• ३ भदौ २०८२, मङ्गलबार

दिदीबहिनी विशेष

तिज नेपाली महिलाको सांस्कृति अभिव्यक्ति

blog

विशेषतः हिन्दु महिलाहरूले तिजलाई व्रत, भक्ति, नाचगान र सामूहिक एकताका रूपमा मनाउने गर्छन् । यो पर्व भाद्र शुक्ल तृतीयाका दिन पर्दछ । नेपालको सांस्कृतिक परम्परामा तिज पर्व विशेष महìवको रहेको छ । विशेषतः हिन्दु धर्मावलम्बी नेपाली महिलाबिच प्रचलित यो पर्वले धार्मिक, सांस्कृतिक, सामाजिक, र आत्मिक भावनालाई एकैसाथ अभिव्यक्त गर्ने काम गरेको छ । प्रारम्भमा महिला र पुरुष दुवैले स्वास्थ्य, पवित्रता र आध्यात्मिक उन्नतिका लागि व्रत बस्ने परम्परा थियो तर पछि तिज नारीहरूको पर्वका रूपमा स्थापित भयो । 

यसले नारीको श्रद्धा, आत्मविश्वास र धार्मिक आस्थालाई पुनर्परिभाषित गर्ने काम गरेको छ । हरितालिका तिज र ऋषिपञ्चमी व्रतहरू सनातन धर्मका अनुयायीका लागि शुद्धि, आरोग्यता र मोक्ष प्राप्तिको मार्ग मानिन्छ । विशेष गरी तिजको व्रत पार्वतीले महादेव प्राप्त गर्न गरेको कथामा आधारित छ । महिलाहरूले यो व्रत निराहार रही भगवान् शिवको पूजा गरेर श्रीमान्को दीर्घायु, स्वास्थ्य र सुखको कामना गर्छन् । अविवाहित महिलाहरूले पनि मनोकाङ्क्षित वर पाउने कामनाले व्रत बस्ने गर्छन् (शर्मा, २०७२ः१२७) । तिज पर्वको उत्पत्ति पौराणिक कथासँग जोडिएको छ । यस पर्वको आरम्भ सती (पार्वती) ले महादेवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गरी विवाह प्राप्त गरेको प्रसङ्गसँग सम्बन्धित छ । पौराणिक शास्त्र ‘शिव पुराण’ र ‘स्कन्द पुराण’ मा हरितालिका तिजको उल्लेख पाइन्छ । तिज नेपाली नारीहरूको आत्म–अभिव्यक्तिको पर्व हो, जहाँ उनीहरूले गीत र नाचमार्फत आफ्ना सुख–दुःख व्यक्त गर्छन् (लेखा, २०७०) ।

भाद्रशुक्ल तृतीया तिथिमा मनाउने हरितालिका तिज सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री पार्वतीसँग सम्बन्धित छ । उनले श्रीमहादेवलाई पतिका रूपमा पाउनको लागि हरतरहले शिवको पूजा उपासना गर्ने गर्दथिइन् तर बाबु हिमालयले भगवान् श्री विष्णुसँग बिहे गरिदिने कुरा गरेका हुनाले आफ्ना साथीसङ्गी जया, विजया, अजिता र अपराजितासँग भागेर बनमा एकान्तमा लुकेर श्री महादेवको प्रार्थना गरेकी थिइन् । यो कथा भविष्योत्तर पुराणमा “सखि भिर्हरिता यस्मात् तेनेयं” भनी उल्लेख छ । यस्तै पद्म पुराणमा पनि पार्वतीले निराहार तिजको कठोर व्रत बसी अन्तत महादेव स्वामी पाई मनोकाङ्क्षा पूर्ण भएको उल्लेख छ । शिव आराधना गर्दा पार्वतीलाई महादेव वर प्राप्तिको इच्छापूर्ण भएको घटनाको स्मृतिमा हिन्दु नारीहरू  आजसम्म पनि हरितालिका व्रत गरिरहेका छन् । हरितालिका नाम कसरी रहन गयो भन्ने कुरा यकिनका साथ कतै उल्लेख गरेको पाइँदैन तर हरितालिका शब्दको अर्थ केलाउँदा साथीहरूद्वारा हरण गरिएको भन्ने हुन्छ । अर्काे भनाइमा हरित–आलिकाले हरितालिका भन्ने बुझाउँछ । अर्को अर्थमा पार्वतीलाई गरिने पूजामा हरिताल भन्ने एक प्रकारको वनस्पतिद्वारा पहेँलो रङ बनाई पूजा गर्ने प्रचलन रहेको छ । यसैको कारणले पनि हरितालिका रहन गयो भन्ने अर्का थरी विद्वान्को भनाइ रहेको छ । 

