नेपाल बहुजातीय, बहुसांस्कृति, बहुभाषिक तथा बहुधार्मिक राष्ट्र भएको हुँदा यहाँ आफ्नो धर्म अनुरूपका विशेष चाड पर्व मनाउने परम्परा आदिकालदेखि नै रही आएको छ । तिज भन्ने वित्तिकै नेपाली समाजका हिन्दु धर्मावलम्बी नारीहरूको प्रतिविम्ब मानसपटलमा झल्किन्छ तर अहिले यो चाड सबै नेपाली महिलाको साझा बन्दै छ । विविध पर्व तथा संस्कृतिको आआफ्नै विशेषता र महìव रही आएका छन् । तिनै विविध पर्वमध्येको विशेष पर्व हो तिज । जातीय विविधता अनुसारको धर्म, संस्कृति, रीतिरिवाज र परम्परा नै नेपालको अनुपम उदाहरण र विशेष चिनारी पनि हो । चेलीहरूको महान् र विशेष पर्वका रूपमा तिजलाई लिने गरिन्छ । परदेशमा रहने सम्पूर्ण हिन्दु नरीहरूले समेत तिजलाई हर्ष र उल्लासपूर्ण ढङ्गले मनाउने गर्दछन्, जसले गर्दा नेपाली संस्कृति र परम्पराले विदेशी भूमिमा समेत आफ्नो अस्तित्व कायम राखेको पाइन्छ । यो हाम्रोनिम्ति पक्कै पनि गौरवको विषय हो ।
पार्वतीले शिव स्वामी पाऊँ भनी शिवलिङ स्थापना गरी निराहार व्रत बसी शिवमा एकचित्त भई कठोर व्रत गरी तपस्या गर्दा व्रतको प्रभावले शिवजी प्रकट भई चिताएको कामना पूरा होस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह भएको र त्यस दिन भाद्र शुक्ल तृतीय रहेकाले सोही दिनलाई नेपाली हिन्दु नारीले उत्सवका रूपमा मनाउने गरेको पाइन्छ । मूलतः भगवान् शिव र पार्वतीले वर–वधूको सम्बन्ध स्थापित गरेको दिनको स्मरण गर्दै तिजको व्रत बसी एकाग्रह भई शिव–पार्वतीको पूजाअर्चना गर्ने धार्मिक परम्परा रहिआएको छ । विवाहित महिलाले आफ्ना पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गरी व्रत बस्ने र अविवाहित नारीले असल र योग्य वर प्राप्तिको कामना स्वरूप व्रत बस्ने प्रचलन रहेको पाइन्छ । यस दिनमा पति–पत्नी दुवै व्रत बसी एकअर्काको दीर्घजीवनको कामना गर्न पनि सकिन्छ । तर पुरुषहरूले पनि शिव–पार्वतीको आरधना गर्न हुन्छ । तिजबाहेकका दिन पुरुषले पनि शिव पार्तवतीको पूरा गरेकै हुन्छन् । यसरी श्रीमान् र श्रीमतीले संयुक्त रूपमा शिव र पार्वतीको पूजा गरेर तिजको नयाँ भाष्य तयार गर्नु पर्छ । यस्तो भाष्यमा लैङ्गिक समानता पाउन सकिन्छ । विगतमा यस्तो अभ्यास रहेको पनि थियो । यसो गर्नाले पति पत्नी बिचमा स्नेह, प्रेम, सद्भाव जागृत भई पारिवारिक मिलनको वातावरण सिर्जनामा सहयोग मिल्दछ । एक आपसमा रिस, राग, र वैमनस्यता जस्ता खराब भाव र विचारबाट आफूलाई जोगाई सफल दाम्पत्य जीवनको मार्ग अवलम्बन गर्न टेवा पुग्दछ । पवित्र मन, शुद्ध वस्त्र धारण गरी एकाग्रह भई शिव पार्वतीको आराधना गर्नाले दुवैबिच आत्मविश्वस र सद्भाभाव पैदा हुन पुग्छ । पति–पत्नी बिचमा बलियो सम्बन्ध कायम राख्दै मर्यादित र आदर्श सम्बन्ध स्थापनाको निमित्त पनि यो चाडले विशेष महìव राख्छ ।
