सुधा देव
भारदह(सप्तरी), भदौ ५ गते । राजविराज नगरपालिकाको बिटौरी तथा ब्लब जग्गाको लालपुर्जा वितरणको माग गर्दै जग्गा पीडित सङ्घर्ष समितिले बिहीबार देखि पुनः आन्दोलनको घोषणा गरेका छन् ।
राजविराजस्थित गजेन्द्र चोकमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि लालपुर्जाका लागि पटकपटक आन्दोलन गर्दा आश्वासन दिएर माँग पूरा नगरेको भन्दै पुनः आन्दोलन गर्ने घोषणा गर्न बाध्यभएको पत्रकार सम्मेलनमा बोल्दै सङ्घर्ष समितिका संयोजक इरसाद अन्सारीले जानकारी दिनुभयो ।
२०८२ भदौ ५ गते पत्रकार सम्मेलन, ७ गते लाठी जुलुस र खबरदारी सभा, ९ गते सिटी जुलुस, ११ गते राजविराज नगरपालिकामा २ घण्टा धर्ना, १४ गते मसाल जुलुस प्रदर्शन, १५ गते राजविराज बजार बन्द तथा राजविराज नगरपालिकामा तालाबन्दी र १६ गते सङ्घर्ष समिति तथा नगरवासीको बृहत् बैठक बसी आन्दोलनको समिक्षा र पाँचौ चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने लगायत आन्दोलनका कार्यक्रम सङ्घर्ष समितिका संयोजक अन्सारीले सार्वजनिक सार्वजनिक गर्नुभयो ।
उहाँले भन्नुुभयो, ‘नगरक्षेत्रका मुख्य तथा भित्री सडक किनारामा बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवारले लालपुर्जा नपाएकै कारण बैँक तथा वित्तीय संस्थाबाट ऋण लिन तथा खरिदबिक्री गर्न नसकेको अवस्था छ ।’
लालपुर्जासँगै सङ्घर्ष समितिले राजविराज बसपार्क तत्काल सञ्चालन गर्नुपर्ने, हटियामा व्यवसायिक कम्पलेक्सको निर्माण सुरु गर्नुपर्ने, खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी हुनुपर्ने, सीमा नाकामा खाद्यान्न तथा अन्य वस्तुको विषादी परीक्षणका लागि क्वारेन्टाइन स्थापना गर्नुपर्ने, नगरक्षेत्रमा लामखुट्टेविरुद्ध औषधी छर्किनुपर्ने र वर्षौंदेखि बन्द रहेका छोटी भन्सारहरू सुचारु गर्नुपर्ने माग समेत राखेर आन्दोलित भएका हुन् ।
यसअघि, गत फागुन १७ गते उनीहरूले आठबुँदे माँगसहित विभिन्न चरणमा आन्दोलन गरेपनि आश्वासन पाए पनि आश्वासन आश्वासनमै सिमित भएकोले पुनः आन्दोलित भएको सङ्घर्ष समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा मधेश प्रदेशसभा सदस्य अनिरूद्व प्रसाद सिंह यादव, पूर्व नगर प्रमुखद्वय अनिस अन्सारी र जगन्नाथ दास, युवा नेता दिपेन्द्र चौधरी सङ्घर्ष समितिका पदाधिकारी सहितको उपस्थिति थियो ।