पहाडी क्षेत्रमा तिज 

हरितालिकाको अघिल्लो रात भाद्र शुक्ल द्वितियाको दिन पर्ने दर खाने चलन नेपाली नारीले पर्वकै रूपमा मनाउँदै आएका छन् । दिदी–बहिनी र छोरी चेलीहरूलाई तिजमा दाजुभाइहरूले माइतीमा विशेष निम्ता गर्ने र मिठो खाना खुवाउने चलन रहेको छ । तर यहाँ विचारणीय पक्ष के रहेको छ भने सर्वप्रथम पार्वतीले श्रीमहादेव स्वामी पाउनका लागि विवाह नहुँदै माइतीमा नै बसेर आराधना गरेको हुनाले हालसम्म पनि हरितालिका तिजको दिनमा माइती जानु पर्दछ भन्ने प्रचलन रहेको हुनु पर्दछ । यो परम्पराको रूपमा बर्सौंसम्म रहँदा विवाहित महिलाले पनि माइती गएर यो पर्व मनाउनु पर्दछ भन्ने मान्यताले जरो गाडेको देखिन्छ । आफ्नी छोरी वर्ष दिनमा माइतीमा आउँदा मिठो खानेकुरा खुवाउने मन हरेक आमाबाबुको हुन्छ । त्यसैको परिणाम स्वरूप दरखाने प्रचलन रहेको हुनु पर्दछ ।

दर खाने दिनको भोलिपल्ट अर्थात् भदौ शुक्ल तृतीयाको दिन हरितालिका तिजको व्रत बस्ने दिन हो र जुन दिन महिलाहरू निराहार व्रत बसी महादेवको पूजा आराधना गर्ने गर्दछन् । यसमा विवाहित महिलाले आफ्नो पुरुषको लामो आयुको कामना गर्दछन् भने आविवाहित महिलाले महादेवले पार्वतीलाई गरे जस्तै माया गर्ने वरपाउने कामनाले व्रत बस्दछन् । व्रतको दिनमा सौभाग्यवती महिलाहरूले आफ्नो पतिका दीर्घायु, सु–स्वास्थ्य र मङ्गलमय जीवनको कामना गर्र्दै सोह्रशृङ्गार र गरगहनाले सुसज्जित भई विभिन्न शिव मन्दिरमा गएर पूजा उपासना गर्दै दिदीबहिनी मिली गीत र नृत्यमार्फत आफ्नो मनको वेदना पोख्छन् । त्यो दिन माइतीमा हुने हुनाले निस्फिव्रmी भएर आफ्नो दुःख गीतमार्फत पोख्ने गर्दछन् । तर हाल पहिलेको जस्तो रुनेधुने गीतभन्दा देशले भोगेको परिस्थिति र राजनीतिक गीतहरूले स्थान पाउँदै जान थालेका छन् । यस्ता गीत गाइँदा महिलामा राजनीतिक र सामाजिक चेतना बढेको आभाष दिलाउँछ । त्यस दिन बेलुकीपख दीप, कलश, गणेश र बालुवाको प्रतिमासहितको शिवलिङ्गमा उमा महेश्वरको षोडशोपचार विधिले पूजा सम्पन्न गर्ने र कथा सुन्ने परम्परा रहेको छ ।

