• ३ भदौ २०८२, मङ्गलबार

दिदीबहिनी विशेष

समयको छालमा तिज गीत

blog

तिजमा लिन आउँछ मेरो सानो भाइले

सासूआमा भन्छिन् जान पाउनस् तैँले

मेरा घरमा चेली आउँछन् भाँडा माझ्नु पर्छ

तेरो भाइ फर्किएर उसकै घर जान्छ

तिजका यी गीतहरू मेरी आमा तिज आउनुभन्दा अघिदेखि नै गुनगुनाउनुहुन्थ्यो । आमाका दुई हातले कामलाई सुम्सुम्याउँदै गर्दा मुखले तिजका भाका गाइरहेको हुन्थ्यो । भाका हाल्दै तिजका यी गीत गाएपछि अब तिज आउन लागेछ भनेर मेसो पाउँथेँ म । उसो त भदौरे प्रकृतिले पनि तिज आएको सङ्केत गरेकै हुन्थ्यो । खेतका गरामा कलकलाउँदो धानबाली सिरसिरे हावामा बयली खेल्थ्यो । लाग्थ्यो, स्वच्छ हावा गाइरहेको छ । हरिया धानका बोट मन्त्रमुग्ध भएर नाचिरहेका हुन्थे । पाकेको मकै धमाधम घर भित्रिने व्रmममा हुन्थे । ती मकै डोकामाथि बसेर गाउँदै, रमाउँदै घर भित्रिएको आभास हुन्थ्यो । तिज आउन लागेको खबर यसरी पाइन्थ्यो त्यतिबेला अर्थात् विद्यालय पढ्दाका ती दिनहरूमा । हिजोआज पनि तिज आउन लागेको सूचना प्रकृति अनि गीतबाट नै पाइन्छ । सामाजिक सञ्जालमा तिज आउनु अगाडि नै तिजसँग सम्बन्धित गीत केही महिनादेख नै सुन्न र हेर्न पाइन्छ । अझ विशेष त युट्युबका च्यानलहरूमा देख्न पाइन्छ । साथै गीतसम्बन्धी चर्चा परिचर्चा आमसञ्चारका विभिन्न माध्यम र सामाजिक सञ्जालमा पढ्न, सुन्न र हेर्न पाइन्छ । जीवनका विभिन्न अवस्थामा फरक फरक माहोल, समय र अवस्थाले हरितालिका तिजका गीत, सङ्गीत र नृत्यले प्रभावित आएका छन् ।

हरितालिका तिज खास गरी हिन्दु नारीहरूले मनाउने एउटा विशेष चाड हो । यो विशुद्ध महिलाहरूसँग सम्बन्धित छ । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरूले व्रत बसेर शिवालयहरूमा गएर भगवान् शिवको आराधाना गरी नाचगान गर्दै रमाइलो गरेर मनाउँछन् । हरितालिका तिजको भोलिपल्ट गणेश चतुर्थी र पर्सिपल्ट ऋषिपञ्चमी पनि तिजकै अङ्गका रूपमा मनाइन्छ । शुक्ल तृतीयाको दिनमा निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । यसरी हेर्दा तिज चार दिनसम्म मनाइन्छ । यी चार दिनका आफ्नै विशेषता र महŒव छन् । यी चारै दिनलाई विशेष बनाउनुमा तिज गीतको पनि उत्तिकै महŒवपूर्ण भूमिका रहेको पाइन्छ । 

