• १३ साउन २०८१, आइतबार

उच्च शिक्षामा लगानी बढाउन राज्यमन्त्री श्रेष्ठको आह्वान

blog

फाइल तस्बिर

काठमाडौं, असार १० गते। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ। 

नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो। शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढ्न पनि निजी क्षेत्रलाई सचेत गराउनुभयो।

नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताउनुभयो। त्यसका लागि सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने र त्यसका लागि निजी क्षेत्रले गर्दा हुने उहाँले बताउनुभयो। 

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो आर्थिक गतिविधि हुने भएकाले यसमा लगानी गर्नेको भविष्य राम्रो रहेको दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाल उच्च शिक्षाको एउटा हब हुनसक्छ। उच्च शिक्षामा लगानी गरेर एउटा ठूलो आर्थिक गतिविधि गर्न सकिन्छ भन्ने त्यो चीजमा सबै लागौं।’’

नेपाललाई ११ वटा विश्वविद्यालयले नपुग्ने उहाँको भनाइ छ।  ‘‘हाम्रो मुलुकलाई ११ वटा विश्वविद्यालयले पुग्नेवाला छैन। अर्को २५ वटा विश्वविद्यालय चाहिन्छ भने बरु सरकारले एउटा आधारमा कस्तो विश्वविद्यालय हुने, त्यसका पूर्वाधार के चाहिन्छ ? कस्तो किसिमका संस्थालाई हामीले विश्वविद्यालय दिने हो ? यी सबै कुरा भए शिक्षाको भविष्य छ।  शिक्षा र स्वास्थ्यलाई पूरा व्यापार मात्रै नठानेर सेवामूलक व्यवसाय गर्छ भनेर लाग्नुस्’’, उहाँले भन्नुभयो। 

राज्यमन्त्री श्रेष्ठले ठूलो लगानी शिक्षा आर्जनका लागि विदेशिन नदिन सरकारले नेपाललाई शिक्षाको हब बनाउने नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न लागेको पनि बताउनुभयो। चार दिनसम्म चल्ने सो फेयरमा उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक सन्दर्भ सामग्रीबारे एकै थलोमा बसेर जानकारी पाउने व्यवस्था मिलाइएको बताउनुभएको छ।