• १७ असार २०८१, सोमबार

तारकेश्वर नपाको बजेट दुई अर्ब छ करोड : सम्पत्ति कर ६ ले प्रतिशत घट्ने

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असार १० गते । काठमाडौंको तारकेश्वर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९:८० का लागि दुई अर्ब छ करोड ४६ लाख १४ हजार बराबरको बजेट प्रस्तुत भएको छ । नगरप्रमुख कृष्णहरि महर्जनले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । 

यसैगरी, उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरको “पहिचान, अपनत्व र अधिकार ः दीगो विकासको आधार” भन्ने मूल लक्ष्यका साथ नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।  

तारकेश्वर नगरपालिकाले पूर्वाधार विकास मुख्य नीतिका रुपमा अघि बढाएको छ । जसमा नगर साझेदारी अन्तर्गत ५०\५० को साझेदारी हुँदै आएकोमा आगामी आर्थिक वर्षदेखि ६०\४० को साझेदारी कार्यक्रम लागू गरिने जनाएको छ ।  

कला संस्कृति तथा पर्यटन नीति अन्तर्गत नगरभित्र प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने, सबै जातजाति र समुदायका भाषा, लिपि, साहित्य, संगीतको संरक्षण र विकास गर्न जोड दिइने र नगरभित्र होमस्टे प्रवद्र्धन गर्न आवश्यक सहयोग नीति अवलम्वन गरिने उपप्रमुख बुर्लाकोटीले बताउनुभयो । 


पब्लिक–प्राइभेट पार्टनरसिप को अवधारणा अनुरुप शिक्षाको समग्र विकास गरिने, “शिक्षक तथा अभिभावक संघ” को नीति तर्जुमा गर्ने र शिक्षा क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइ लागू गरिने जनाइएको छ । आर्थिक वर्ष २०७९\८० देखि लागु हुने सम्पत्ति करको स्वीकृत दर रेटमा आर्थिक वर्ष २०७९\८० को भन्दा ६ दशमलव ६ प्रतिशत कम गरी निर्धारण गरिने नगरपालिकाले जनाएको छ ।