नेपाल बहुजाति, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश हो । त्यसैले पनि हामी निक्कै भाग्यमानी छौँ कि हामी नेपालमा मनाइने हरेक चाडपर्वको स्वाद लिन पाउँछौँ । हरेक चाडपर्व विशेषका भजन अनि गीतमा रमाउन पाउँछौँ । खुसीको माहोलमा झुल्न पाउँछौँ । सङ्गीतका तालमा आनन्दित हुन पाउँछौँ । भजन र गीतका शब्द र भावभित्रका गहन भावलाई चिन्तन गर्न पाउँछौँ । तीमध्ये हरितालिका तिजसँगै जोडिने गीतको त झन महŒवपूर्ण भूमिका रहेको पाइन्छ । नेपाली समाजमा तिजको आफ्नै महŒव रहेको छ । विशेष गरी विवाह गरेर गएका चेलीबेटीलाई माइती घरमा डाकेर घरमा भएका मिठा परिकार पकाएर नाचगान गर्दै, रमाइलो गर्दै अघिल्लो राति स्वादिष्ट दर खाने र हरितालिकाको दिन सामूहिक रूपमा पूजाअर्चना गर्ने, मन्दिर जाने, पूजा लगाउने र नाचगान गर्ने प्रचलन रहेको छ । यो पर्वलाई पतिपत्नी बिचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव बढाउने, सासूबुहारी, नन्दभाउजू बिचको सम्बन्धमा तीक्तताको भाव गीतमा पोखिए पनि वास्तवमा आपसमा सद्भाव, आत्मीयता र हार्दिकता जस्ता भाव पनि व्यक्त गरिने चाडको रूपमा लिइन्छ ।

हरितालिका तिजको यही आत्मीयता र हार्दिकता बाल्यकालमा म मेरा हजुरआमा, आमा, र छिमेकी महिलामा पाउँथेँ । त्यतिबेला घरका सबै महिलालाई दिउँसो सँगै देख्न पाउनु पनि अचम्मकै संयोग हुन्थ्यो । जुन न्यानो संयोग यही तिजले जुराइदिएको हुन्थ्यो । कस्तो व्यस्त जीवन । कामको चटारोले छोड्दै नछोड्ने त्यति बेलाका नारीहरूलाई । माइतीघरबाट अन्माउनुअघि मलाई आफ्नो जन्मथलोमा तिजका व्रत विधानभन्दा पनि बढी त तिजकै गीत र भजनले छोएको छ । जसले अहिलेसम्म पनि मनमष्तिष्कलाई मिठा अतित बनेर सुवासित बनाएका छन् । हजुरआमा, आमा, भाउजूहरू सौभाग्यको  प्रतीक रातो वस्त्र र रातै चुरा, पोते, धागो, सिन्दुर र शृङ्गारमा सजिएर नजिकको शिवालयमा जानुहुन्थ्यो । अघिपछि मन्दिरमा पूजा गरेर हतारिएर घर फर्किने आमाहरू तिजको दिन ढुक्कले मन्दिर परिसरमा बस्नुहुन्थ्यो । अनुहारमा खुसी फुलाउनुहुन्थ्यो । मैले अरू बेला सुनेकाभन्दा अलग भाकामा तिजको भाका हाल्नुहुन्थ्यो । सुरुमा भजन गाउनुहुन्थ्यो । त्यसपछि आफ्नै जीवनका भोगाइहरूलाई गीतका माध्यमबाट व्यक्त गर्नुहुन्थ्यो । मेरी हजुरआमाले त्यतिबेला गाउनुभएको तिजको एउटा गीत ‘सधैँभरि दुःख गर्छौ तिज आउँछ वर्षमा, आउन दिदीबहिनीहरू सँगै मिली नाचौँ हर्षमा’ अहिले पनि ताजा भएर मनमा बसिरहेको छ । हजुरआमाका यो गीतले त्यतिबेलाको समय बोलेको थियो । घरधन्दा र खेतीपातीको कामबाट कहिल्यै फुर्सद नहुने आमाहरू आफ्ना दुखेसा, पीडा, खुसी एकअर्कासँग बाँड्न पनि तिज नै कुरेर बस्नुहुन्थ्यो । 

हजुरआमाका उमेर समूहले तिजका यी गीत रेडियोमा खासै राम्रोसँग सुन्नुभएको थिएन होला । पढ्नु त भएकै थिएन । आखिर तिजका भाकामा सासूससुरा, नन्दआमाजूका खटन र बुहार्तन, श्रीमान्सँगको सुखद तथा पीडादायक सम्बन्ध, प्यारो माइतीघरको न्यानो सम्झनालाई कसरी शब्दमा लय मिलाएर गाउनसक्नुभयो कुन्नि ? आमाका पुस्ताहरूले हजुरआमाका पुस्ताका गीतभन्दा केही कदम अगाडि बढेर नारी अस्तित्व, स्वतन्त्रा र अधिकारका विषयमा रहेर गाउन थाल्नुभयो । वास्तवमा तिज गीत कथ्य रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको पाइन्छ ।

