काठमाडौँ, भदौ ४ गते । नेपाल प्रहरी श्रीमती सङ्घले आज ४१औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल र वरिष्ठ कलाकार हरिवंश आचार्यसहितलाई सम्मान गरेको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाले उहाँहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभएको हो । सम्मानित हुनु हुनेमा समाजसेवी उत्तम पुडासैनी र रामबहादुर न्यौपानेसमेत रहनुभएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै सङ्घले आफ्नो स्थापनाकालदेखि मानवसेवा एवं समाजसेवामा समर्पित भई उल्लेखनीय कार्यहरू गर्दै आएको बताउनुभयो ।
उहाँले आगामी दिनमा अझ निःस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घका संस्थापक अध्यक्ष वसुन्धरा लामाले नेपाल प्रहरी श्रीमती सङ्घकी महासचिव अनुश्री पाख्रिन, सामाजिक अभियन्ता कविता पौडेल पन्त, प्रहरी उपरीक्षक वसुन्धरा खड्का र प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई सम्मानपत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष रूपा थापाले सङ्घका विभिन्न कार्यहरूमा सहयोग पु¥याउनुहुने सङ्घका पदाधिकारी एवं प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा सङ्घका पदाधिकारी तथा सदस्यहरूले सहचरी गीत प्रस्तुत गरेका थिए भने विभिन्न कलाकारहरूद्वारा सांस्कृतिक नृत्य तथा गीतिनाटक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सङ्घ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । रासस