तिज केवल नाचगानका लागि मात्र नभई शरीर, मन र आत्माको शुद्धिका लागि गरिने व्रत र उपासना पनि हो । तिज भन्दैमा एक महिना अगावै घरबाहिर पार्टी प्यालेसमा जम्मा भई दर खाने, बस्ने रङ्रमाइलो गर्ने मात्र होइन । यस्ता गतिविधि र चलनले हाम्रो रीतिरिवाज र चाडपर्व मनाउने नेपाली संस्कार र परम्परामा नै नकरात्मक प्रवृत्तिको हाबी हुन पुग्दछ । तिजको धार्मिक तथा सांस्कृतिक महìवमा आँच पुगी तिजको अस्तित्व नै धराशायी बन्ने जोखिम निम्तिन सक्छ । चाडपर्वका कारण आर्थिक अभावको भार बहन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना कदापि हुनु हुँदैन । सरल, सहज तरिकाले धार्मिक मान्यता अनुरूप तिज मनाउनु नै श्रेयस्कर हुन्छ । तिज मात्र होइन कुनै पनि चाडपर्व बोझिलो, खर्चिलो र भड्किलो हुनु हुँदैन ।
विशेष गरी यस पर्वमा छोरी, चेली आफ्ना माइती र मामाघर गई दर खाने, रमाइलो गर्ने परिपाटी र परम्परा छ । दरमा खाजा, खिर, सेल, दही, केरा, मिठाइ जस्ता परिकार खाने चलन रही आएको छ । दर भनेर विशेष गरी तिजको अघिल्लो दिन खाइने भएकाले यसमा माछामासुरहितको शुद्ध खाने गरिन्छ । हिजोआज कसैकसैले दरमा माछा मासु समावेश गरेको पाइन्छ भोलिपल्ट व्रत र उपासना गर्ने भएकाले शुद्ध भोजन गर्नु नै बढी उपयुक्त मानिन्छ । तराईमा भन्दा विशेष गरी पहाडी इलाकामा तिजको रौनक छुट्टै किसिमको रमणीय र अत्यन्तै मनमोहक हुने गरेको मेरो आफ्नो व्यक्तिगत देखाइ र भोगाइ छन् । मामाघर पहाड स्याङ्जा भएको हुँदा यसको प्रत्यक्ष अनुभूति गर्ने संयोग जुरेको पनि छ । घाँस काट्न हिँडेका दिदीबहिनीहरू घाँस काट्दै तिजका गीतले वनपाखा रनक्कै रन्किन्थ्यो । घाँसको भारी पु¥याई एकैछिन बसी यस्ता गीत–
सुन्तलीको डालियैमुनि नदी है सलिसली बगी आयो
बाबाआमा मुगलान पारि सम्झी यो मन रुन्छ बरिलै
गीत गाउँदै नाचगान गरी रमाउँदै घाँसको भारी बोकेर घरमा आउँथे । छोरीचेली आफ्ना मनका भावहरू राम्रा राम्रा लय र भाकामा गीतको माध्यमबाट व्यक्त गर्दै आफन्तसँग रमाउँदै नाचगान गरी माइती घरको आँगनीलाई निकै रमाइलो वातावरणले झकिझकाउ र रमणीय बनाउने गर्दछन् । चेली र माइतीघरको न्यानो माया प्रेम र सम्बन्ध पनि यो चाडले दर्साउने गर्दछ । हुनेखानेले मात्र नभए हुँदाखानेले पनि तिज जस्तो चाडमा आफ्ना चेलीबेटीलाई जसरी भए पनि जम्मा गरी मिठो मसिनो खाने सामग्रीको जोह गर्ने प्रचलन रहिआएको कुरा यो गीतबाट अनुमान गर्न सकिन्छ ।
घरमा नभए नि खोजेर ख्वाउनी हो
जाऊ भो बाबु दिदी लिन कति रुवाउने हो ।
