टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), भदौ ६ गते । केहीदिन अघि घाँस बोकेर बाढीसहितकै निस्ती खोला पार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । उहाँहरु हुनुहुन्थ्यो, मालिका गाउँपालिका–१ नेटाका मन कुमारी बोहोरा, रुद्र बोहोरा र आशा बोहोरा । दिनभर खेतमा काम गरेर साँझ घर फर्किदा घाँसको भारीसहित खोलामा जोखिम मोलेर तर्न बाध्य भएका एक परिवार हो ।
त्यसोत, निस्ति खोलाको पहिरेघाटमा पुल नहुँदा स्थानीयले बर्सौदेखि बर्सातमा ज्यान जोखिममा राखेर वारपार गर्न बाध्य छन् । इस्मा गाउँपालिका–४ दोहली तिम्लेखर्क र मालिकाको नेटाका स्थानीय यो घाट तरेर आउ–जाउ गर्छन् ।
दुबै गाउँका स्थानीयका वारपार खेत छन् । हिउँदको खोला सानो हुने भए पनि बर्सातमा वारपार गर्न निकै जोखिमपूर्ण छ । केहि वर्ष पहिले पहिरेघाटबाटै बगेर दुई जनाले ज्यान समेत गुमाएका थिए । स्थानीय तथा अमर माविका मालिका गाउँपालिका–१ का शिक्षक ढाल बहादुर बोहोराले नजिकका अरु धेरै ठाउँमा पुल बनेपनि पहिरेघाट पछि परेको बताउनुभयो ।
बर्सातमा खोला बढ्ने र वारपारमा समस्या हुँदै गएपछि धेरैले खेतीपाती छोडेपनि विकल्प नभएका स्थानीय बाढीमा पस्न बाध्य बनेको बोहोराले बताउनुभयो । बोहोराका अनुसार केही वर्ष पहिले नेटाकी जसा श्रीस र दोहलीकी जमुना थापाले निस्तीखोलाकै पहिरेघाट तर्दा ज्यान गुमाउनु भएको थियो । उहाँले नेटा र तिम्लेखर्कका १२/१३ घरपरिवार दैनिक खोला तरेर खेतमा जान पर्ने बाध्यता रहेको बताउनुभयो ।
पहिरेखोलामा पुल निर्माणको चर्चा धेरै पहिले भए पनि काम भएको छैन । मालिका गाउँपालिका–१ का पूर्व वडाध्यक्ष इन्द्र घर्तिले आफुहरुको कार्यकालको अन्तिमतिर पुल निर्माणको योजना बनेपनि काम नभएको बताउनुभयो । उहाँले वर्तमान कार्यपालिकाले चासो दिएर झोलुङ्गे पुल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँका दुई जनाले खोलामा बगेर ज्यान गएको विषय सबैलाई अवगत भए पनि पुल निर्माणमा चासो नराख्दा स्थानीयले जोखिम मोल्दै आइरहेको घर्तिले बताउनुभयो । उहाँले भन्नुभयो, “सधैँ सबै जना खोला तर्ने अवस्था रहँदैन दुई जनालाई बगाएर ज्यान गयो । स्थानीय सरकारको समन्वयमा तत्काल पुलको काम अगाडि बढ्नुपर्छ ।”
जिल्लामा ठुला विकास निर्माणका आयोजना पनि अलपत्र परेका छन् । कतै उपयोगनै नहुने ठाउँमा अनावश्यक योजनाहरुमा राज्यको लगानी खर्च भइरहेको छ । भने कतै स्थानीयले ज्यानको बाजी थापेर खोला तर्ने अवस्था रहेको छ । चुनावी बेलामा भोटका लागि आशा देखाउने नेताले आफुहरुको बाध्यता नदेखेको स्थानीयको गुनासो छ ।