हुम्ला समाचारदाता
हुम्ला, भदौ ५ गते । जिल्ला प्रशासन कार्यालय हुम्लामा बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म सेवा प्रदान गर्न थालिएको छ । राष्ट्रिय परिचयपत्र र सीमा पास लिने सेवाग्राही बढी हुनु र इन्टरनेटले बेला बेला काम नगर्ने भएको कारण कार्यालयबाट प्रदान गरिने सेवा बिहानैबाट रातिसम्म प्रदान गर्न थालिएको हो । नाम्खा गाउँपालिका–५ को यारीगाउँकी तन्जिन लामाले ७ बजे जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिएको बताउनुभयो । अघिल्लो दिन कार्यालयमा आए पनि इन्टरनेटले काम नगरेको कारण कर्मचारीले बिहानै आउन जानकारी गरे अनुसार बिहानै आएर आफ्नो काम गर्न भ्याएको उहाँले बताउनुभयो ।
वडाको तुम्कोटगाउँकी छिरिङपुनर तामाङले आइतबार बेलुका ७ बजे आफूले सीमा पास लिएको बताउनुभयो । उहाँ आइतबारै गाउँबाट सिमकोट आइपुगेर सीमा पास लिन सफल हुनुभएको हो । प्रविधिले साथ दिए काम छिटोछरितो गर्ने व्यवस्था गरेकोमा उहाँहरू दुवै जनाले कार्यालयलाई धन्यवादसमेत दिनुभयो । बैङ्कमा खाता सञ्चालन गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण हुनुपर्ने जनाएपछि जिल्लाभरबाट परिचयपत्र बनाउने सङ्ख्या बढ्दै गएको हो । यो समयमा विशेष गरी सामाजिक सुरक्षाका सेवाग्राहीले बढी सेवा लिने गरेका छन् । सेवाग्राहीको चाप हेरेर नै बिहानैबाट बेलुकासम्म काम गर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । इन्टरनेट जतिखेर पनि जाने भएको कारण बिहान र बेलुका पनि काम गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ । राष्ट्रिय परिचयपत्र, नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि र सीमा पास लिन हाल कार्यालयमा दैनिक एक सय जनासम्म सेवाग्राही आउने गरेको उहाँले बताउनुभयो ।
सेवाग्राहीको चाप भएको समयमा कहिले बत्ती जाने र कहिले इन्टरनेट जाने गरेपछि समस्या हुने गरेको छ । यसरी बिहानबेलुकाको समयमा काम गर्ने गरी कार्यालय सञ्चालन गर्दा दैनिक रूपमा प्रदान गरिने सेवा प्रदान गर्न सहज भएको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिने आउनेले पनि आफ्नो विवरण कम्प्युटरमा प्रविष्ट गर्नुपर्ने भएकाले भिडभाड बढी हुने गरेको छ । गृह मन्त्रालयले गाउँपालिकास्तरमा काम गर्ने गरी दुई वटा टोली खटाएको छ । उक्त टोलीले पनि गाउँपालिकामा पुगेर काम गरिरहेको छ ।