• ४ भदौ २०८२, बुधबार

दिदीबहिनी विशेष

तिज परम्परा र परिवेश

blog

भदौ भन्नेबित्तिकै कृष्णाष्टमी र तिजको सम्झना आइहाल्छ । तिजको रौनक र दिदीबहिनीको जमघटको याद आइहाल्छ । एक परम्परा चेलीलाई जन्मघरसँग चाडपर्वको बहानामा भए पनि सम्झिने दिन हो । जति नै दुरी रहोस्, भौतिक रूपमा यो तिज पर्वले दुरी मेटाउने भरपूर प्रयास गरेको हुन्छ । यस कारण त हामी तिजका अघिल्ला पछिल्ला दुई चार दिनहरूमा अस्वाभाविक रूपमा प्रौढावस्थाका महिलासमेत कोसेली बोकेर यात्रा गरिरहेका दृश्य देख्छौँ । उनीहरूका ओठमा मुस्कान झल्किएको देख्छौँ । हिजो सम्बन्ध नटुटोस् भनेर परिकल्पना गरिएका यस्ता चाडको महìव यस्तै रहिरहोस् भन्ने हाम्रो चाहाना हो । कतिपय अवस्थामा चाडहरूले आफ्नो रूप फेरेका हुन् कि भन्ने आभास पनि हुन थालेको छ । हिजो एउटा सिङ्गो गाउँ मात्र होइन, परपरका दुई चार गाउँ एक ठाउँमा जम्मा भएर आफ्ना मनका सुखानुभूति दुःखानुभूतिलाई सङ्गीतमय बनाई जीवनको भोगाइलाई उजागर गर्दथे । 

समयको गर्भमा के के थपियो, कसैले बुझेनन् । जे जे नयाँ देखियो, त्यही सुन्दर मानियो र आफ्ना प्राचीन सुन्दर कला संस्कृतिका धरोहरमा आफैँले जालो लगाइयो र स्वयं हाम्रा आफ्ना सम्पत्ति हामीलाई नै नौलो र अपरिचित जस्ता लाग्न थाले । आज हामी आफ्ना सन्तति कसरी टाढा पठाउने र कसरी सन्ततिले विकसित मुलुकमा बसेर आयआर्जन गर्ने । यही नै जीवन हो र यही नै सुख होला भनेर यतैतिर मोडिएका छौँ । बस एक पैसाले जिन्दगीको हरेक सुख किन्न सकिएको जस्तो सोच उत्ताउँलिँदै गएको समाजमा हाम्रो परम्पराबाट हराउँदै गएका हाम्रा सन्ततिका अनुहार खुब गतिलो बनेको मानिन थालेको छ । नाम पुरानो हुनु, परिचय मातापितासँग जोडिनुले अवश्य कला र संस्कृति पनि पुस्तान्तरण भएको व्याख्या गरेको हुन्छ तर नजानिँदो पाराले अलप भएको हाम्रो चिनारी हिजो आफ्नो तपस्या ध्यान शक्तिका अथक प्रयासले निर्माण गरेको पुण्यात्मा, दया, दान, अर्पण जस्ता भावनामा अङ्कुश लगाउन अलिकति पनि लज्जा महसुस गर्न नचाहने मनहरूले गाँसिँदै आएको वंश र यसको लहरोसमेत अस्वीकार गरी फरक गन्तव्यमा दौडिएका देखिन्छन् । बरु विकसित मुलुकका फरक संस्कारमा हुर्किएका मानवहरू हाम्रो संस्कृति पच्छ्याउँदै जीवनलाई अलौकिक बनाउने होडमा होमिएका छन् । 

धनसम्पत्ति, सुखसुविधा मात्र शानन्दी जीवनका परिचय होइनन्, कहिलेकाहीँ एक छाक भोकै बसेर पनि एक आनन्द र सुखानुभूति बटुल्न सकिन्छ भन्ने संस्कारबाट प्रेरित यो तिज पर्वमा उपवास रहे पनि नाचगान गरी शिव आराधाना गरिने अनौठो मङ्गलमय परम्पराको आजसम्म केही समुदाय संरक्षणमा लागेका पनि छन् । यो नै संसार चलायमान राख्नका लागि र वंश वंश जोडिएका इतिहास बन्नका लागि महìवपूर्ण उदाहरण हुन् । 