तिजको अन्तिम दिन ऋषिपञ्चमीको दिन सप्तऋषिहरूको पूजा गरेर मात्र व्रत समाप्त हुन्छ । ऋषिपञ्चमीका दिन बिहानै नदी जलाशयमा गई विशेष स्नान गर्नुपर्ने हुन्छ । वर्ष भरिका सबै अशुद्धिहरू हटाउँन तीन सय पैँसट्ठी वटा दतीवन लगाउने, पञ्चगव्य आदिले स्नान गर्ने विधान छ । त्यसपछि सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, जमदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरूका साथै साध्वी अरुन्धतीसहितको विशेष पूजा उपासना व्रत, दर्शन, यजन, पूजन, भजन कीर्तन गरिन्छ । यो दिन गणेश चतुर्थीको भोलिपल्ट पर्ने गर्दछ ।

ऋषिपञ्चमीमा गरिने यी संस्कारहरूले नारी रजस्वला हुँदा थाहा पाई नपाई हुने छोइछिटोको पाप पखाल्ने काम गर्दछ भन्ने मान्यता रहेको छ । यस कुराको पुराणमा पनि चर्चा गरिएको पाइन्छ । इन्द्रराजाबाट गरिएको ब्रह्महत्याको दोष हटाउन त्यहाँबाट झिकी विभिन्न चार स्थान– नदीको पहिलो छाल, जमिनको ऊँचो टाकुरा पर्वत भाग, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा राखेपछि ती स्थानहरू अपवित्र भएका हुन् । यसरी ऋषि पूजनद्वारा प्रायश्चित गरिएर पवित्र पारिएका नारीहरू नै वर्षभरका व्रत पूजाहरूका अधिकारी बन्दछन् भन्ने मान्यता रहेको छ । यो दिन पनि महिलाहरू सौभाग्यका प्रतीकहरू रातो गुन्युचोली, साडी, पोते, सिन्दुर, टीका, चुरा लगाई सोह्र शृङ्गार गरी आफ्नो अटल सौभाग्यको कामना गर्दछन् र भक्तिरसमा डुबेर पूजाअर्चना गर्दै भाका हाली हाली गीतहरू गाउँछन् र नाचेर दिन   बिताउँछन् । यस दिन एक छाक मात्र खान्छन् र खानामा नरोपी उम्रने अन्न सामा, कागुनो, कन्दमूल, कर्कलो आदिको प्रयोग गर्दछन् । यस ऋषिपञ्चमी व्रत अनुष्ठानले नारीहरूमा छुट्टै तेज वृद्धि हुने, दीर्घायु हुने, निरोगी हुने र पूर्ण सौभाग्यवती हुने कुरालाई धर्मशास्त्रहरूले चर्चा गरेका छन् । 

  तराईमा तिज 

तराई क्षेत्रमा तिज पर्वको रूप भिन्न छ । उच्च जातिका क्षत्री, कायस्थ परिवारको विवाहित महिला तिज व्रत बस्छन् । मैथिली बाहुनमा तिजको प्रचलन न्यून छ । तल्लो जातिमा यस व्रतको प्रचलन छैन । तिजको अवसरमा छोरीको घरमा माइतीबाट व्रत बस्ने महिला, सासु, जेठानी, नन्दका लागि लुगाकपडा, खानेकुरा, फलपूmल लिएर आउने गर्दछन् । तृतीया दिनमा निराहार व्रत बस्ने गर्दछन् । व्रतको दिनमा नयाँ लुगाकपडा लगाउने गर्दछन् । रातो रङ अनिवार्य नभए पनि यो दिन व्रत बस्ने महिलाले नयाँ साडी लगाउनु अनिवार्य छ । हातमा लाहको चुरा पनि लगाउने गर्दछन् । भोलिपल्ट निराहार व्रत वस्नका लागि भदौ द्वितीयको बिहानै उठेर व्रत बस्ने महिलाले सरगही (दहीचिउरा) खाने गर्दछन् । व्रत बस्ने महिलाहरूले घरमा पण्डित बोलाएर पूजा गराउँछन् । बालुवाको शिव–पार्वती बनाएर वस्त्र, फलपूmल, पिडिकिया (सुजी र मैदाको परिकार) र ठेकुआ पकाएर चढाउँछन् । यस समयमा शिव र पार्वती सम्बन्धित गीत पनि गाउने गर्दछन् । रात परेपछि पूजा आरती गरी जाग्राम बसी भोलिपल्ट बिहान दानपुण्य गरी पूजा सामग्री र बालुवाको शिव–पार्वतीको मूर्ति नदीमा सेलाएपछि अन्न जल खाने गर्दछन् र तिज पर्वको समापन हुन्छ । 

