• ५ भदौ २०८२, बिहिबार

लालपुर्जा वितरणको तयारी

blog

मनाङ समाचारदाता 

मनाङ, भदौ ५ गते । भूमि आयोग मनाङले नासोँ गाउँपालिका–१, तालगाउँका ५८ अव्यवस्थित घरपरिवारलाई जग्गाको लालपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । भूमि आयोग मनाङका अध्यक्ष साङ्दो लामाले आयोगको प्रचलित नियमानुसार तालगाउँमा बसोबास गर्ने ५८ अव्यवस्थित घरपरिवारलाई जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा वितरण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । 

उहाँले लामो समयदेखि जोतभोग गर्दै आएको तर लालपुर्जा नभएकाको जग्गाजमिनको प्राविधिकबाट नापजाँच भइसकेको र सकेसम्म आगामी दसैँअघि नै वितरण गर्ने गरी तयारी भइरहेको बताउनुभयो । मनाङका अन्य पालिकामा पनि अव्यवस्थित बस्ती रहेको भए पनि ती सबै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत परेकालाई छुट्टै नीतिनियम बन्न पर्ने छ । सरकारले भूमि विधेयक तयारी गरिरहेकाले कार्यान्वयन भएलगत्तै अन्य पालिकामा पनि लालपुर्जा वितरणसम्बन्धी कार्य अघि बढाइने अध्यक्ष लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अन्तिम चरणमा पुग्दै छौँ । एक्यापभित्र नपरेकाले अलि समस्या भएको हो । गाउँपालिकाबाट नामथर सच्याउनुपर्ने भयो । पालिकाले सूचना प्रकाशन गरी नामथर सच्याएर आएपछि लालपुर्जा वितरण गर्ने कार्य हुने छ । सम्भवतः यो काम हामी दसैँतिहारभित्रमा सक्छौँ ।”

मनाङको चार वटै पालिकामा अव्यवस्थित बसोबासी रहेका छन् । मनाङ ङिस्याङ गाउँपालिकामा ८७, नार्पाभूमि गाउँपालिकामा १६, चामे गाउँपालिकामा १८ र नासोँ गाउँपालिकामा ६८ घरपरिवार गरी जम्मा १८९ घरपरिवार रहेका छन् । मनाङ ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका अव्यवस्थित बसोबास गर्ने घरपरिवार अन्नपूर्ण संरक्षित क्षेत्र (एक्याप) भित्र पर्ने भएकाले खासै समस्या नभएको तर नासोँ–१, तालगाउँका ५८ घरपरिवारलाई समस्या भएकाले तालगाउँबाटै कार्य आरम्भ गरेको भूमि आयोग मनाङका विज्ञ सदस्य राजनबहादुर गुरुङले बताउनुभयो । 

विज्ञ सदस्य गुरुङले पाँच दशकदेखि तालगाउँमा बस्दै आएका ५८ अव्यवस्थित घरपरिवारलाई राज्यपक्षबाट कानुनी दायरामा ल्याई लालपुर्जा वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालगाउँका जनतालाई कानुनी दायरामा ल्याउँदा राजस्व तथा कर उठ्ने बताउँदै सरकारलाई फाइदै हुने बताउनुभयो । 

त्यसै गरी आफ्नो नाममा जग्गाजमिन आउँदा ऋण लिएर काम गर्न सजिलो हुने, व्यावसायिक रूपमा काम गर्न पाइने हुँदा जनतालाई पनि फाइदा पुग्ने छ भने अपनत्वको भावना पनि जाग्ने उहाँको भनाइ छ । विज्ञ सदस्य गुरुङले राज्यपक्ष उदासीन भएको हो कि भन्ने आफूहरूलाई परेको तथा आयोग खुलेपछि अलि सजिलो भएको बताउनुभयो । उहाँले आफू पनि सोही तालगाउँकै बासिन्दा भएकाले जोडतोडका साथ जतिसक्दो चाँडो दसैँतिहारसम्म लालपुर्जा वितरण गर्ने बताउनुभयो ।

पर्यटकीय स्थान भएकाले होटेल व्यवसाय चल्ने र जनताले कर तिर्दा राज्यलाई फाइदा हुनेमा उहाँले जोड दिनुभयो । नासोँ–१, तालका वडाध्यक्ष मिनरासी गुरुङले लालपुर्जा वितरण गर्ने रे भन्ने आफूले सुनेको तर कहिले कसरी वितरण गर्छ भन्नेमा आफूलाई जानकारी नभएको भन्दै अध्यक्षलाई सोध्न आग्रह गर्नुभयो ।