• ६ भदौ २०८२, शुक्रबार

स्ट्रेचरमा ल्याइएका ज्येष्ठ नागरिकको बनेन राष्ट्रिय परिचयपत्र

blog

राष्ट्रिय परिचयपत्र बनाउन धनसरा बुढालाई सदरमुकाम सिमकोट ल्याइँदै । तस्बिर : नन्द सिंह

रलिङ समाचारदाता

रलिङ (हुम्ला), भदौ ५ गते । स्ट्रेचरमा बसेर हुम्लाको सदरमुकाम सिमकोट पुगे पनि ८२ वर्षीय धनसराको राष्ट्रिय परिचयपत्र बनेन । खार्पुनाथ गाउँपालिका–३ स्थित राया गाउँकी ८२ वर्षीय ज्येष्ठ नागरिक धनसरा बुढालाई उहाँको छोराले राष्ट्रिय परिचयपत्र बनाउन गाउँबाट सदरमुकाम सिमकोटसम्म स्ट्रेचरमा लग्नुभएको थियो तर आठ दिनसम्म त्यहाँ बसे पनि परिचयपत्र बनेको छैन । गत साउन २७ गते मङ्गलबार घरबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा पु¥याएको उहाँका छोरा सत्या बुढाले बताउनुभयो ।

सत्या बुढाका अनुसार घरबाट करिब दुई घण्टा स्ट्रेचरमा बोकेर गाडी सञ्चालन भएको मुख्य सडक रहेको बोक्च्या गौँडामा पु¥याइयो । त्यहाँबाट सोही दिन आठ हजार रुपियाँमा गाडी रिजर्भ गरेर सदरमुकाम सिमकोट पुगियो । आँखा नदेख्ने र अन्य स्वास्थ्यमा निकै समस्या भएकी आमालाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सिमकोट धाउनु प¥यो । 

बुढेसकाल लागेर बिरामीले थला परेकी आमाको राष्ट्रिय परिचयपत्र बनाउने उद्देश्यमा सिमकोट पुगेका छोरा सत्या बुढा भन्नुहुन्छ, “यत्रो कष्ट गरेर सदरमुकाम पुगेँ, न त राष्ट्रिय परिचयपत्र बन्यो, न त पैसा जोगियो ।” राष्ट्रिय परिचयपत्र बनाउनका लागि आठ दिन बितिसक्यो तर बन्न सकेन । केही समयअघि जिल्ला प्रशासन कार्यालय हुम्लाका कर्मचारीले नै फर्म भरिदिने गरेको भए पनि पछिल्लो समय कर्मचारीले उक्त फर्म नभरेका कारण राष्ट्रिय परिचयपत्र बनाउनमा समस्या भइरहेको उहाँले बताउनुभयो । प्रशासन कार्यालयमा जाँदा कहिले इन्टरनेटको समस्या देखाएर काम नगर्ने त कहिले फर्मको समस्या देखाएर दैनिक रित्तो हात होटेलमा फर्किनु परेको उहाँले गुनासो गर्नुभयो । जिल्ला प्रशासन कार्यालय हुम्लामा फर्म भर्ने सुविधा नभएका कारण स्थानीय नागरिकले बजारमा रहेका पसल पसल धाउनुपर्ने अवस्था रहेको छ । 

सदरमुकाम सिमकोटको एउटा मात्रै फर्म भर्ने आइटी पसल भएकाले ७६ वर्षीय टोपे बुढाको पनि उस्तै समस्या छ । उहाँको पनि तीन दिनदेखि राष्ट्रिय परिचयपत्र बन्न नसकेको उहाँका छोरा चिन बुढाले गुनासो गर्नुभयो । बिहानदेखि बेलुकासम्म लाइनमा लागेर पनि पालो नआएपछि बेलुका रित्तो हातमा होटेलमा फर्किनुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो । बजारमा रहेको आइटी पसलमा स्थानीय नागरिकले २५० रुपियाँ तिर्नुपर्ने बाध्यता छ । बुढाले जिल्ला प्रशासन कार्यालयमै फर्म भर्ने व्यवस्था भएको भए गरिबलाई केही राहत हुने बताउनुभयो । गाउँमा अधिकांश अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतले सदरमुकाम सिमकोट आएर राष्ट्रिय परिचयपत्र बनाउँदा आर्थिक भार पर्ने गरेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफूलाई जानकारी नभएको बताउनुभयो । आठ दिनसम्म किन राष्ट्रिय परिचयपत्र बनेन त्यो बुझेर उहाँको समस्या समाधान गर्ने उहाँले बताउनुभयो । नेपाल सरकारको नीति अनुसार पछिल्लो समय सामाजिक सुरक्षा भत्ताकै लागि अनिवार्य रूपमा बैङ्क खाता खोल्नुपर्ने भएपछि अधिकांश नागरिक राष्ट्रिय परिचयपत्र बनाउन लागि परेका छन् ।