मैले अलि परिपक्व भएर बुझ्ने उमेर भनेको पचासको दशकको सुरुका वर्षहरू हुन् । यो समयसम्ममा पनि मेरो जन्मथलो भक्तपुर नजिककै नंखेल गाउँ भए पनि कति चेलीहरूले शिक्षाको पारिलो घाम ताप्न पाएका थिएनन् । कतिले त बिचमै विद्यालय छोडेर घरकै कामकाजमा आमाका हातलाई सघाउन पुगेका थिए । विवाह गरेर आउनुभएका काकी भाउजूहरूको अवस्था पनि त्यस्तै नै थियो । उहाँहरूले परिवार, समाजले छोराछोरीबिच गरेको भेदभावलाई तिज गीतकै माध्यमबाट पोखेको पाएँ । उहाँहरूले चेतनामूलक, अधिकारजन्य गीत गाउनु पनि त्यतिबेलाको समाज अनि समय बोल्नु नै हो । 

समय परिवर्तनशील र गतिशील छ । समयसँगै हाम्रा परम्परागत मूल्य मान्यता, विचार, मानव समाज र सभ्यतामा पनि नवीन प्रवृत्तिहरू देखा परेका छन् । यसको असर परापूर्वकालदेखि अनवरत रूपमा गाइँदै, सुनिँदै आएको तिज गीतमा पनि परेको छ । गीत मात्र होइन, तिजका नाचमा पनि यसको प्रभाव परेको छ । तिजका अवसरमा माइती गाउँमा दिदीबहिनी, साथीसङ्गिनी भेला भएर मादल बजाउँदै, थप्पडी मार्दै हर्षोल्लासका साथ दोबाटोमा या त शिवालयहरूमा आफ्ना खुसी, हर्ष, पीडा, दुःख, वेदना, परम्परागत संस्कार, माइती जान नपाएकाहरूका व्यथाका साथै सम्झना, महिला हक, अधिकार, जागरण र चेतनामूलक विषयमा तिजको लोक भाका मिसाएर गीत गाउँदै कम्मर मर्काएर समूहमा नाचेका थियौँ । परिवर्तित समयसँगै बिस्तारै आफ्नो मौलिक लयलाई पछि पार्दै रेकर्डेड तिज गीत स्पिकरमा बजाएर घरैमा नजिकका दिदीबहिनी, आमा र भाउजूबुहारीसँग नाच्न थालियो । शिवालय तथा मन्दिरहरूमा अहिले त भजनमण्डलीलाई डाकेर भजन पनि आधुनिक गीतका लयमा ढालेपछि एकतमासले एकअर्कालाई हेर्दै, खुसी हुँदै भजनका शब्द र सङ्गीतका तालमा नाच्न थालियो ।

हिजोआज विद्युतीय माध्यममा देखापरेका तिज गीतका स्वरूप र प्रस्तुतिमा पनि निकै परिवर्तन देखिन थालेको छ । पछिल्ला समयमा मनोरञ्जनमुखी तिजका गीतहरू नै बढी मात्रामा सञ्चार माध्यममा भेटिएका छन्  । तिजको मौलिक लोकगीतभित्र आधुनिक र पप गीतको शैली भित्रिएको पाइन्छ । मात्र रमाइलोका लागि, भाइरल हुनका लागि, मनोरञ्जन दिन र लिनका लागि तिज गीत गाइए जस्तो, नाचिए जस्तो हुन थालेका छन् । विशेष गरी मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको तिज गीत गाउनुको सट्टा रेकर्डेड तिज गीत जस्ता लाग्ने गीतमा हामी रमाइरहेका छौँ । शब्द, सङ्गीत र प्रस्तुतिले तिजको मर्म बोक्न सकेको छैन । वर्तमान समयमा तिज गीतका भाव, विषयवस्तु, शैली र उद्देश्यमा व्यापक परिवर्तन आएको पाउन सकिन्छ । अझ भड्किला गीतलाई नै मलजल हुने गरी टिकटक बनाइएको पाइन्छ । टिकटक र युट्युबमा गएको भ्युजका आधारमा गीत हिट भएको भन्ने भ्रामक सोच विकसित भएको छ । त्यस्तै गीतमा वर्तमान पुस्ता रमाइरहेको छ तर यसो भन्दैमा सबै गीतलाई एउटै कोटिमा भने राख्न मिल्दैन । केही गीतहरूले तिजको मर्मलाई बचाएका भने अवश्य छन् ।