भारतमा तिज 

नेपालमा मात्र होइन कतिपय भारतीय हिन्दु महिलाले पनि हरितालिका तिज भव्य रूपमा मनाउने गर्दछन् । बेलपत्र र त्रिफलाको लेप बनाई स्नान गरी विभिन्न वस्तु अलङ्कारबाट सुसज्जित भई पार्वतीका विभिन्न नाम उमा, गौरी आदिको स्वरूपलाई मन्त्रद्वारा आह्वान गरी पूजा गर्ने गर्दछन् । उमासँगै श्री महादेवको पनि पूजा उपासना गरिन्छ ।

भारतमा तीन प्रकारको तिज मनाउने गर्दछन् । साउन शुक्लपक्षमा मनाउने तिजमा दुध, दही र पूmलले चन्द्रमाको पूजा गरेर ‘हरियाली’ तिज मनाउने गर्दछन् । कृष्णपक्ष तृतीयामा मनाउने तिजमा लोक सङ्गीतका साथ पवित्र निमको पूजा ‘कजारी’ तिज पनि मनाइन्छ । अर्काे भाद्र शुक्ल तृतीयाको दिन मनाउने तिज भने भारतको उत्तरप्रदेश, मध्यप्रदेश, छत्तिसगढ, झारखण्ड, बिहार र महाराष्ट्रमा महŒवका साथ मनाइन्छ । भारतका मठ, मन्दिर र पवित्र नदी किनारमा यस दिन बिहानदेखि महिला भक्तजन धार्मिक अनुष्ठानमा व्यस्त हुन्छन् । घरघरमा भजनकिर्तन गर्ने गर्दछन् । भारतको राजस्थानको जयपुरमा भने यो पर्वलाई ठुलो महोत्सवका रूपमा मनाइन्छ । यस दिन यहाँ देवी पार्वतीको प्रतिमालाई इन्द्रेणी रङका पोसाकले सिँगारेर पालकीमा राखेर घुमाइन्छ । माटोले निर्मित शिव र पार्वतीको प्रतिमा अगाडि बसेर उत्साह एवं उमङ्गका साथ बिहानदेखि भजन गाउँछन् । माइतीमा छोरीचेलीको उपस्थिति हुन्छ । व्रतको दिन महिलाहरू मेहदी लगाएर हरिया लुगा, हरिया चुरा, गहना टीका र गाजलले सजिने गर्दछन् । यस दिन घर घरमा शुद्ध घिउ र पिठोले बनेको घेभर, बर्मिसेली, दालबाती, मालपुआ र खिरपुरी बनाउने गरिन्छ । देवी पार्वतीलाई ताजा फल, मिठाई र हरियो तरकारी चढाउँछन् । सगुन स्वरूप महिला नातागोता र मित्रलाई रङले पोतिएका नरिवल बाँड्ने गर्दछन् । यस पर्वको दिन साँझ पूजा, परम्परागत नृत्य र गायनसँगै उत्कर्षमा पु¥याएर तिज पर्वको समापन गरिन्छ हुन्छ । 

