ढोरपाटन समाचारदाता
बागलुङ, भदौ ५ गते । पर्यटकीय क्षेत्र ढोरपाटनमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पहिला ढोरपाटन उपत्यकामा मात्रै घुम्ने गरेका पर्यटक अहिले ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पुग्ने गरेका छन् । यहाँ आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या प्रत्येक वर्ष २५ प्रतिशतको दरले वृद्धि हुँदै गएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पर्यटक आएकोमा आव २०८१/८२ मा २३ हजार ६९२ जना ढोरपाटन भित्रिएको ढोरपाटन सिकार आरक्ष कार्यालयका कर्मचारी पदम रोकायाले जानकारी दिनुभयो ।
घुम्न आउनेमा २३ हजार ४६७ स्वदेशी र २२५ विदेशी रहेका छन् । उहाँले भन्नुभयो, “कुनै दिन ढोरपाटनमा सिकार खेल्न मात्रै पर्यटक आउने गरेका थिए । अहिले भने सिकार आरक्ष क्षेत्रको अवलोकनसँगै ढोरपाटन उपत्यका, निशेल ढोर र ढोर वराह मन्दिर, बुकी पाटनलगायतका क्षेत्रमा घुम्न र रमाउन पर्यटक आउने गरेका छन् ।” ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी सिकार खेल्न सिधै हेलिकोप्टरमार्फत पुग्ने गरे छन् । आरक्षमा पहिलो सिजन असोजदेखि कात्तिक र दोस्रो सिजन फागुनदेखि वैशाख महिनामा सिकार हुँदै आएको छ ।
आरक्षमा सिकारका लागि सात वटा ब्लक रहेका छन् । अहिले सडकको पहुँच, होटेल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्न त्यहाँ पुग्न थालेका छन् । ढोरपाटन क्षेत्र घुम्न साथीसँगै आउनुभएका आन्तरिक पर्यटक तेजेन्द्र केसीले नाम धेरै सुनेकाले अहिले अनुकूल मिलाएर आएको बताउनुभयो । ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षदेखि यस क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।
दैनिक पर्यटक आउने क्रम बढ्दै गएकाले आगामी दिनमा यस क्षेत्रलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने तयारी थालिएको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । यस क्षेत्रमा पर्यटकको आगमनसँगै होटेल सञ्चालन हुने क्रमसमेत बढेका छन् । पर्यटकलाई लक्षित गरी दुई दर्जनभन्दा बढी होटेल सञ्चालनमा आएको होटेल व्यवसायी रामबहादुर थापाघर्तीले बताउनुभयो । होटेल सञ्चालनमा आएपछि घुम्न आउने पर्यटकलाई खान र बस्न सहज हुँदै आएको छ ।