प्छिल्लो समयमा विशुद्ध महिलाले गाउने र नाच्ने तिजका गीतमा पुरुषहरूले पनि गाउन र नाच्न थालेका छन् । युगल गीत गाइएका छन् । पुरुषहरूको सहकार्यसँगै लोकदोहोरीको शैलीमा गाइएका तिजगीतका शब्द परिवारसँगै बसेर सुन्न नसकिने खालका छन् । अझ गीतका भिडियोमा देखाइने भड्किलो प्रस्तुतिले हाम्रो समाज कतातिर गइरहेको छ ? भनेर सोच्न बाध्य बनाउँछ । विकृति र विसङ्गतिलाई अँगालेर चर्चाकै लागि आखिर किन यति सस्ता भइदिन्छन् तिज गीतसँग जोडिएका व्यक्तिहरू । रचनाकार हरेक गीतको जरा हो । उसकै आधारमा गायक र सङ्गीतकारदेखि अन्य पक्ष फैलिन पाउँछ, फुल्न पाउँछ । तिज गीतको परिकल्पनाकै सुरुवातमा एउट सर्जक सचेत भएको पाइँदैन । सर्जक सचेत नभए पनि गाउने व्यक्तिले आवाज दिँदा, सङ्गीतकारले सङ्गीत भर्दा सोच्नुपर्ने हो । त्यसै गरी भिडियो बनाउँदा यसमा संलग्न व्यक्तिहरूले त अझ सचेत हुनुपर्ने हो । म कसरी कुन रूपमा प्रस्तुत हुँदै छु भन्ने कुरामा तर सबका सब क्षणिक चर्चा र व्यावसायिक बन्न पुगेका छन् । न सुन्न मिल्ने, न हेर्न मिल्ने गीतमै टिकटक बनाएर मेरो भ्युज कति गयो भन्ने होडबाजीमा लागेकाहरू देख्दा हाम्रो समाज कता दौडिरहेको छ भनेर एउटा सचेत नागरिकले सोच्नु नै पर्छ । 

तिज गीत मात्र नभएर तिजसँग सम्बन्धित हरेक पक्षमा विकृति र विसङ्गति भित्रिएका छन् । महिनौँ लगाएर दर खानु, आर्थिक भार पर्ने गरी भड्किलो रूपमा तिज मनाउनु, आधुनिकताको नाममा पारिवारिक सम्बन्धलाई नै धराप पार्ने गरी प्रस्तुत हुनु वास्तवमा राम्रो हुँदै होइन । मैले तिजगीतलाई राम्ररी अनुभूत गरेका बिस वर्षका पनि पछिल्ला वर्षहरूमा मौलिक तिज गीतभन्दा धेरै मात्रामा मनोरञ्जनमुखी, भाइरल हुने होड, व्यापारिक प्रयोजनका लागि तिज गीत गाइएको र प्रस्तुत गरिएको पाएकी छु । भोलिका पुस्ताले तिजगीतलाई अझ कसरी लिन्छ भन्ने चिन्ता एउटा सचेत नेपालीमा हुनु पर्छ नै । समय परिवर्तनशील र गतिशील छ । हो समयसँगै हाम्रा विचार, मान्यता, भोगाइ, जीवन शैलीलगायतका विविध पक्ष पनि परिवर्तित हुँदै जान्छन् । र यसको प्रभाव गीत, सङ्गीत र नृत्यमा पनि पर्छ तर यसो भन्दैमा आधुनिकीकरणका नाममा तिज गीतका मौलिकतालाई भने मार्नु हुँदैन ।  #मधुपर्क