तिज र सांस्कृतिक परिर्वतन

नेपालमा महिलाहरू पतिको दीर्घायुका लागि भनेर पतिको आयु बढ्ने विश्वासका साथ पानीसम्म नपिई व्रत बस्दछन् । यसरी व्रत हिन्दु नारीमा अनिवार्य जस्तो भएको हुनाले अशक्त र रोगी महिलाले समेत सकिनसकी व्रत बस्छन् । तर हिजोआज भने केही महिला आधुनिकताको नाममा तिजको व्रतलाई पुरुषवादी चिन्तन र सामन्ती पितृसत्तालाई वैधता दिलाउने चाड मान्दछन् । तिज पर्वले स्थापना गरेको पौराणिक मान्यता नेपाली महिला र पुरुषको सम्बन्धमा आज धेरै अमिल्दा र महिला मानव अधिकारको क्षेत्रमा कमी हो कि भन्ने देखिएको भने अवश्य छ । पत्नीले पतिलाई देवता मानेर चरण ढोग्ने, गोडाको पानी खाने, व्रतको दिन पानीसमेत नखाएर कठोर व्रत वस्ने, व्रती महिलाले पानी खाएमा पतिको रगत खाए जस्तो हुने भन्ने जस्तो परम्परागत रूढिवादी मान्यता महिला अधिकारको हनन हो । हो व्रत बस्नु पर्छ । ईश्वरको ध्यान व्रत गर्नु भनेको आफूभित्र सकारात्मक ऊर्जा ग्रहण गर्नु हो । सकारात्मक सोच भएका व्यक्तिबाट नै समाजमा राम्रो बन्छ । आपूmले सक्ने र आफ्नो शरीरलाई हानि नपु¥याउने किसिमबाट व्रत बस्नु पर्छ न कि संस्कारका नाममा आडम्बरलाई भिœयाउनु हुँदैन । 

विगत केही दशकदेखि तिज पर्वको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको देखिन्छ । पहिले जस्तो दुःख–पीडाका गीतभन्दा रमाइलो, प्रेम, फेसन र आधुनिक नृत्यको झल्को दिने गीत बढेका छन् । यस कारण तिजको सांस्कृतिक मौलिकता धमिलिएको भन्दै कतिपय विद्वान्ले चिन्ता पनि व्यक्त गरेका छन् । तिज अब ‘नारीको व्रत’ नभएर ‘फेसनको पर्व’ बन्ने व्रmममा छ । यसको मौलिकता जोगाउनु आजको आवश्यकता हो (बराल, २०७८) । 

नारीपुरुष समताको पर्व

यस हरितालिका तिज अत्यन्त प्राचीन व्रत हो । यस पर्वले श्रीमान्प्रतिको निष्ठा र भक्तिलाई दर्साउनुका साथै श्रीमान्सँग आध्यात्मिक सहकार्य गर्ने शुभ अवसर प्रदान गर्दछ । बीजबिन्दुको रूपलाई केलाउने हो भने प्रेम नै यस व्रतको अन्तिम विन्दुका रूपमा भेट्टाउन सकिन्छ । तिज हिन्दु धर्मावलम्बीको मात्र नभई अन्य जातिको पनि पर्व हो । यस व्रतको प्रतापले शिव र पार्वतीबाट अभीष्ट वरदान पाई आआफ्ना दाम्पत्य जीवन सुखमय र सफल पार्ने सुअवसर प्राप्त गर्दछ भन्ने मान्यता रहेको छ । यस अवसरमा महिला र पुरुषले समान रूपले आफ्नो अस्तित्व दर्साउन समभाव देखाउँछन् । महिला पुरुषको लागि निराहार व्रत बस्छन् भने पुरुष घरका सम्पूर्ण कामको जिम्मेवारी आफैँले गरेर उक्त दिन महिलालाई कामको जिम्मेवारीबाट मुक्त गर्छन् । यस प्रकार श्रीमान् र श्रीमतीको प्रेम गाढा हुन पुग्छ । त्यसैले तिज नारीपुरुष दुवैको समताको पर्व हो । यस प्रकार तिजको धार्मिक स्वरूपले शिव–पार्वतीको दिव्य सम्बन्धमा केन्द्रित भई नारीको व्रतशीलता, सङ्कल्प र साधनालाई प्रमुख स्थान दिएको छ (लेखा, २०७०) । 

