तिलाचन पाण्डे
तम्घास (गुल्मी), भदौ ६ गते । गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालनमा रहेका अटो रिक्साहरु आफूखुसी र मनपरी रुपमा चलेका छन् । अटो रिक्साको भाडादर पनि निर्धारण गरिएको छैन । जसले गर्दा अटो रिक्साको प्रयोग गर्ने सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।
यहाँका रिक्सा चालकहरुले आधा किलोमिटर भित्रैको दुई सय रुपियाँसम्म भाडा असुल्दै आउँदा पनि सरोकारवाला निकाय मौन रहेका छन् । केही महिना पहिले जिल्ला अस्पतालबाट उपल्लो तम्घास आधा किलोमिटरको यात्रा गर्दा आफूले दुई सय रुपियाँ भाडा तिरेको यमुना महतले बताउनुभयो ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले अटो रिक्साहरुको भाडा निर्धारण गर्न नसक्नु र भाडामा मनपरी हुँदासमेत सरोकारवाला निकाय मौन रहनु दुःखद भएको बताउनुभयो । नागरिकको समस्यालाई मध्यनजर गर्दै सरोकारवाला निकायको ध्यान पुग्न आवश्यक रहेको उहाँको भनाइ छ । नियमनकारी निकायले तत्काल भाडा निर्धारण गरी सार्वजनिक गर्नुपर्ने र जनता ठगिनबाट रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले मनपरी भाडा लिने छुट कसैलाई नभएको भन्दै नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
यता रेसुङगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफूसँग बढी भाडा लिएको गुनासो आएकाले त्यसलाई समाधान गर्नका लागि रिक्सा धनिहरुलाई बोलाएर छलफल गर्ने बताउनुभयो । नगरपालिकामा रिक्सा चालकहरुसँगको छलफल पश्चात भाडा निर्धारण गर्ने गरी आफूले तयारी गरेको उहाँको भनाइ छ । तीन पाङग्रे अटो रिक्सा नगरपालिकामा करिव एक दर्जन दर्ता भएको बताउँदै दर्ता नभएकाहरुलाई पनि दर्ता प्रक्रियामा ल्याई ब्यवस्थित गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो ।
अटो रिक्सा चालकहरुलाई पनि यही पेशामा टिकाउने र सर्वसाधारण पनि मर्कामा नपर्ने गरी भाडा निर्धारण गरेर जाँदा नै दुबै पक्षलाई हित हुने उहाँको तर्क छ ।