• १४ जेठ २०८१, सोमबार

वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ९४ करोड ११ लाख

blog

वीरेन्द्रनगर नगरपालिकाको ११ औँ नगरसभा । तस्बिरः मुना हमाल

मुना हमाल

सुर्खेत, असार १० गते । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपियाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबारदेखि सूरु भएको ११ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरिएको हो ।   

नगरसभामा नगरप्रमुख मोहनमाया ढकालले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख खनालले नगरपालिकाले चालुतर्फ एक अर्ब ३७ करोड ३५ लाख ७६ हजार रुपियाँ  र पुंँजिगततर्फ ५६ करोड ५५ लाख ३६ हजार ५०० रुपियाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड २० लाख रुपियाँ बजेट सार्वजनिक गर्नुभयो । 

उहाँकाअनुसार नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने शसर्ततर्फका कार्यक्रम बाहेकको नगरकार्यपालिकाको विनियोजित बजेटमध्ये पूँजीगततर्फको बजेटबाट सामाजिक विकासका लागि ११ करोड २९ लाख ४० हजार, पूर्वाधार विकासतर्फ २७ करोड ६७ हजार रुपियाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दुई करोड ५२ लाख, आर्थिक विकासतर्फ ६ करोड १५ लाख, सार्वजनिक सेवा तथा सुशासनतर्फ तीन करोड २४ लाख रुपियाँ  बजेट विनियोजन गरेको छ । 

नगरपालिकाले सडक तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ । कृषितर्फ दुई करोड पाँच लाख र पशुतर्फ ६३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।  कृषि तथा पशु प्रवद्र्धन कार्यक्रम, कृषि उत्पादन, कृषकहरुलाई अनुदान, कृषि पूर्वाधार कार्यक्रम, प्रविधि हस्तान्तरण, बजारीकरणका कार्यक्रमहरु ल्याएको छ । 

जनजाती, दलित, अपांग, जेष्ठनागरिक लगायत लक्षित वर्गका लागि कार्यक्रम, महिला स्वरोजगार कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ । शिक्षा क्षेत्रका लागि ४४ करोड ९१ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको छ । नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन दश वर्षे शिक्षा क्षेत्र योजना स्वीकृत गरी कार्यक्रमहरु सञ्चालन गर्ने, १० लाखको शिक्षा विकास कोष स्थापना, विद्यालयको कच्ची र जिर्ण टिन विस्तापित गरी विद्यालयको छाना सुधार कार्यक्रम, विद्यालयमा इन्टरनेटको पहुँच पु¥याइने नीति तथा कार्यक्रम र बजेटमा उल्लेख छ । 

यस्तै, विपन्न नागरिक र जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य विमा, मातृ तथा नवशिसु कार्यक्रम, गर्भवति आमाका लागि आकस्मिक उद्दार कोष कार्यक्रम, लाटीकोईली र कटकुवा नगर अस्पतालको भवन निर्माण प्रक्रिया अघि बढाइने उल्लेख छ । स्वास्थ्य क्षेत्रका लागि नगरपालिकाले सात करोड ४६ लाख बजेट विनियोजन गरेको छ । 

नगरको ढल व्यवस्थापन, मुख्य बजार सडकलाई व्यबस्थि, फोहोर मैला व्यवस्थापन, सुन्दर फुटपाथ सहितको सडक निर्माण गर्ने, ट्राफिक व्यवस्थापन, सिटी बसपार्क विस्तार, छाडा पशुहरुको व्यवस्थापन, सबै प्रकारका पूर्वाधार मर्मत गर्ने, विद्युत नपुगेका वस्तीहरुमा विद्युतीकरणको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । 

बजार क्षेत्रमा फुटपाथ, साईकल लेन, सवारी पार्किङ्ग, रोडमा लाइनिङ्ग र ट्राफिक लाइट समेतको डिजाईन गरी नमुना सडक अवधारणालाई अगाडि वढाउन १५ लाख रुपियाँ विनियोजन गरिएको छ । सवारी चापहरु भएका मंगलगढी र एरिचोकमा आकाशेपुलको सम्भाव्यता अध्ययन गरिने र यसका लागि १० लाख रुपियाँ विनियोजन गरिएको छ ।  

त्यस्तै, लेकवेशी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७४ करोड ८७ लाख नौ हजार ५७ रुपियाँ बजेट ल्याएको छ । नगर उपप्रमुख विमला खड्लुककाअनुसार चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपियाँ  र पूँजीगत तर्फ २९ करोड ९७ लाख ८८ हजार एकसय ९२ रुपियाँ बजेट विनियोजन गरिएको छ । 

विकास साझेदार  संघ सस्थाहरुको कार्यक्रमतर्फ  ४ करोड ६३ लाख ७७ हजार ४९६ रुपियाँ रहेको छ । नगरपालिकाले आर्थिक, श्रम तथा रोजगार, कृषि, पूर्वाधार, लैंगिक तथा सामाजिक समावेशीकरणको क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको  छ । 

सडकहरुको स्तरोन्नति गरिने, सिंचाई योजना, विद्युत नपुगेको बस्तीमा विद्युत पु¥याइने, नगर बसपार्क निर्माण गरिने, योजना बैंक तथा मध्यकालिन खर्च संरचना गराइने, पुंँजिगततर्फका योजनाहरुको मर्मतका लागि मर्मत सम्भार कोष स्थापना गरिने, वन वातावरण तथा विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाई व्यवस्थापन लगायतका कार्यक्रम अघि सारेको छ ।