विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ५ गते। सप्तरीमा ७५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ।
१८ स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी राजविराज नगरपालिका, राजगढ, छिन्नमस्ता गाउँपालिकामा ९० प्रतिशत खेतमा धान रोपाइँ भएको हो।
सबैभन्दा कम बोदेबरसाइन नगरपालिकामा ५० र खडक नगरपालिकामा ५५ प्रतिशत रोपाइँ भएको छ। महदेवामा ५८, रुपनीमा ६०, अग्निसाइर कृष्णासवरनमा ७४, विष्णुपुरमा ७७ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले जानकारी दिनुभयो।
उहाँले हनुमाननगर कंकालिनी, सप्तकोशी, सुरुङ्गा, डाक्नेश्वरी र कञ्चनरुप नगरपालिका तथा तिरहुत गाउँपालिकामा ८० प्रतिशत खेतमा धान रोपाइँ भएको बताउनुभयो।
‘जिल्लाभरिको तथ्याङ्क हेर्दा औसतमा ७५ प्रतिशत धान रोपाइँ भएको छ’, राउतले भन्नुभयो।
सप्तरीमा धेरैजसो किसान आकाशे भरमा खेती गर्दै आएका छन् यहाँ कुल ८१ हजार ६ सय ६८ हेक्टर खेती योग्य जग्गा रहेकोमा त्यसमध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको छ। तर यस वर्ष खडेरीका कारण सबै जमिनमा रोपाइँ हुन सकेको छैन।
वर्षा साउनको अन्तिम र भदौको पहिलो हप्तामा पानी परेको हुँदा अहिले पनि फाटफुट रुपमा किसानले धान रोपिरहेकोले रोपाइँको प्रतिशत बढ्न सक्ने अनुमान गरिएको कृषिज्ञान केन्द्र सप्तरीले जनाएको छ।