आजभोलि मान्छे मान्छेबिचको स्नेहिल सम्बन्धमा जालो लागेको महसुस भइरहेकै बेला, संसार साँगुरिएको भन्दै अपव्याख्याले सुषुप्त मस्तिष्कहरूमा नराम्ररी डेरा जमाउन सफल एक संयन्त्र बनिरहेको बेला कता कता संसार एक्लै भौँतारिरहेको पो होला कि भन्ने सशङ्कित भाव बोकेको मानव जगत्ले सङ्गठन, ऐक्यबद्धता, मिलन जस्ता सामाजिक भावनाको जगेर्ना गर्न चिन्ता बोकेर यसको गन्तव्य खोज्न प्रयासरत पनि होलान् भन्ने लाग्छ । हो यही आकलनको द्वार प्रवेश गर्दा भेटिन्छन् आस्था बोक्नेहरू, परिवार खोज्नेहरू, चिनारी पस्किन चाहनेहरू । आखिर चिनारी जन्माउन पनि यसपूर्व चिनारीको उद्गम भइसकेको हुनु पर्छ । त्यही चिनारीमा थपिने हो एक उज्यालो अक्षरले कोरिने, एक चम्किलो ताराको संज्ञा बोकेको नाम । हो नाम पुरानै हो । उही नाममा उज्यालो कोरिन्छ र गाउँ, समाज, देश हुँदै विश्वले चिन्ने मौका पाउँछ । आखिर नाम पुरानै हो । हो आफ्नो पहिचानपूर्व पिताजीको पहिचानले मलाई देखाउँथ्यो, माताजीको आँचलले ममा संस्कार भरिएको मानिन्थ्यो, मेरा सन्तति को पनि तबसम्म यस्तै हुने छ पहिचानबारेको वास्तविकता । 

यसरी सोच्ने मानसपटल अब लोप हुँदै गएका छन् । जो बाँकी छन्, उनीहरूमा क्षीण बनेका शक्ति आशा बोकेर पर्खिएका होलान् । सायद, वयोवृद्ध होलान् । सहारा कतै भेटिएला र गन्तव्यसम्म पुग्ने बाटो बन्ला, भनी आशातीत होलान् हृदयहरू । जो जवान होलान्, ती आकाश नै छेडिने गरी शक्ति प्रदर्शन गर्दै उडिरहेका र हुन सक्छ आफ्नै अस्तिìव के थियो, न खोजी न पहिचानको इच्छा, वश एक धुन, सफलताको धुन, सुख र सुविधाको धुन, व्यस्त दिन, उस्तै व्यस्त रात, साँच्चै बिर्सिएको फुर्सद र थकान, काम अनि काम, अनि फेरि काम, छेउमा सँगै बर्सौंदेखि काम गर्ने साथीको नामसम्म सोध्न समय ननिस्किएको धुनको कुहिरोमा लुकिरहेका एक जत्था मान्छेको हुल । निरन्तर संसार हेर्छु र चिन्छु भनेर गुण छोडेर हिँडेका बचेराहरू । पखेटा भएका बचेराहरू आकाश मार्गबाट संसार घुमेर पनि गुण फर्किए जस्तै पखेटा नभएका तर विमानरूपी पखेटाको सहारामा उडेका बचेरा गुणमा बाआमाले अन्तिम श्वास छोड्दा पनि फर्किएनन् । हो ती बचेराद्वारा लोप हुँदै गएको परम्परालाई पुर्खाले दिएको एक संस्कृतिको उपहार सकीनसकी जोड्न आँट गरेको जस्तो लाग्छ हाम्रो हिन्दु संस्कृति अन्तर्गत पर्ने यो तिज पर्व । हाम्रा पुर्खाहरूले संस्कृतिको यो रूप कोरेका पर्वहरू यही अपनत्वलाई युगौँसम्म जीवन्त राख्नकै लागि हुनु पर्छ । 

सोच्दै जाँदा यो तिजमा भोकै बस्नुपर्ने चलन पनि कहीँ अभाव र अभावको आँगनमा जम्मा भएका चेलीको आँखा अश्रुरहित बनून्, ओठमा मुस्कान यथावत् रहोस् र त्यो अभाव बोकेको आँगन जीवन बाँच्दासम्म शुभ मानियोस् । यस आँगनमा जुटेका चेलीको आशीर्वाद र स्नेह छल्कियोस् दृश्य बनेर, हरेक हृदयमा । उपवास र जमघटकाबिच सम्बन्ध यस्तो पो होला कि ? अहिले लोभले ग्रसित मनहरूले बुझ्न कठिन होला, पहिलेका उदार, दानी, ऋषितुल्य मनहरूको कथाले बनाएको र बचाएको आस्थालाई । धर्म भनेकै रिस, ईष्र्या, लोभ, घृणालाई तिरस्कार गरेको र प्रेमलाई अँगालेको । धर्म भनेर व्याख्या गरेको चित्र यस्तै हुनु पर्छ होला ।

