राजन रावत
हुम्ला, भदौ ५ गते । कानुनले बिहे २० वर्षपछि गर्नुपर्ने व्यवस्था गरेको भए पनि हिमाली जिल्ला हुम्लामा भने २० वर्ष नपुग्दै आमा बन्ने महिलाको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला वर्षहरुमा समेत बालबिबाहविरुद्ध चर्को आवाज उठे पनि १५ देखि १९ वर्षको उमेरमा बिबाह गर्ने कार्य नरोकिएका कारण उमेर नपुग्दै आमा बन्ने महिलाको सङ्ख्या बढ्दै गएको हो ।
चङ्खेली गाउँपालिका– ६ को मेल्छाम स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले दुई दिन अगाडि मात्र उक्त वडाकी १९ वर्षीया सदिक्षा शाहीलाई प्रसुती गृहमा ल्याएर सुत्केरी गराउनुपरेको बताउनुभयो । शाहीले प्रसुती गृहमा पाँच दशमलव तीन किलोग्रामको शिशु जन्माउनु भएको थियो । २० वर्ष मुनिका गर्भवती महिला हरेक दुई महिनामा एक जना सुत्केरी गराउनका लागि प्रसुती गृहमा ल्याउने गरिएको बताउदै उहाँले पछिल्लो समय यो सङ्ख्या वृद्धि भएको बताउनुभयो ।
कानुनले बालबिबाहलाई बर्जित गरेको भए पनि व्यवहारमा अहिले पनि जस्ताको त्यस्तै अवस्था रहेको उहाँले बताउनुभयो । यता ताजाकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले उमेर नपुगी बिबाह गर्ने चलन नरोकिएका कारण कम उमेरमा गर्भवती हुने महिलाको सङ्ख्यामा कमी नआएकोे बताउनुभयो ।
दुई महिना अगाडि मात्र १७ वर्षको उमेरमा एक जना गर्भवती महिलालाई सुत्केरी गराउन सफल भएको बताउदै उहाँले यो समस्यालाई समाधान गर्न कठिन भएको बताउनुभयो । उहाँले आफ्नो गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा वर्षमा चारदेखि पाँच जना कम उमेरका महिलाहरुलाई सुत्केरी गराउने गरिएको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले वर्षमा १५ देखि २० जना गर्भवती जिल्ला अस्पतालको प्रसुती गृहमा सुत्केरी गराउन ल्याउने गरिएको बताउनुभयो । यो अस्पतालको सङ्ख्या भएको र जिल्लाभरको सङ्ख्या जोड्दा अवस्था गम्भीर देखिने बताउँदै उहाँले विद्यालयमा कक्षा नौ दसमा अध्ययन गर्ने छात्राहरु पनि सुत्केरी हुन गरेको बताउनुभयो ।
यस्ता उमेरकी गर्भवतीलाई सुत्केरी गराउन कठिन हुने गरेको बताउदै उहाँले उमेर नपुगी बिबाह गर्ने चलनविरुद्ध उजुरी गर्ने कार्य हुन नसकेका कारण कानुन कार्यान्वयन फितलो देखिएको बताउनुभयो ।
सुत्केरी गराउन ल्याएकी गर्भवतीलाई आफुहरुको धर्म सफल रुपमा सुत्केरी गराउनु रहेको बताउदै स्थानीय स्तरबाटै यो समस्या समाधानको उपाय अवलम्बन गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । बालबिबाह गरेको कुनै उजुरी नै आउने नगरेको र कतैबाट जानकारी समेत नआएपछि कारवाही गर्न समस्या भएको प्रहरीले जनाएको छ ।