सांस्कृतिक एवं सामाजिक महìव

धार्मिक रूपमा तिज पर्वको महìव शिव–पार्वतीको आदर्श दाम्पत्य जीवनको प्रतीक मानिन्छ । त्यस्तै सामाजिक रूपमा महिला महिलाबिच आत्मीयता, बहिनीपना र आपसी सहयोगको विकास भएको देखिन्छ । तिज नेपाली समाजमा महिला चेतना र सामाजिक एकताको प्रतीक पर्व हो । महिलाहरूको सामूहिक भेला, गीत–सङ्गीतमार्फत वेदना र भावना पोख्ने अवसर तिजले प्रदान गर्छ । गीतमार्फत महिलाहरूले आफ्ना सामाजिक दुःख, पीडा, लैङ्गिक असमानता, घरायसी झमेलालाई व्यक्त गर्ने गर्छन् । यस प्रकार मानसिक÷भावनात्मक रूपमा आफ्नो वेदना गीतमार्फत प्रकट गर्ने थलाका रूपमा तिज पर्वलाई लिने प्राचीन समयदेखिको प्रचलन हो । तिज जस्ता पर्वले सांस्कृतिक संरक्षण जस्तै मौलिक नृत्य, लवाइखवाइ, परम्परा र वेशभूषाको संरक्षणमा जोड दिएको पनि देखिन्छ ।

नारी सशक्तीकरणको माध्यम 

नेपालको सामाजिक संरचनामा महिलाहरूको भूमिका ऐतिहासिक रूपमा महìवपूर्ण भए पनि उनीहरूको आवाज दबिएको, पीडा गुम्सिएका र सशक्त अभिव्यक्तिको थलो सीमित भएको पाइन्छ । यस्ता सन्दर्भमा तिज नेपाली नारीहरूको आत्माभिव्यक्तिको सशक्त पर्वका रूपमा स्थापित छ । यो पर्व हिन्दु धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र भक्तिसहित मनाउने गर्दछन्, जसको मूल उद्देश्य पतिको दीर्घायु, पारिवारिक सुख–समृद्धि र आत्मिक शुद्धि हो तर आजको परिप्रेक्षमा तिजले सांस्कृतिक, सामाजिक, लैङ्गिक विमर्श तथा महिलाको भावनात्मक चेतनासम्म प्रश्न उठाउन थालेको छ । तिजको दिन गीत, नृत्य र व्रतमार्फत महिलाहरूले आफ्ना अनुभव समाजसामु राख्न पाउँछन्, जुन आवाज पहिले दबिएको थियो । तिजले नेपाली महिलाको परम्परागत पहिचान जोगाउने र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने काम गरेको छ ।

सांस्कृतिक रूपान्तरण

विगत दशकहरूमा तिजको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिन्छ । पहिले सादा पोसाक, मौलिक गीत र भक्ति–भावका साथ मनाइने तिज अहिले झिलिमिली पहिरन, स्टेज कार्यव्रmम, डिजे साउन्ड र ‘फेसन सो’ जस्ता व्रिmयाकलापले भरिएको छ । आजकलका तिज गीतहरूमा पारिवारिक पृष्ठभूमिको सट्टा ‘डान्स पार्टी’, ‘सजिएर रमाउने’ आदिको प्रवृत्ति हाबी हुँदै छ । तिजको आधुनिकीकरणको नाममा यसको मौलिकता गुम्न थालेको छ । मौलिक पर्वलाई ब्रान्डिङका रूपमा प्रस्तुत गरिँदा नारी चेतनाको वास्तविक स्वर गुम्न सक्छ (बराल, २०७८)  ।

गीतमा सामाजिक विरोध र आत्म–अभिव्यक्ति

तिजका भाकाहरूले नेपाली महिलाको अन्तरद्वन्द्व, पारिवारिक हिंसा, सासू–बुहारी सम्बन्ध, माइतीप्रतिको माया र लैङ्गिक भेदभावको विरुद्धमा आवाज उठाउने गरिएको पाइन्छ । पुराना तिज गीतहरूमा नारी मनोविज्ञान प्रकट गर्ने गरेको देखिन्छ । तिजका मौलिक गीतहरू महिलाको मौन पीडालाई आवाज दिने अभिव्यक्तिको औजार हुन्, जसले उनीहरूको सामाजिक चेतना विस्तार गर्छ (भट्टराई (२०७५) तर आजकलका तिज गीतहरूमा पारिवारिक पृष्ठभूमिको सट्टा डान्स पार्टीमा सजिएर रमाउने जस्ता प्रवृत्ति हाबी हुँदै छ ।

