगरपालिकाले आगामी आवका लागि एक अर्ब एक करोड ९३ लाख ७२ हजार २३५ रुपियाँको नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गरेको छ ।  

पालिका सभा कतै बहिष्कार, कतै सम्पन्न 

सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा गाउँ तथा नगर सभा कतै बहिष्कार त कतै सहज रूपमा सम्पन्न भएको छ । बलेफी गाउँपालिकाको ११औँ गाउँ सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थागित भएको छ । नेपाली कांगे्रसका गाउँ सभा सदस्यले जनप्रिय योजनामा बजेट विनियोजन गरिनुपर्ने, करमुक्त गाउँपालिका घोषणा गरिनुपर्नेलगायतका माग राख्दै गाउँ सभा बहिष्कार गरेका थिए । विवादपछि आगामी आइतबार दिउँसो २ बजेसम्मका लागि सभा स्थागित भएको गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले जानकारी दिनुभयो ।  

चौतारा साँगाचोकगढी नगरपालिकाको सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटप्रति असन्तुष्टि जनाउँदै कांगे्रस र नेकपा एमालेका सभा सदस्यले उठेर विवाद गरेपछि नगर सभा स्थागित भएको छ । बैठक बसेर समस्या समाधान गरिने नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

सुनकोसी गाउँपालिकाको दोस्रो गाउँ सभाको प्रथम अधिवेशनमा अध्यक्ष टपीन्द्रप्रसाद तिमल्सिनाले सुनकोसी नदी किनाराको चेहेरेदेखि पाङगेटारको बाल्कासम्म सडक ट्र्याक खोल्ने, उपभोक्ता समितिमार्फत गर्दै आएको विकास निर्माणका काम अब टोल विकास समितिमार्फत गर्ने र सुनकोसी नदी किनारमा सुविधासम्पन्न रिसोर्ट निर्माणमा प्रोत्साहन गरिने बताउनुभयो । त्यस्तै बाह्रबिसे नगरपालिका र मेलम्ची नगरपालिकाले शुक्रबार नै नगर सभा सम्पन्न गरेको छ । 

त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँ सभामा कक्षा १ देखि १२ सम्मको शिक्षा निःशुल्क गर्ने, जलजले, पोखरे, बैतीलगायतका क्षेत्रलाई आलु पकेट क्षेत्र बनाउने, स्वास्थ्य बीमामा ४० प्रतिशत पालिकाले बेहोर्ने, योजना सम्झौता वडास्तरमा नै गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको पालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो । 

विदुरको नगरसभा स्थगित

नुवाकोट समाचारदाता नमराज सुवेदीका अनुसार नुवाकोटको विदुर नगरपाालिकाको दोस्रो नगर सभाको पहिलो अधिवेशन गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि नगर सभा बोलाइएकोमा नगरप्रमुख राजनलाल श्रेष्ठले गणपूरक सङ्ख्या नपुगेका कारण सभा स्थगित भएको जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले अब नगरसभा असार १४ गते हुने जानकारी गराउनुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित केही जनप्रतिनिधिले बहिष्कार गरेपछि नगर सभा स्थगित हुन पुगेको हो । नगरप्रमुख श्रेष्ठले कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरूलाई अध्ययन गर्न नदिई सोझै पारित गर्न लागेको नेकपा एमालेबाट निर्वाचित वडा नं. २ का वडाध्यक्ष दीपक कायस्थले बताउनुभयो । ६७ सदस्यीय नगर सभामा एमालेका ३७ जना प्रतिनिधि छन् । 

पूर्वाधार विकासमा जोड 

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार दोलखाका अधिकांश स्थानीय तहले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याएका छन् । कालिञ्चोक गाउँपालिकाले पूर्वाधार, शिक्षा, कृषि तथा स्वास्थ्य, मेलुङ गाउँपालिकाले पूर्वाधार शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा रोखेको छ भने वैतेश्वर गाउँपालिकाले पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

जिरी नगरपालिकाले पहिलो प्राथमिकता ‘ग्रिन टी’ ‘अर्गानिक जिरी’, कृषि तथा पर्यटन पूर्वाधार, शिक्षा तथा स्वास्थ्यमा जोड दिएको छ । भीमेश्वर नगरपालिकाले पहिलो प्राथमिकता नगरका गौरव क्रमागत योजनाहरू, कृषि तथा पशुपालन, अपाङ्ग, महिला, बालबालिकालगायतका लक्षित वर्गलाई नीति तथा कार्यक्रममा जोड दिइएको नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो ।  

त्यसैगरी गौरीशङ्कर गाउँपालिकाले कृषि, शिक्षा, भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको पालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले जानकारी दिनुभयो । त्यस्तै बिगु गाउँपालिका, तामाकोसी र शैलुङ गाउँपालिकाले पनि पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको जनाइएको छ ।