• १५ जेठ २०८१, मङ्गलबार

कानेपोखरी गाउँपालिकाको बजेट ५७ करोड ५२ लाख

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, असार १० गते । मोरङको कानेपोखरी गाउँपालिकाले ५७ करोड ५२ लाख ३८ हजार रुपियाँको अनुमानित आयब्यय (बजेट) प्रस्तुत गरेको छ । १० औं नगरसभामा गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले शुक्रबार बजेट प्रस्तुत गर्नुभएको हो । 

गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष अधिकारीले प्रस्तुत गरेको बजेटमा आयतर्फ बित्तीय समानीकरण अनुदान (संघीय सरकार) १४ करोड ५७ लाख, राजश्व बाँडफाँट (संघीय सरकार) बाट ९ करोड ८७ लाख ३५ हजार बित्तीय समानीकरण अनुदान (प्रदेश सरकार) बाट ८० लाख १५ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । 

यसैगरी नेपाल सरकारको राजश्व बाँडफाँटबाट ५ लाख, घरजग्गा रजिष्ट्रेसनबाट १ करोड ५० लाख, प्रदेश सरकारबाट १ करोड र गत बैक मौज्दातसहित आन्तरिक आम्दानी २ करोड ४४ लाख ९६ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । 

यसैगरी संघीय सरकार र प्रदेश सरकारको ससर्त अनुदान, संघीय सरकार र प्रदेश सरकारको समपुरक अनुदान र संघीय सरकारको विशेष अनुदान २६ करोड २७ लाख ६२ हजार गरी कुल ५७ करोड  ५२ लाख ३८ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै, गाउँपालिकाको चालु खर्चतर्फ ७ करोड २५ लाख, आर्थिक विकासतर्फ ३ करोड ७ लाख ५० हजार, सामाजिक विकासतर्फ ६ करोड ६६ लाख ७६ हजार, पूर्वाधार विकासतर्फ ८ करोड १ लाख, विपद ब्यवस्थापन र वातावरणका लागि १ करोड ६७ लाख रुपियाँ, संस्थागत विकास तथा सेवा प्रवाहका लागि १ करोड १५ लाख, ७ वटै वडाका लागि ३ करोड ५६ लाख रुपियाँ विनियोजन गरिएको छ । 

यस्तै, नेपाल सरकार र प्रदेश सरकारले दिने ससर्त र समपुरक अनुदानको २६ करोड २७ लाख ६२ हजार खर्च हुनेगरी बजेट ब्यवस्थापन गरिएको छ । गाउँपालिकाले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘आमाको सीप सन्तानलाई अर्गानिक गुन्द्रक मोरङलाई’ कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम ल्याएको थियो । 

आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले आमाहरूको सीपलाई परिचालन गरी अर्गानिक गुन्द्रुकमा मोरङलाई आत्मनिर्भर बनाउन बजेटको ब्यवस्था गरेको बताउनुभयो । हामी सबैको सान कृषि उद्यममा किसान कार्यक्रम अन्तर्गत कानेपोखरीलाई तोरीको पकेट क्षेत्रका रुपमा बिकसित गरिनेगरी बजेटको व्यवस्था गरेको छ । 

एक पालिका एक उत्पादन अन्तर्गत कानेपोखरीले तोरी उत्पादनलाई जोड दिने भएको छ । तोरी उत्पादन गर्ने र पेल्ने उद्योग सञ्चालनका लागि गाउँपालिकाले सहकार्य गर्ने भएको छ । त्यस्तै, साना पोखरी निर्माण गरी माछापालन कार्यक्रम सञ्चालन गर्न आफ्नै वारी अर्गानिक पोखरी कार्यक्रम सञ्चालन गरिने भएको छ ।  

प्रत्येक वडामा वर्षभरी सर्वाधिक कर तिर्ने करदाताको फोटो सबैले देख्नेगरी राख्ने कार्यक्रम ल्याएको  छ । गाउँपालिकाले अति विपन्न परिवारको पहिचान गरी त्यस्ता परिवारका सदस्यको मृत्यु हुँदा ५ हजार नगद सहयोग गर्ने कार्यक्रम ल्याएको छ । 

सुन्दरहरैचा नगरपालिकामा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । दशौं नगरसभामा पेश भएको बजेटमा प्रत्येक वडालाई १ करोड ५३ लाख रुपियाँ दरले सिलिङ तोकिएको छ ।

सुशासन तथा संस्थागत विकास शीर्षकमा २५ करोड २ लाख ३७ हजार १ सय ३७ रुपियाँ छुट्ट्याइएको छ । पूर्वाधार विकासतर्फ २९ करोड ७३ लाख ५० हजार रुपियाँ विनियोजन भएको छ । उता उर्लाबारी नगरपालिकाले ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपियाँको अनुमानित आय ब्यय सार्वजनिक गरेको छ । 

उर्लाबारी नगरपालिकाले ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपियाँको अनुमानित आय ब्यय सार्वजनिक गरेको छ । नगर उपप्रमुख मीना खतिवडाले आगामी आर्थिक बर्षको आयतर्फ आन्तरिक आम्दानी ७ करोड ५५ लाख ५३ हजार, संघीय सरकार राजस्व बाँडफाँडतर्फ ११ करोड ३२ लाख ४७ हजार, संघीय सरकार वित्तीय समानिकरणतर्फ १८ करोड रुपियाँ आम्दानी हुने बजेट प्रस्तुत गर्नुभयो । 

यस्तै चालू तथा प्रशासनिक खर्च तर्फ १४ करोड ९६ लाख ८७ हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम १ करोड, नगरपालिकाको समपूरक कोष तर्फ १ करोड ५० लाख, भवन निर्माणतर्फ २ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यतर्फ ६ करोड ६५ लाख, विपद् व्यवस्थापन कोषमा १ करोड, आकस्मिक कोषमा २५ लाख, मर्मत सम्भार कोषमा १ करोड २५ लाख, नगरपालिकाका विषय क्षेत्रगत योजना तथा कार्यक्रम एकमुष्ट रकम २९ करोड ८३ लाख ४७ हजार ९ सय ८० गरी कुल खर्च ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० रकम व्यवस्था गरेको छ ।

यस्तै, पथरी शनिश्चरे नगरपालिकाले १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख देवीमाया काफ्लेले चालु खर्चतर्फ १७ करोड ३७ लाख ५६ हजार ४० रुपियाँ र पुँजीगत तर्फ १ अर्ब ९ करोड ७४ लाख ८५ हजार ४ रुपियाँ खर्च हुने अनुमानको बजेट नगरसभामा प्रस्तुत गर्नुभयो ।