ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, भदौ ५ गते । ताप्लेजुङमा यस वर्ष करिब ८० प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा धान खेती हुने सबै जमिनमा रोपाइँ हुन नसकेको हो ।
यहाँ जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा सबै ठाउँमा रोपाइँ हुन सकेन । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन मसान्तसम्ममा कुल ७९.७८ प्रतिशत मात्र रोपाइँ भएको छ । धान खेती लगाउने समय सकिएकाले जिल्लामा यस वर्षको रोपाइँ पनि करिब सकिएको ज्ञान केन्द्रले जनाएको छ ।
भदौयता रोपिएको धान नफल्ने हुँदा जिल्लाका किसानले साउनभर मात्र रोपाइँ गर्ने गर्छन् । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार गत वर्ष साउन मसान्तसम्ममा ९८.५० प्रतिशत रोपाइँ भएको थियो । यहाँको अधिकांश क्षेत्रमा आकासे पानीको भरमा रोपाइँ हुने गर्छ ।
जिल्लाको कुल पाँच हजार ६६६.३२ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गर्ने गरिएको छ । वर्षा नभएका कारण यस वर्ष धान खेती हुने करिब एक हजार १४५.७३ हेक्टर जमिन बाँझो नै रहेको छ । रोपाइँ हुन नसकेको खेतमा दाललगायतका बाली लगाएको स्थानीय किसानले बताएका छन् । जमिन बाँझो राख्नुभन्दा फल लागे वा नफले पनि दाल खेती लगाएको सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका किसान भवानी रिजालले बताउनुभयो ।
रोपाइँ नहुँदा भात खाने समस्याभन्दा पनि घरमा पालिएका पशुचौपायालाई खुवाउने पराल नहुने स्थानीयको चिन्ता छ । रोपाइँ गरेका किसानले बेलगुटी, भँगेरे, अट्टे, मनिपुरेजस्ता पुराना रैथाने जातका धान रोपेका छन् । केही किसानले सुक्खा–१, खुमल–४ जस्ता उन्नत जातका धान लगाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।