काठमाडौँ , भदौ ५ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीमा सुरु भएको थारू अस्टिम्की लोकचित्रकला कार्यशाला सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले अस्टिम्की मौलिक लोककलाको उच्चतम नमुना भएको र आफ्नो पहिचान स्थापित गर्न समुदाय अग्रसर हुनुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गणेश चौधरीले अस्टिम्की चित्र थारू पुर्खाहरूले बनाउँदै, सिकाउँदै आएकाले त्यस विरासतलाई अहिलेको पुस्ताले धान्नुपर्ने र यसलाई रोजगारीसँग पनि जोड्नुपर्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष लालमती देवकी कठरियाले परम्परा अनुरूप घरका भित्तामा कला बनाउन अनुरोध गर्दै यसको पुस्तान्तरणमा जोड दिनुभयो ।