आधुनिक विमर्शमा तिज

समकालीन समाजमा तिज पर्वले लैङ्गिक विमर्शको सन्दर्भ पनि समेट्न थालेको छ । कतिपय महिलाहरू यस पर्वलाई पुरुष वर्चस्वको चाड भनेर अस्वीकार गर्छन् भने अर्कोतर्फ यसले नारी–पुरुषबिचको पारस्परिक माया, श्रद्धा र समर्पणको भावनालाई पनि उजागर गर्छ । वैज्ञानिक पक्षले पनि ऋषिपञ्चमीको दिन प्रयोग गरिने दतीवन आदिको स्वास्थ्यसम्बन्धी उपयोगितालाई पुष्टि गरेको छ (थापा, २०७०ः ५२) ।

तिज पर्वमा आएको चुनौती र सुझाव

हाल तिजको नाममा विभिन्न राजनीतिक पार्टीहरूले, सङ्घसङ्गठन र विभिन्न अफिसहरूले महिलालाई तिजको नाममा भोजभतेर गर्ने परम्पराको थालनी भएको छ । यो नराम्रो होइन । तिजको नाममा भेटघाट मात्र हो । त्यस्तै पार्टीहरूले आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्नका लागि यस्ता कार्यव्रmमहरू गरेका हुन् । जजसले आफ्नो स्वार्थ पूर्तिका लागि यस्ता तिजका नाममा कार्यव्रmम गर्दछन् । त्यसको दोष महिलालाई किन दिने ? बरु महिला त्यस्तो तिजका नाममा गरिएका कार्यव्रmममा छानेर मात्र जानु पर्दछ । तिजको कार्यव्रmममा जाने नाममा धन, दौलत, गरगहनाको प्रदर्शन गर्ने जुन विसङ्गति सुरु भएको छ, त्यो भने राम्रो होइन । पर्वका नाममा सुरु भएको यस्ता विसङ्गतिलाई हटाउनु पर्दछ । होइन भने पर्वका मौलिक विशेषता लोप हुँदै जाने छन् । नचाहिँदा ढर्राहरू र भद्दा प्रदर्शनले स्थान पाउँदै जाने छन् । मौलिक संस्कृति भने हराउँदै जाने छ । साथै हिजोआज यस्तो प्रवृत्तिले पछिल्लो पुस्तालाई भने संस्कृति यही नै हो कि भन्ने भ्रम सिर्जना भएर भएको जुन मौलिक संस्कृति भने हराउँदै जाने हो कि भन्ने चिन्ता देखिएको छ । तिजमा भएको व्यावसायीकरण र साङ्गीतिक विकृति, मौलिक संस्कृति विस्थापन, मिडिया र फेसनको अत्यधिक प्रभाव, महिला–केन्द्रित पर्व भए पनि पुरुषहरूको समर्थनको कमी आएकोले यसतर्फ बेलैमा सोच्नुपर्ने आवश्यकता छ । त्यस्तै व्रतका नाममा महिलाले स्वास्थ्य बिगार्ने अवस्था, अर्काको ज्यालामा व्रत बसाल्ने, पानीसमेत नपिई बस्ने जस्ता विकृति परम्परा बनेका छन् । यो पर्व स्वास्थ्य, श्रद्धा र आत्मिक शुद्धिको प्रतीक रहनुपर्नेमा अन्धविश्वास र परम्परावादको बोझ बन्दै गएको देखिन्छ । तसर्थ समयसापेक्ष सुधार गर्दै वैज्ञानिकता र मानवताको दृष्टिले पुनव्र्याख्या गर्नु आवश्यक छ । मौलिक तिज गीत संरक्षण र अभिलेखीकरण गर्नु पर्दछ । विद्यालय र विश्वविद्यालयमा तिज संस्कृति अध्यापन गराउनु पर्दछ । महिला समूहद्वारा स्थानीय तिज महोत्सव आयोजना गरिनु पर्दछ । संस्कृतिविद, नारी सङ्गठन र राज्यको साझा प्रयासद्वारा तिजको मौलिकता जोगाउनु पर्दछ । 

मधुपर्क