साधन घर्ती
म्याग्दी (दरबाङ), भदौ ३ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनाका मनप्रसाद पुनमगर उमेरले सात दशक नाघिसक्नु भएको छ । भैँसी गोठ लिएर बाल्यकालदेखि जलजला, रुघाचौर, धनजमाने, पाटल, बुकीपाटनलगायत वनजङ्गल चहार्नुभएका मनप्रसादको जोश, जाँगर र सक्रियता कुनै युवाको भन्दा कम छैन । सानै उमेरदेखि बुवासँगै गोठ हिँड्न थाल्नुभएका मनप्रसादलाई गोठमै बस्न आनन्द आउँछ । केही दिनअघि मात्र धवलागिरि गाउँपालिका–२ मा पर्ने माथिल्लो जलजलास्थित गोठमा पुग्दा भर्खरै भैँसीको दुध दुहेर सक्नुभएका मनप्रसादले भन्नुभयो, “बुवासँगै बाल्यावस्था र युवावस्था गोठमै गुजारेर यहाँसम्म आइपुगेँ ।”
मनप्रसादका गोठमा अहिले नौ वटा भैँसीसहित पाडापाडी रहेका छन् । तीन वटा दुहुनो भैँसीको घिउ बेचेर महिनामा तिस हजार रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । प्रति माना घिउ एक हजार दुई सय रुपियाँका दरले बिक्री हुने गरेको छ । घिउ र छुर्पी बेचेर घरखर्च चलाउँदै आएको उहाँले बताउनुभयो । घरमा उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन् । पौरखी मनप्रसादले सनाउनुभयो, “यहाँ गोठमा तीन वटा भैँसी दुहुने गरेको छु । घिउ र छुर्पी बेचेको आम्दानीले नै घरखर्च र छोराछोरीको पढाइ खर्च चल्दै आएको छ ।” मनप्रसाद र उहाँका छिमेकी हरेक वर्ष जेठ महिना लागेपछि गोठ लिएर लेक उक्लने गर्छन् ।
पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा कहिलेकाहीँ जङ्गली जनावरले सताउँछन् । कात्तिकसम्म लेकमा र त्यसपछि औल (मुना घर) झर्ने उहाँले बताउनुभयो । भारी वर्षा, हिमपात र हुरीबतासको समयमा गोठमा केही कष्ट बेहोर्नुपर्ने अनुभव पनि उहाँले सुनाउनुभयो । घोडा खच्चडबाट आफूलाई चाहिने खाद्यान्न सामग्री ढुवानी गरेर ल्याउने गरिएको उहाँको भनाइ छ । जङ्गली जनावरको आक्रमणबाट घरपालुवा पशुचौपाया जोगाउन प्रत्येक गोठमा कुकुर पाल्ने गरिएको छ । करिब एक दशक अघिसम्म लेकका पाटन, वनजङ्गल घुम्ती गोठले ढाकिन्थे तर पछिल्लो समय घुम्ती गोठ परम्परा हराउँदै गएको छ । “मेरा अधिकांश साथीहरू गोठ छोडेर लाहुर गए । पैसा कमाएर सहर बसाइँ सरे । मलाई भने खै किन लाहुर जाने इच्छा जागेन । गोठ लिएर उकालीओराली, वनजङ्गल, लेकबेँसी गर्दागर्दै बुढेसकाल पनि लागिसक्यो,” लामो श्वास फेर्दै मनप्रसादले भन्नुभयो ।
तल्लो र माथिल्लो जलजला फाँट गाईभैँसी, भेडाबाख्रा र घोडा चरन क्षेत्र हो । जलजला, गुर्जाघाट, बुकीपाटन क्षेत्रलाई मालिका र धवलागिरि गाउँपालिकाभित्र पर्ने देवीस्थान, मुना, मुदी, लुलाङ, दुखुलगायत चौध गाउँलेको वन भनेर समेत चिनिन्छ । “पहिले बुकीपाटन, जलजला फाँटहरू भेडाबाख्रा, गाइभैँसी गोठहरूले भरिन्थे । आजभोलि गाउँलेहरूले गाइभैँसी पाल्नै छोडेपछि गोठ बस्ने परम्परा हराउँदै गएको छ । पछिल्ला वर्ष त बुकीपाटनमा धेरै जसो गोठ जानै छोडेका छन्,” उहाँले भन्नुभयो । मुना, दर, लुलाङ, खोरियालगायतका गाउँबाट तल्लो जलजलामा आठ र माथिल्लो जलजलामा छ वटा गाईभैँसी गोठ आएका छन् ।