• ५ भदौ २०८२, बिहिबार

उपनिर्वाचनमा दौडधुप तीव्र

blog

भैरहवा समाचारदाता

भैरहवा, भदौ ५ गते  । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई लिएर दलबिच चुनावी सरगर्मी बढेको छ । २०७९ को आमनिर्वाचनमा विजयी बन्नुभएका राप्रपाका सांसद् दीपक बोहराको निधनपछि खाली भएको यस क्षेत्रमा दलहरूले उम्मेदवार छनोटदेखि प्रचारप्रसारसम्मको तयारीलाई तीव्र पारेका छन् ।

कांग्रेस, एमाले, रास्वपा, राप्रपालगायत दलले सभा–सम्मेलन, मतदाता भेटघाट, पार्टी प्रवेश तथा आन्तरिक छलफललाई सक्रिय बनाएका छन् । यसले निर्वाचन क्षेत्रमा चुनावी माहोल चर्काएको छ । ठुला दलसँगै मधेशवादी दल र स्वतन्त्र उम्मेदवारहरू पनि प्रतिस्पर्धामा उत्रने तयारीमा देखिएका छन् । गत निर्वाचनमा एमालेसँगको गठबन्धनमार्फत राप्रपाका बोहरा विजयी हुनुभएको थियो । यस पटक भने गठबन्धनको सम्भावना न्यून देखिए पनि एमाले र कांग्रेसबिच समन्वय हुने चर्चा चलिरहेको छ । कांग्रेसभित्र पूर्वगृहमन्त्री बालकृष्ण खाण र रामचन्द्र ढकाल बलिया दाबेदार मानिनुभएको छ । एमालेतर्फ पूर्वसांसद खिमलाल भट्टराई प्रमुख प्रतिस्पर्धी देखिनुभएको छ भने सिद्धार्थनगरका पूर्वनगरप्रमुख हरिप्रसाद अधिकारी, शशि पौडेल र यज्ञजित शाहको नाम पनि चर्चामा छ । 

रास्वपाले नौ जनाको प्रारम्भिक सूची सार्वजनिक गरी अन्तिम उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ । सो सूचीमा केन्द्रीय सदस्य कुसुम महर्जनदेखि स्थानीय नेतासम्मको नाम समावेश छ । पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार जनभावना बुझ्ने र राष्ट्रिय स्तरमा नेतृत्व दिन सक्ने उम्मेदवार छान्ने प्रयास भइरहेको छ । 

राप्रपाले केन्द्रमा छ जनाको नाम सिफारिस गरेको छ, जसमा दिवंगत बोहराका छोरा प्रज्ज्वल बोहरा बलिया उम्मेदवारका रूपमा देखिनुभएको छ । उहाँ लामो समयदेखि यो क्षेत्रमा सक्रिय रहेकाले सम्भावना बढी भएको स्थानीय नेता बताउँछन् । मधेशवादी दलहरूले पनि साझा उम्मेदवारबारे छलफल गरिरहेका छन् । सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध चार दलले गठबन्धन बनाउने तयारी गरेका छन् । यससँगै स्वतन्त्र उम्मेदवारहरू सक्रिय भएका छन् । भैरहवाका युवा अजयकुमार गुप्ता, बुटवलका लेखनाथ गैरे र काठमाडौँका सन्तोष गिरीले उम्मेदवारीको तयारी गर्दै मतदाता भेटघाट गरिरहेका छन् । गुप्ताले मल अभाव, विमानस्थल सञ्चालन, शिक्षा, स्वास्थ्य र सीमावर्ती नाका व्यवस्थापनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताउनुभएको छ ।

रुपन्देही–३ मा एक लाख ३९ हजारभन्दा बढी मतदाता छन् । बेलहिया नाकादेखि बुटवलसम्म फैलिएको यस क्षेत्रमा विगतमा कांग्रेस र एमाले बलिया देखिए पनि हाल रास्वपा र स्वतन्त्र उम्मेदवारले पनि टक्कर दिने अवस्था बनेको छ । उपनिर्वाचन नजिकिँदै जाँदा दलभित्र पार्टी प्रवेश–परित्याग बढेको छ भने शीर्ष नेताहरू क्षेत्रीय भेटघाटमा व्यस्त देखिन्छन् ।