यस्ता गीत तथा परम्पराले माइती र चेलीको सम्बन्ध कसिलो बनाउँछ । माइतीमा जे खाए पनि मिठो हुन्छ, यसै भनिएको होइन ।
पहिले पहिले छोरीलाई सानो उमेरमा नै विवाह गरी पठाउने चलन हुँदा आफ्ना पीडा र संवेदनाहरू प्रस्ट रूपमा राख्न र व्यक्त गर्न पनि नसक्ने अवस्था थियो । मनभरिका वेदनालाई पोको पारी तिजका गीतबाट फुकाउँथे हाम्रा चेलीहरू । घरमा पति, सासू, नन्द र अन्य परिवारजनले दिएका दुःख र कष्ट पनि गीतकै माध्यमबाट व्यक्त गरेर मनलाई औषधी मलम लगाउने गर्दथे । छोरा नजन्मेकै कारण पतिले दोस्रो विवाह गरी सौता ल्याएको र तत्पश्चात उनले गरेको व्यवहार सहन गर्दै मिठा मिठा भाका हाली गीतबाट यसरी व्यक्त गर्ने गर्दथे ।
नेपाल जाने यो मूल बाटैमा बरिलै सुनको जाल पाएँ नि बरिलै सुनको जाल पाएँ
सौताने स्वामीको दोहोरी माया बल्लपो चाल पाएँ नि बरिलै बल्लपो चाल पाएँ
खोलीको ढुङ्गी टपक्कै टिपी बरिलै चौपारी चिठौलाँ नि बरिलै चौपारी चिठौलाँ
गएको जोबान फेरि आम्छ भने बरिलै पैसैले किनौला नि बरिलै पैसैले किनौला
उमेरले पाको हुनु भएका वृद्ध हजुरआमाहरू भने प्रायः भगवान्का गीतमा बढी रुचि पूर्ण ढङ्गले गाउने र नाच्ने गर्नु हुन्थ्यो ।
काहाँमा जान्छ्यौ रानी चरी, बगाल बरिलै भगवान भेट्न
भगवान भेट्न के के पाउर चाहिन्छ, यति मलाई बताइदेऊ
एकुमा चाहिन्छ श्रीखण्ड चन्दन, दोसरी बेलपत्र नि बरिलै दोसरी बेलपत्र
समय गतिशील छ । विज्ञान र प्रविधिले छलाङ मारेको वर्तमान अवस्थामा हामीले मनाउँदै आएका चाडपर्व मनाउने तरिका र गीतमा व्यक्त गरिने विचार, भावमा पनि व्यापक रूपान्तरण हुँदै गएको पाइन्छ । महिलाहरू शिक्षा र चेतनका दृष्टिले सक्षम र शक्तिशाली भइसकेका छन् । नारी उत्थान, महिला समृद्धि र शसक्तीकरणका कुरा गीतमार्फत राखी घर समाज समुदाय र सिङ्गो राष्ट्रलाई नै सचेत गराउने किसिमका गीत गाउने गरेको पाइन्छ । देशमा भएका विकृति विसङ्गतिप्रति विरोध गर्दै समाज र राष्ट्र सुधारका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने खालका गीत सिर्जना गरी समूह समूहमा गाउने प्रचलन पनि अहिले व्यापक रहेको पाइन्छ ।
विश्वमा घटित घटनाप्रति चासो राखी आफ्ना दृष्टिकोण र विचार व्यक्त गर्न सक्षम भइसकेका नारीले हाम्रो संस्कार र परम्पराको जगेर्ना गर्दै महिला सशक्तीकरणका निमित्त साहस र शक्ति प्रप्तिको प्रतीकका रूपमा यस चाडलाई लिनुपर्ने मेरो व्यक्तिगत दृष्टिकोण र धारणा छ । अहिले हाम्रा नेपालका युवा जमातमा पाश्चात्य संस्कृतिप्रतिको मोह दिनदिनै बढ्दै गर्दा हाम्रा परम्परागत मौलिक संस्कृति कतै धराशायी बन्ने त होइन ? हामी सबैले सोच्ने बेला आएको छ । मधुपर्क