एक आमा तिज नजिकिँदै गर्दा ती दरका नामले प्रचलित भोजनका परिकार जुटाउन कसमकसमा हुन सक्छिन् । उपवासका दिनसमेत मन्दिरमा पुगेर पूरा गर्नुपर्ने रीतका सामग्रीको खोजी, विशेष स्नान र ऋषिमुनिहरूको सम्मानमा एक फरक आराधनाका लागि जुटेका नारी मनहरूका निमित्त तयार गरिने र ग्रहण गर्ने भोजनको मात्रा दुगुना, चौगुना एकै दिनमा हुनु स्वाभाविक हो । यही चौगुना खर्चको कटौती होला निराहार उपवासको परिकल्पना । यसरी हेर्दा पनि टाढिएका सदस्यको सोधखोज गर्ने, प्रत्यक्ष वार्ता गर्ने र सुरक्षाको गुहार लगाउनेसमेत यही मौका बनाइएको हुनु पर्छ प्राचीनकालमा । साच्चै दूरदर्शी हुन् ती पुर्खा जसले यो बन्धनको शैलीको परिकल्पना ग¥यो । अन्यथा एक दुई वर्ष नपुगेकी नाबालिका छोरीलाई एक घरमा थुनेर एक परपुरुषसँग घुम्न, महिनौ दिनसम्म आनन्द मनाउन हराउने आमा भेटिने अहिलेको युगले त मान्छे मान्छेबिच कुनै जिम्मेवारी नै नरहने दृष्टान्त खडा गरेको देखिन्छ । 

एक चेलीले निर्धक्क विरह बिसाउन वातावरण बनाइएको हुन्छ तिज पर्वको सहारामा खडा रहेर । अलग बनेका, पराई भनिइएका दाजुभाइबिच पुनः पुनः जोड्ने स्नेहको डोरी मजबुत बनाउन खुब बलियो लिसो बनेको छ तिज । यो कहिले नउक्किने बनाउन सधैँ प्रयोग गरिएको छ यो पर्वरूपी अनमोल पल । अर्को पाटोबाट हेर्दा विश्वास बनाएर पाले पुण्य मारे पापका वचनबद्धताका साथ नयाँ परिवारमा सुम्पिएका चेलीको बेलाबखतमा सुरक्षाको चेकजाँच पनि नहोला भन्न सकिँदैन । दोहोरो परिवारमा एकअर्काप्रति जिम्मेवार बनाउँदै सामाजिक बन्धनमा गाँसिएको यो समाजको परिकल्पनामा तिज पर्वले बलियो छाप छोडेको छ भन्दा अत्युक्ति नहोला । पारिवारिक मात्रै होइन, सामुदायिक जमघट र प्रेम साटासाटको परिदृश्य हुन्छ यो पर्वमा । एउटा विशाल आँगनको आवश्यकता पनि यही पर्वले जोडेको हुनु पर्छ । अन्यथा आजका मान्छे त खाली जमिन कसरी छोप्ने भन्नेमा तल्लीन देखिन्छन् । 

सांसारिक सुखभोग, मोहदेखि पर रहने शिव आराधनाद्वारा व्यथित मनलाई नियन्त्रित गर्न सक्ने शक्ति मिलोस्, जन्मघर छोडेर एक अन्जान घरलाई स्नेहले बाँधिरहन अङ्कुरित प्रेमको सीमा अझ फैलिएर घेरा बृहत् बनोस् भन्नका लागि नै यो आराधनासमेत परिकल्पना गरिएको पो होला मलाई यस्तो लाग्छ । त्यस्तै कृष्णाष्टमीको उपवास र पूरा विधि पनि प्रेमको प्रतीकका रूपमै व्याख्या गरिएको अनुभूति हुन्छ । आखिर समेट्ने, समाजको निर्माण गर्ने धारणा बनेको त प्रेमकै तराजु बढी ढल्किँदा हुनुपर्ने हो । जुन परिकल्पनामा बयोवृद्ध आँखा र मनहरू आँगनभन्दा माथिको पिँढीबाट पराई मानिएकी चेली र आफ्नै आँखा वरिपरि तितोमिठो बनाउँदै जिन्दगीको परिभाषामा आफ्नो आफ्नो तर्क थपेका छोराहरू बिचको अनमोल मिलन र स्नेहले सुखको भाग थपिएको कथा नयाँ पुस्तामा हस्तान्तरण हुने सदिच्छा बोकेर तिजको शुभकामना बाँडिरहेका होलान् । सबैमा तिज अनमोल बनोस् भनेर मनमनै आशाका फूलहरू फुलाइरहेका होलान् ।  मधुपर्क