बोमलाल गिरी
नवलपुर, भदौ ५ गते। नवलपुरको कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद् विकास समितिको आयोजनामा आगामी कात्तिक १ गते प्रतियोगिता हुने भएको हो।
जिल्ला खेलकुद विकास समितिद्वारा बिहीबार कावासोती–१६ डण्डामा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार प्रतियोगितामा २० जना खेलाडीले भाग लिने छन्। प्रतियोगितामा ७ वटा प्रदेशका २/२ जना गरेर १४ जना र ३ विभागीय टिमका २/२ जना गरी ६ जना सहित २० जना खेलाडीहरु सहभागिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र दुई जनालाई पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पुनले जानकारी दिनुभयो।
डण्डा, झ्यालबास, गिरुवारी, चोरमारा, कोल्हुवा हुँदै डण्डा आउने आलोक चक्रपथ निर्माणको काममा भएको ढिलाई प्रति दबाब दिन र नवलपुर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुनले बताउनुभयो।
प्रतियोगिता कावासोतीको नवदुर्गा प्रादेशिक क्रिकेट खेल मैदानबाट शुरु भई नमुना सदरमुकाम हुँदै डण्डाबाट आलोक चक्रपथ परिक्रमा गरी डण्डामा आएर समापन गरिने छ।
प्रतियोगितामा प्रदेश एथलेटिक्स संघ गण्डकी प्रदेशको प्राविधिक सहयोग रहने छ। त्यसैगरी आलोक चक्रपथ जोडिएका कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोग गर्ने बताएको पुनले जानकारी दिनुभयो। गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान गरिएको छ।